MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

हाङश्रोङमा एक घर, एक पोखरी

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, पुस ८ – तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङको हाङश्रोङ गाउँका किसानले एक घर एक पोखरी निर्माण अभियान चलाएका छन् । माछापालन प्रतिको बढ्दो आकर्षण तथा तरकारी, फलफूल र बालीनालीमा सिंचाई गर्न सजिलो हुनेगरी घर नजिकै पोखरी निर्माण गर्नु यो गाउँमा अनिवार्य जस्तै छ । यहाँका हरेक जसो घरमा पोखरी निर्माण गरिएका छन् । 

किसानले पोखरीमा माछापालन गरेर आम्दानी गरेका छन् भने संकलित पानी प्रयोग गरेर तरकारी र फलफूल खेती सिंचित गरेका छन् । हाङश्रोङका धेरैजसो किसानले पोखरी निर्माण गरी माछापालन गरेका स्थानीय बासिन्दा देवीमाया भट्टराईले बताउनुभयो । ‘एक घर एक पोखरीको अभिया नै चलेको छ’ उहाँले भन्नुभयो, ‘माछापालन गरेर आम्दानी नै नगरे पनि खान पुगेको छ, तरकारी र फलफूललाई सिंचाई गर्न पनि सजिलो भएको छ ।’ 

आफूले पनि दुईवटा पोखरी निर्माण गरी दुई वर्षयता माछापालन र पानी जम्मा गरेर सिंचाईमा प्रयोग गरेको उहाँले बताउनुभयो । यहाँका पार्वता भटराई, चन्द्रबहादुर ढकाल, पुष्प सापकोटा लगायतले पनि तीनवटासम्म पोखरी निर्माण गरेर माछापालन गरेका छन् । गाउँमा अरु धेरैले पोखरी निर्माण गरेर माछापालन गरिरहेका स्थानीय बासिन्दा चन्द्रबहादुर ढकालले बताउनुभयो । 

उहाँले पोखरी निर्माण र माछापालनको महत्वबारे राम्रो बुझ्नै बाँकी रहेको बताउनुभयो । किसानले मुंग्री र कमनकार जातका माछाका भुरा लगाउने गरेका छन् । कमनकार जातको माछाले आफै सन्तानोत्पादन गर्छ भने मुंग्री जातको माछा सबै भुरा किन्नुपर्छ । भुरा प्रति गोटा ५ रुपैयाँका दरले किन्न पाइन्छ । 

खान स्वादिला यी दुवै जातको माछा गाउँ–गाउँसम्म जनजिब्रोमा झुण्डिएको पाइन्छ । हुर्किएका माछा व्यावसायिक रुपमा किनबेच गर्दा कम्तिमा पनि ५ सय रुपैयाँ प्रतिकिलोका दरले कारोबार हुन्छ । आफूले यो वर्षमात्रै २२ किलो माछा उत्पादन गरेको देवीमाया भटराईले बताउनुभयो । ‘हुन त धेरै भएको थियो, उहाँले भन्नुभयो, ‘तर धेरै चाहिँ आफै खायौँ, बाँकी रहेकोमध्ये १६ किलो माछा गाउँमै बिक्री भयो ।’

माछापालनप्रति सबैको चासो र आकर्षण भए पनि व्यावसायिक रुपभने लिन नसकेको उहाँले बताउनुभयो । गाउँमा सबैले पोखरी बनाएर माछा लगाएका छन्, तर व्यावसायिक रुपमा ठूलो मात्रामा उत्पादन गर्ने हिम्मत जुटाइसकेका छैनन् ।

किसानलाई माछापालनबारे जानकारी नै नभएर पनि समस्या भइरहेको छ । पर्यावरण अनुकुल माछाका प्रजाति, तिनलाई खाजा, खाना र हेरचाहले पनि उनीहरुको वृद्धि र विकासमा प्रभाव पार्ने भएकाले त्यस्तो आवश्यक प्राविधिक जानकारी किसानको तहसम्म पुर्याउनुपर्ने ओयाक्जुङकै अगुवा किसान नेत्र ढकालले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया