MENU

राजनीति

ujyaalo forign call inside

हरिशंकरको नियति : विदेशमा कमायो, नेपालमा चुनाव हार्‍यो

मोहन पौडेल / उज्यालो । 

काठमाडौं, मंसिर २९ – पूर्वी रुकुमबाट नेकपा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । कांग्रेसका हरिशंकर घर्तीलाई झण्डै दोब्बर मतले हराउँदै उहाँ विजयी हुनुभयो । कमलाले प्रदेश नम्बर ५ बाट चुनाव जित्ने एक मात्र महिलामा नाम मात्रै लेखाउनुभएन, माओवादी केन्द्रबाट पहिलो जीत पनि उहाँकै नाममा रह्यो । 

एकपछि अर्को रेकर्ड राख्दै गर्दा कमलालाई आफूले हराएका उम्मेदवारका बारेमा सबै कुरा थाहा नहुन सक्छ । किनकि उहाँका प्रतिस्पर्धी हरिशंकर घर्तीले पहिलो पटक चुनाव लड्दा कमला १ वर्षकी मात्रै हुनुहुन्थ्यो । कमलाले जितको रेकर्ड राख्दा हरिशंकर घर्तीको अर्को रेकर्ड बन्यो हारको । 

अहिले जस्तै चुनाव जित्न उम्मेदवारले अनेक हत्कण्डा प्रयोग गर्थे उहिले पनि । पञ्चायतकालमा त झन यस्तो धेरै हुन्थ्यो । 

कहिले त्यही हत्कण्डाको त कहिले दलहरुबिचको चुनावी तालमेलको शिकार हुनुभयो रुकुमका हरिशंकर घर्ती । पञ्चायतकालदेखि सुरु भएको उहाँको पराजय अहिले पनि टुङ्गिन सकेन । 

पूर्वी रुकुमबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका उहाँ माओवादी केन्द्रकी कमला रोकासँग पराजित हुनुभयो । अहिलेसम्म लडेका कुनै पनि चुनाव जित्न नसकेका घर्तीलाई चुनाव जित्न आफ्नो भाग्यमै लेखेको रहेनछ जस्तो लाग्छ । ‘अब त भाग्यमै रहेन छ जस्तो लागिरहेका छ’, उहाँले भन्नुभयो । 

२०१२ सालमा रुकुमको तकसेरा गाविसमा जन्मिएका हरिशंकरले १० कक्षा भन्दा धेरै पढ्न सक्नुभएन । विद्यालयको पढाइ बाग्लुङमा सुरु गरेका उहाँ एसएलसीमा उत्तिर्ण हुन सक्नुभएन् । एसएलसी पास गर्न नसकेपछि उहाँले शिक्षण पेसा सुरु गर्नुभयो । उहाँकै पहलमा २०२९ सालमा सेराबालुबा प्राथमिक विद्यालय स्थापना गरेर उहाँले त्यही विद्यालयमा ३ वर्ष पढाउनुभयो । 

३२ सालदेखि महेन्द्र निम्न माध्यमिक विद्यालयमा पढाउन थालेका घर्तीमगरले २०३३ सालको पञ्चायती चुनावमा प्रधानपञ्चको उम्मेद्वार बन्नुभयो । तर पराजित हुनुभयो । चुनाव हारेपनि शिक्षकको जागिर छँदै थियो तर पञ्चायती शासनकै बेला २०३७ सालमा उहाँलाई अवकाश दिइयो ।

एक पटक पराजित भएपनि उहाँ राजनीतिमै हुनुहुन्थ्यो । त्यसैले २०३९ सालमा प्रधानपञ्चको उम्मेदवार बन्नुभयो । दोस्रो पटक पनि उहाँलाई समयले साथ दिएन् । दोस्रो पटक पराजित भएपछि उहाँ बिरक्तिएर काठमाडौं आउनुभयो । 

काठमाडौंमा म्याग्दीका साथीसँग भेट भयो हरिशंकरको । ती साथीले विदेश जाने भए आफूले पठाइदिने बताए । त्यतिबेला सरकारले नेपालीका लागि वैधानिक रुपमा विदेश जान खुलाएको थिएन् । 

दुईपल्ट चुनाव हार्दाको पिर अनि परिवार चलाउनुपर्ने बाध्यता । यही बाध्यताले हरिशंकरले वैधानिक अवैधानिक केही पनि राम्ररी सोच्नुभएन् । उहाँ ती साथीलाई २ हजार रुपैयाँ दिएर बहराइन जान दिल्ली पुग्नुभयो । त्यो २ हजार रुपैयाँ पनि दुई वर्षपछि फर्किंदा फिर्ता गर्ने शर्तमा । ‘त्यतिबेला विदेश जाने भनेकै त्यसरी नै थियो त्यसैले अवैधानिक रुपमै गइयो ।’ हरिशंकरले भन्नुभयो । 

बहराइन पठाउने साथीले उहाँलाई महिनाको तलब ६० दिर्हाम हुन्छ भनेका थिए । त्यतिबेला एक दिरामको ४० रुपैयाँ थियो । महिनाको २४ हजार रुपैयाँ पाउने आश्वासनमा उहाँ बहराइन पुग्नुभयो । 

सेक्युरिटी गार्ड भनेर बहराइन पुगेका हरिशंकरले लेबरको काम गर्नुपर्यो । सडकको काम सजिलो थिएन । ‘दुई वर्ष बस्दा धेरै ठूलो केही गर्न सकिएन ।’ हरिशंकरले २ वर्षको बहराइन बसाइ सोचे जस्तो नभएको सुनाउनुभयो ।  घर फर्किएपछि २०४३ देखि उहाँ नेपाली काँग्रेसको कार्यकर्ता बन्नुभयो । घर फर्किएको ५ वर्षमा अर्को चुनाव भयो । 

२०४९ सालमा व्यवस्था परिवर्तन भइसकेको थियो । प्रजातन्त्रको पुनर्स्थापनापछि भएको  चुनावमा उहाँ नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्षको उम्मेदवार बन्नुभयो । तर त्यो पल्ट पनि जित हात पार्न सक्नुभएन् । नेकपा एमाले र जनमोर्चाले गठबन्धन गरेपछि त्यतिबेला पनि उहाँको हारको श्रृङ्खला रोकिएन । 

तेस्रो हारपछि काठमाडौं आएका हरिशंकरलाई भतिजाले फेरि पनि विदेश जान सुझाए । तर भतिजाले पहिलाको जस्तो खाडीका देश भनेका थिएनन् । उनले हरिशंकरलाई जर्मनीको बाटो देखाए । 

उहाँका कार्यक्रममा सहभागी हुने भनेर जर्मनी जानुभयो अनि उतै बस्नुभयो । ५ वर्ष बस्नुभयो । उहाँको जर्मनीको बसाई पनि अवैधानिक नै थियो । त्यसैले कमाउन र जमाउन सक्नुभएन् । 

५ वर्ष जर्मनी बसेर फर्किएका हरिशंकर राजनीतिमै सक्रिय हुनुहुन्थ्यो । उहाँ नेपाली कांगे्रसको जिल्ला कार्य समिती सदस्य हुनुहुन्छ । 

२५ वर्षमा व्यवस्था धेरै फेरिइसकेको थियो । पञ्चायतकाल र राजाको शासनको बेला चुनाव लडेका हरिशंकर लोकतान्त्रिक गणतन्त्रात्मक शासनपछि उम्मेदवार बन्नुभयो । तर अहिलेपनि उहाँलाई चुनाव फापेन । 

उहाँ यो पटकको प्रतिनिधि र प्रदेशसभाको चुनावमा पूर्वी रुकुमबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो । तर उहाँ माओवादी केन्द्रकी कमला रोकासँग ६ हजार २८ मतले पराजित हुनुभयो । ‘कहिले के कहिले के हुने चुनाव जित्न भाग्नमै लेखेको रैनछ,’ उहाँले सुरुकै कुरा दोहोर्‍याउनुभयो । 

नियती दोहोरिएको छ । तर अब उहाँसँग पहिलेको जस्तो विदेश जाने विकल्प छैन । किन उहाँ उमेरले ६२ वर्ष पुग्नुभयो । त्यसैले उहाँले आफूलाई मत दिने अनि नदिने सबै नागरिकको चाहना अनुसार चुनाव जितेका प्रतिनिधिले काम गरे नगरेको हेर्ने र उनीहरुलाई खबरदारी गर्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया