MENU

राजनीति

Ncell Axiata
NIC Asia

​नाम फेरिएसँगै सुनसान बन्यो डोटी समन्वय समिति

विमल विष्ट/उज्यालो ।

डोटी, पुस ७– कुनै बेला निकै भिडभाड र चहलपहल देखिने डोटी जिल्ला विकास समितिको कार्यालय (हाल जिल्ला समन्वय समिति)मा अहिले सुनसान हुने गरेको छ ।

कार्यालयको नाम फेिरएसँगै सेवाग्राही पनि आउन छोडेपछि यो कार्यालयमा सुनसान बढेको हो । कार्यालयमा कुनै पनि सेवाग्राही नआउँदा कार्यालय नै सुनसान हुने गरेको स्वयम् कर्मचारीहरु नै बताउँछन् । त्यस्तै कार्यालयको नाम फेरिएसँगै कर्मचारीहरु पनि अन्यत्रै कार्यालयमा सरुवा गरी गएकाले यहाँका अधिकांश कर्मचारीका कुर्सी पनि महिनौँदेखि खाली अवस्थामा रहेका छन् ।

कार्यालयका आँगनभरी रुखका पातहरु खसेर ढकमक्क भएको छ । कार्यालयमा बाँकी रहेका केही कर्मचारीहरु कार्यालय बाहिर र भित्र गरेर दिन बिताउन थालेका छन् । स्थानीय तहको पुनर्संरचनासँगै अधिकार गाउँपालिका र नगरपालिकामा विकेन्द्रित भएपछि जिल्ला विकास समितिको नाम जिल्ला समन्वय समिति राखिएको थियो । नाम परिवर्तन भएसँगै कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि परिवर्तन भएको छ ।

‘पुराना उपभोक्ता समितिका पदाधिकारीहरु धरौटी रकम निकासाको सिफारिस माग्न आउने गर्छन्’ जिल्ला समन्वय समितिका नासु हरिसुन्दर श्रेष्ठले भन्नुभयो ‘गैरसरकारी संस्थाको नवीकरणका लागि सिफारिस माग्ने र ठेक्कापट्टाको इजाजत पत्र नवीकरण गर्नेहरु मात्रै आउँछन्, अरु आउने गरेका छैनन् ।’ 

उहाँका अनुसार त्यस्ता सेवाग्राहीको संख्या पनि ज्यादै न्यून मात्रामा छ । योजना माग गर्ने, योजनाको फरफारक गर्ने लगायत कामहरुका लागि सेवाग्राहीले भरिभराउ हुने पहिलेको जिल्ला विकास समिति अहिले शान्त र सुनसान छ ।

‘जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसँग राजनीतिक कार्यकर्ताहरु भेटघाट गर्न आउँछन् र मान्छेको अनुहार देख्न पाइन्छ’ समन्वय समितिको कार्यालयका एक कर्मचारीले भन्नुभयो ‘सेवाग्राहीको त बाटो कुरेरै बस्नु पर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया