MENU

राजनीति

Ncell Axiata
NIC Asia

लालपूर्जा पाउने सहमतिपछि मात्रै मुसहरको मतदान

सर्लाही, मंसिर २१ – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका मुसहर समुदायले स्थानीय जनप्रतिनिधि र दलका नेताले जग्गाधनी लालपूर्जा उपलब्ध गराउन पहल गर्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै मतदान गरेका छन् ।

कुनै पनि राजनीतिक दलले मुसहर समुदायलाई प्रतिनिधि र प्रदेशसभा सदस्य टिकट नदिएको भन्दै मोरङदेखि नवलपरासीसम्मका मुसहर समुदायले चुनावमा मतदानमा नगर्ने निर्णय गरेका थिए ।

निर्णय अनुसार सर्लाहीको बबरगञ्जका मुसहर समुदायले गाउँमा कालो झण्डा गाडेर दिनभर मतदान बहिष्कार गरे । ‘मुसहर समुदायबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन केन्द्रीय नेताको पटक–पटक ध्यानाकर्षण गरायौँ, तर ध्यान दिएनन्’ मुसहर समुदायका अगुवा पचुलाल माझीले भन्नुभयोे,‘यही भएर दिनभर मतदान बहिष्कार गरेका थियौं । तर स्थानीय जनप्रतिनिधि र दलका नेताले अबको निर्वाचनमा यसका लागि आफूहरु पनि पहल गर्ने र जग्गाको लालपूर्जा दिलाउन पहल गर्ने लिखित सहमति जनाएपछि मतदान गर्‍यौं ।’

लिखित प्रतिवद्धतामा चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतो, वडा अध्यक्ष रामनारायण महतो, मुसहर समुदायका अगुवा पचुलाल माझी लगायतले हस्ताक्षर गरेका छन् । मुसहर समुदायलाई उनीहरु घर बनाएर बसोवास गरिरहेको ऐलानी जग्गाको लालपूर्जा दिलाउन पहल गर्ने सहमतिपछि मतदान गरेका वडा नम्वर २ का वडाध्याक्ष रामनारायण महतोले बताउनुभयो ।

मुसहरहरु दिउँसो ३ बजेसम्म मतदान केन्द्रमा नआएपछि गाउँका अगुवा, जनप्रतिनिधि लगायतले गाउँमै पुगेर मतदान केन्द्रसम्म जान आग्रह गर्नुका साथै कतिपयले धम्की समेत दिएका थिए । तर उनीहरुले आफूहरुको माग सम्बोधन हुनेगरी लिखित सहमति नभएसम्म मतदान गर्न नजाने अडान लिएपछि बबरगञ्जको वडा कार्यालयमा छलफल गरी उनीहरुसँग सहमति गरिएको हो ।

ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका मुसहर बस्तीका स्थानीय कमल माझीले यो सहमतिपछि आफूहरुका अधिकार लागि पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया