MENU

विचार/अनुभूति

ujyaalo forign call inside

नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा

कुमार रञ्जित/उज्यालो ।

काठमाडौं, मंसिर २६ –चुनाव अगाडि दुईवटा टिप्पणीहरु नोट गरेको थिएँ । एक, ‘विवेकशील साझा पार्टीका मतदाता विदेशमा छन् ।’ र अर्को ‘बिजुक्छेलाई प्रशंसा गर्नेहरुले मत पनि उनको पार्टीलाई दिए हुन्थ्यो ।’

पहिलोकै पहिला चर्चा गरौं । चार महिनामा चर्चाको चरम चुलीमा पुगेको विवेकशील साझा पार्टी चुनावअघि निश्चितै रुपमा सामाजिक सञ्जालमा बढी बहसको विषय भैरहेको थियो । सामाजिक सञ्जालमा सक्रिय युवाहरुका लागि यो एउटा भरपर्दो वैकल्पिक राजनीतिक शक्ति नै बनेको थियो । त्यसका उम्मेदवारहरुका पक्षमा सामाजिक सञ्जालहरुमा उर्लिएको समर्थन हेर्दा नेपाली समाजमा स्थापित अन्य राजनीतिक पार्टीहरु फिक्का नै देखिन्थ्यो ।

दोस्रोको कुरा गरौं । जब नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले उम्मेदवारीमा नामांकरण नगरी नयाँ पुस्तालाई अगाडि बढ्न बाटो खुल्ला गर्नुभो, सामाजिक सञ्जालहरुमा उहाँको प्रशंसामा बाढी नै आयो । त्यस्ता प्रशंसाहरु पढ्दा पनि लाग्थ्यो, अब त नेमकिपाले आफ्नो विजयी सांसदहरुको संख्या बढाउने भयो ।

तर कुराले मात्रै चिउरा नभिजाउने रहेछ । परिणामले देखायो, यी दुबै पार्टीहरुप्रति सामाजिक सञ्जालमा देखाइएका प्रशंसा र सहानुभूति वास्तविक रुपमा मत वा जनादेशमा परिणत हुन सकेको रहेनछ ।

यस पंक्तिकारको आफ्नै निर्वाचन क्षेत्र काठमाडौंको ८ नम्बरबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका विवेकशील साझा पार्टीका उम्मेदवार पुकार बमसित भेट नै हुन सकेन । सोही पार्टीका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार अनिल तुलाधर निर्वाचनको अघिल्लो साँझ मौन अवधिमा मात्रै भेट भयो । अर्कोतर्फ नेपाल मजदूर किसान पार्टीकातर्फबाट उम्मेदवार भएकी कृष्णमाया मानन्धर आफ्ना सहकर्मीहरुका साथ दुई पटक घरमै आएर मत माग्नुभयो । जबकि उहाँहरु दुबैका घर, मेरो घरबाट ५ मिनेट पनि दूरीमा छैन । मतदातासित प्रत्यक्ष भेटघाटका क्रममा राजनीतिक अभ्यासमा देखिएका फरकपनका रुपमा यसलाई लिन सकिन्छ ।

माथि उल्लेख गरेको टिप्पणीमा जस्तै के साँच्चै विवेकशील साझा पार्टीका समर्थकहरु बढी विदेशमै छन् त ? दिनहुँ हज्जारौंको संख्यामा युवा शक्ति विदेशिरहेको नेपालमा तिनलाई स्वदेशमै फर्काएर यहीँ काम गरेर जीविकोपार्जन गर्न सकिने वातावरण बनाउन सकिएन भने अर्को निर्वाचनसम्म निश्चितै रुपमा तिनको प्रशंसा मतमा परिणत हुने देखिन्छ । त्यतिञ्जेललाई वामपन्थी गठबन्धनको सरकारले गर्ने कामको प्रभावकारिता पनि हेर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ नेपाली वामपन्थी राजनीतिका धरोहर नारायणमान बिजुक्छे (रोहित) ले देखाउनुभएको उदाहरणीय कार्यमा मौखिक तथा लिखित प्रशंसा गरिएपनि वास्तवमा उहाँको कार्यमा समर्थन जनाएर मतदान नै गर्न होइन रहेछ भन्ने देखियो । परिणामले स्पष्ट देखायो, उहाँको पार्टीले भक्तपुरको १ नम्बर क्षेत्र र त्यस अन्तर्गतको प्रदेश ख बाट मात्रै अपेक्षित विजय हासिल गर्न सक्यो । जबकि यसअघिका निर्वाचनहरुमा उहाँको पार्टीबाट भक्तपुर क्षेत्र नम्बर २ का साथै जुम्ला र दैलेखसम्म प्रतिनिधिसभाका सांसदहरु जितेको थियो, सभामुख पदमै उम्मेदवारी दिएको पनि इतिहास छ ।

विगतको संसदीय व्यवस्था अन्तर्गत सम्पन्न प्रतिनिधिसभाका निर्वाचनमा जुम्ला जिल्लाबाट निर्वाचित नेमकिपाका सांसद डिल्लीबहादुर महत र दैलेख जिल्लाबाट निर्वाचित विनोद शाह दुबै एमाले प्रवेश गरे । तात्कालिन अवस्थामा केही व्यक्तिगत लाभ गरेपनि उनीहरु दुबै अहिले राजनीतिक परिदृश्य नभएका मात्रै होइनन्, उम्मेदवार पनि बनाइएका छैनन् । यो अर्को पाठ बन्न सक्दछ राजनीतिमा ।

भक्तपुरमै पनि पहिलो राजनीतिक विद्यालय नेमकिपा नै रहेका हज्जारौं नेता तथा कार्यकर्ताहरु अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र लगायतका पार्टीमा भेटिन्छन् । राजनीतिमा आफ्ना विचार र सिद्धान्त अनुसार दल रोज्न पाइन्छ । तर नेमकिपामा कार्यकर्ताहरु निरन्तर घट्दो छ । इतिहास बनाएका नेता छन्, राष्ट्रियताका पक्षमा अडान लिने नीति छ, भक्तपुर नगरपालिकामा नमूना काम गरेको उदाहरण छन् । तैपनि किन ३ प्रतिशत थ्रेसहोल्ड पुर्‍याउन संघर्षरत् छ त नेमकिपा ? यसको जवाफ बिजुक्छेले निर्वाचनअघि एक अन्तर्वार्तामा ‘संसदीय व्यवस्थामा इमान्दार र राम्रो नीतिले मात्रै नपुग्ने रहेछ, हामीले जनतालाई अझै बुझाउन सकेका छैनौं’ भन्नुभएको छ ।

हालै सम्पन्न निर्वाचन परिणामले साना दललाई अस्तित्व बचाउन कठिन बनाउने देखाएको छ । तैपनि ठूला दलका ५० बराबरका एक क्षमता भएका साना दलका जनप्रतिनिधिहरुको आवश्यकता परिनै रहनेछ ।

अब बुझ्नुपर्ने कुरा हो– जसरी कुनै स्थानमा विजय हासिल नगरेपनि विवेकशील साझा पार्टीले प्राप्त गरेको मतलाई कम आँक्न सकिन्न, त्यसैगरी कुनै लाभको पदमा नबसेपनि बौद्धिक र परिपक्व बिजुक्छे जस्ता नेताको विचार र निर्णय क्षमतालाई पनि नकार्न सकिन्न । र, ती पार्टीहरुको दायित्व पनि आफूतर्फ आएका प्रशंसालाई मतमा परिणत गर्ने हुनुपर्दछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया