MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘दर्पण छायाँ’ अनुभव : जाडोले तोरीको फूल देखेँ –जितु नेपाल

काठमाडौं, पुस ९ –कलाकार जितु नेपालले  सिनेमा ‘दर्पण छायाँ’मा सिनेमाका मुख्य कलाकार दिलिप रायमाझीको साथी भएर अभिनय गरेका छन् ।

उनले आफूलाई अब्बल कमेडीयनको रुपमा स्थापित गराउनु भन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए । त्यहि अवसर मध्येको एक ठूलो अवसर थियो ‘दर्पण छायाँ’ ।  सिनेमामा सहायक अभिनेताको रुपमा काम गरेपछि जितुले यसबाट सिनेमाको मुख्य कलाकारको जस्तै सम्मान र स्थान पाएका थिए । तुलसी घिमिरेको निर्देशनमा  १६ वर्ष अघि बनेको  यस सिनेमामा काम गर्दाको अनुभव जितुले यसरी सेयर गरेका छन् ।

‘कलाकार बन्ने संघर्षको दिनमा तुलसी घिमिरे दाईलाई भेट्ने चाहनाले म धेरै पटक कुपण्डोलमा गएको थिएँ ।  तर भेट्ने अवसर पाएको थिएन । अनि मैले कति जनालाई त लौन ! मलाई तुलसी घिमिरेसँग भेट गराईदिनु पर्यो पनि भनेँ । म त्यतिबेला धेरै नै जुनियर भएका कारण मलाई त्यो अवसर मिल्न गाह्रो भयो । त्यो भन्दा अगाडि मैले झण्डै  १५ वटा सिनेमामा काम गरेको थिएँ  तर ती सानातिना भूमिका थिए । अनि टेलिभिजनमा चाहि मैले त्यतिबला ‘सँगालो’ भन्ने कार्यक्रममा अभिनय गर्थेँ ।

एक दिन अरुण रेग्मीले मलाई तुलसी घिमिरेले तपाईँलाई भेट्न खोज्दै छन् । उनले तपाईँलाई एउटा सिरियलमा काम गराउन खोज्दैछन् भन्नु भयो । म त अचम्म परेँ ।  अनि मैले तुलसी घिमिरेलाई भेटेँ । अनि उहाँले ल ! तपाईँका लागि एउटा भूमिका छ खेल्नु पर्यो भनेर भन्नुभयो ।  अनि उहाँले मलाई‘मुक्ति’ सियिरलमा एकदमै राम्रो भूमिका दिनु भयो । सचिवको भूमिका थियो त्यतिखेर एकदमै हिट भयो त्यो भूमिका ।  त्यसमा‘नाई नाई एउटा कुरा नी’ भन्ने थेगो थियो ।  अनि पछि त्यहि‘मुक्ति’मा काम गर्न आउनु भयो सरीता लामिछाने ।  अनि उत्तम प्रधानले पनि यसमा काम गर्नुभयो । यसै क्रममा हाम्रो एउटा गठबन्धन तयार भयो । हुन त म जहाँ प्रवेश गर्छु । काम गर्छु  । त्यहाँ एउटा लोकप्रियता बनाइराख्छु ।

त्यो सिरियलको बजेट अलि कम थियो । कसैले स्पोन्सर पनि गरेको थिएन । अनि  त्यसमा फेरि पान धेरै खान पर्ने तर पैसाको कमी भएका कारण रायोको पात चपाउनी अनि मुखमा रातो लगाउनी भन्ने कुरा भयो । तर पछि मैले आफै पान लिएर जान थालेँ ।  त्यतिबेला उत्तम प्रधान जी र म सँगै बस्थ्यौँ उत्तम जी सिक्किमबाट आउनु भएको थियो । अनित्यहि शिलशिलामा ‘दर्पण छायाँ’ बन्ने भयो । अनि उहाँले ल ! जितु  तिम्रो पनि एउटा रोल छ भन्नु भयो । अनि हामी सिक्किम गयौँ छायाकंनको लागि  ।

यो सिनेमाको छायाकंनमा यस्तो रमाईलो भयो कि त्यसको त कुरै छोडौँ । जीवनका सबैभन्दा रमाईला क्षणहरु पार गरेको छु मैले त्यसमा ।  यहि शिलशिलामा म तुलसी दाईसंग पनि नजिक भएँ । छायाकंन गर्दा पनि दाईले यसमा केही कमेडि गर्न सक्छौ भने भन है जितु भन्ने गर्नुहुन्थ्यो । 

अनि त्यो सिनेमामा निरुताको प्रवेश हुँदा खेरिका सम्वादहरु ‘हेर्र्दैै म्याउँ गर्ली जस्ती छ’ भन्ने मैले नै बनाएर भनेका सम्वादहरु हुन् । त्यसको छायाकंनको समयमा सिक्कीमका धेरै कलाकारहरुलाई लिनु भएको थियो तुलसी सरले कलेजको सिनका लागि ।

अनि त्यो समयको सबैभन्दा रमाईलो कुरा के भने प्राय तरकारी स्कुसै स्कुस हुने । दिलिप रायमाझी त  त्यसै पनि भेजिटेरियन ।  उनी त एकदमै धेरै भात खानी । दिउँसो खाजा खान जाँदा पनि भातै खान्थे ।  अनि हुँदा–हुँदा हामीसँग छायाकंन गर्नीले पनि स्कुस बोकेर आउन थाले । अनि तकी हाम्रोमा पनि स्कुस फलेको छ भन्दै ल्याउने । अनि पछि हामीले तिमीहरु आओ तर स्कुस चाहि नल्याओ है भनेर भन्न थाल्यौँ । 

अनि एकदिन छायाकंनको क्रममा तुलसी घिमिरेलाई फोन गएछ । यता मेरो बुवालाई टेम्पुले हानेछ । बुवा अलि बिरामी पनि हुनु भएको रहेछ । तर मलाई उहाँहरुले  एक दिन यो कुरा भन्नु भएन । अर्को दिन चाहि तुलसी दाईले तिम्रो बुवालाई यस्तो भएछ भनेपछि  एकदमै नमज्जा लाग्यो ।  त्यहाँ मेरो ‘गीत गाउँछु भन्दा गीतै हरायो’ भन्ने गीतको छायाकंन  गर्नु पर्ने थियो । तर बुवाको बारेमा थाहा पाएपछि म रोएँ पनि । अनि उहाँहरुले के गर्छौ त  ?  अब तयार पारेको सेटमा यो सकिएन भने बाँकी रहन्छ भन्नु भयो । पछि मैले घरमा कुरा गरेँ । बुवाको अवस्था सामान्य भएको जानकारी  पाएँ । त्यसपछि मैले छायाकंन गरेँ । रातभर लगाएर त्यो गीतको छायाकंन सकियो ।  त्यसमा पनि त्यो लुगा खोल्दै फाल्दै गर्ने मेरै स्टाईल हो ।  तल स्टेजबाट फाल हाल्नी तर माथि नउक्लिनी त्यो मैले नै गरेको हो ।  लास्टमा फाल्दा फाल्दा पाइन्ट पनि फाल्देको (हाँसो) । 

यस सिनेमाको अनुभव के छ भने टिस्टा खोलामा पिक्निक जाँदा  हामीले निरुता सिंह उर्फ स्मृतीको लुगा लुकाई दिने । पानी धमिलो पार, पानी धमिलो पार, भनेर जिस्क्याउनी अनि त्यसरी जिस्क्याएपछि उनीहरुले हाम्रो लुगा लुकाई दिन्छन् ।  त्यो सिन छायाकंन गर्दा टिस्टा खोलामा सायद मानईस पाँच डिग्री थियो होला तापक्रम ।  कति जाडो, जाडो ।अरु चाहि डम्म ज्याकेट लगाएर बस्ने अनि ल पानीमा छिर केटा हो, भन्ने  ।

हामी जाडोले काँप्दै  खोलामा छिर्ने ।  तोरीको फूल  वास्तवमा देख्दो रहेछ मान्छेले  । मैले त त्यहाँ जाडोले पहेँलै देख्न थालेँ ।जाडाले काप्दै बल्ल तल्ल छिर्यो अलिअलि सम्वाद बोल्यो  अनि बाहिर  निस्कीयो । अनि  उत्तम प्रधान जि त लुगा लगाएको हुने ।  हामी त एकअर्कासँग टाँस्सेर बस्ने । चिया खाँदै कपली खाँदै लुगा ओढेर बस्दा अलि–अलि तात्न थालेको हुन्छ अनि फेरि अर्को शट शुरु भईहाल्ने । फेरि पानीमा जानुपर्ने ।  मत मर्नी जस्तै भईसक्याथे ।

अरुलाई भनौँ के भनौँ । अनि तुलसी दाईले फेरि हैन किन अल्छी गर्याछौ केटा हो भन्नुहुन्छ ।  तर पानीमा छिर्नै सकिँदैन । अनि ए जितु, तिमी के भको त्यस्तो फुर्तिलो मान्छे भन्ने । अनि सर एकचोटी पानी छोई हेर्छु नी  भने । अनि तुलसी दाईले खोइ–खोई भनेर पानी छुनु भएको   । आबुई ! लौ अब त केटाहरु मर्छन् है भनेर रम मगाउनु भयो ।  कहिल्यै पनि तुलसी दाईको अगाडि नखानी अनि त्यो दिन त तुलसी दाईले नै लौ अब बिर्कामा हालेर खाओ भन्नुभयो । अनि हामी पनि बुढाका अगाडि बिर्काले पछि त यता खै ले भनेर खाईयो ।  तै पनि जाडो भको छ । बल्ल तल्ल त्यो  सकाईयो । मलाई अहिले पनि मुटुको समस्या छ सायद त्यहि समयको धेरै चिसोले होला । त्यो सक्यो । अनि अर्को  सिनमा पातको लुगा लगाएर बाख्राले  खाएको छायाकंन गर्नु पर्ने थियो । अनि कहाँ जानी भन्दा त त्यो भन्दा पनि बढी जाडो हुने लाभा कफेर भन्ने डाँडामा पर्यो । 

अनि त्यहाँ जाँदा सबैले जाडोको लुगा किनेर काने टोपी लगाए हामीले लुगा खोल्न पर्नी ।  अनि घाँसको लुगाए बनाए । यो लुगा भोजराजले बनाउनु भएको हो । त्यस सिनमा  हामी ट्रकमा चढ्न पर्नी र त्यो घाँसको लुगालाई बाख्राले खान पर्नी सिन थियो । भैदियो के भने भोका बाख्रा लेर आका रहेछन् । अनि त्यो बनाको जामा चाहि साँच्चिकै बाख्राको मन पर्ने घाँस परेछ । उता क्यामेरा मिलाएकै छैन चढ्नी बित्तिकै बाख्राले घाँस खान थालिहाल्ने ।  त्यो खिच्न चाहि पर्थ्यो तर क्यामेरा नमिलाएका कारण बाख्राले पहिले नै खाएर सिध्याए ।  अनि फेरि अर्को बनाईयो । ‘दर्पण छायाँ’ एकदमै जाडोमा छायाकंन गरेको हो  । अनि एकदमै रमाईलो पनि भयो ।   अनि त्यति खेरको एक–एक क्षण एकदर्मै रमाईलो रह्यो । सिनेमा छायाकंनका क्रममा दार्जिलिङको गाउँतिर जाँदा नेपालीहरुको आत्मियता माया  ओ माई गड ! भनेर साध्य छैन ।  सोचरै सोच्न सकिँदैन ।  जसको घरमा गएपनि एकदमै राम्रो सत्कार गर्ने । चिया दिने अनि नमस्ते गरिहाल्ने ।  खाना दिने अनि नमस्ते गरिहाल्ने । अनि त्यहाँ होटेलमा गएर चिया खायो पैसै नलिने । अनि त तपाईँहरु त हाम्रो पाहुना हो की आज पैसा दिन पर्दैन भोलि देखि दिनु होला भन्ने ।

मेरो अर्को किस्सा छ यो सिनेमा छायाकंनका क्रमको । सोमबार मासु नखानीभनेर हाम्रो दीपकजी म अनि दमन जीले घोषणा गरेका थियौँ ।  सिनेमाको छायाकंन गरेको छ  । हिँडेको छ । खानपीन पनि त्यस्तै छ ।  यसलाई अलि थोरै बजेटमा छायाकंन गर्नु  भएको थियो तुलसी दाईहरुले ।  अनि कालिम्पोङबाट सिम्ताम भन्ने ठाउँमा उत्तम प्रधान जीको घर । अनि त्यहाँ पुगिसकेपछि  उत्तम जीले चाहि सिरियल ‘मुक्ति’ खेल्दा खेरिको साथी जितु आज घरमा आएको छ  भनेर विशेष बनाउनु भयो । त्यसबखत पुनम राई,  दिलिप रायमाझी अरुण रेग्मी र म थियौँ ।  अनि घरमा दुईटा भाले रहेछन्  । आज दुईटै ढाल्ने हो भन्छन् ।  भो अब !  त्यो पनि सोमबारको दिनमा ।  के गर्नु ?के गर्नु ?ढालिसके ।  पूरै पार्टी छ । अनि भगवान् मैले सकिन । माफ पाउँ भनेर खाईदिएँ ।  मैले मेरो मन मारेर हजुरलाई धर्म गर्दिन । माफ पाउँ आजबाट खुल्यो भनेर भ्याईदिएँ । 

मेरो लागि तुलसी दाई महान निर्देशक हो । उहाँले मेरो लागि के सम्म पनि गर्नु भएको छ भने  कहिले काही छायाकंन गर्यो अनि त्यो सिनको लागि भोलिपल्ट मलाई सम्वाद फुरेको छ त्यसमा यस्तो गर्न पाए राम्रो हुन्थ्यो भनेर भन्ने अनि तुलसी दाईलाई सुनाउने  । अनि सुनिसकेपछि तुलसीदाईले त्यहि सिनलाई फेरि छायाकंन गर्ने पनि गर्नुभयो । मलाई सबै युनिटले नै माया गर्नु भयो । अनि मेरो सिन नहुँदा पनि म सेटमा बस्थेँ । सबैलाई हँसाईरहन्थेँ ।  अनि निरुता सिंहले मलाई यो सेटमा बस्यो भने म छायाकंन गर्न सक्दिन यसले गर्दा मेरो मेकअप नै बिग्रियो भन्नुहुन्थ्यो (हाँसो )। 

‘दर्पण छायाँ’का कलाकारसँग अहिलेको सम्बन्ध

त्यो टिमका उत्तम जीसँग अस्ती भर्खरै भेट भएको थियो । उहाँ जस्तो मान्छे हाम्रो सिनेमा उद्योगमै छैन भन्छु म त । उहाँसँग फेसबुकमा पनि कुरा भईरहन्छ । अनि निरुता दिदीसँग त मेरो एकदमै राम्रो सम्बन्ध । मेले उहाँसँग ‘दर्पण छायाँ’पछि पनि लहना, दुई किनारा जस्ता सिनेमामा काम गरेको छु । अनि अस्ती दुवैमा उहाँसँग भेट भएको थियो । साह्रै रमाईलो भयो । दिलिप जीसँग त भेट भईरहन्छ । यो टिमका कलाकारसँग त्यति धेरे भेट हुँदैन । तर हामी भेट भएको बेलामा चाहि ‘दर्पण छायाँ’कै कुरा गर्छौँ ।  अनि सहायक निर्देशक भएर काम गर्नु भएको ऋषि लामीछानेसँग पनि मेरो यहि सिनेमा देखि राम्रो मित्रता कायम भयो । हामी रुम पार्टनर थियौँ । 

यसले के दियो ?

‘दर्पण छायाँ’को लोकप्रियता यति भयो की म सय दिनको कार्यक्रममा बिर्तामोड पुगेको थिएँ । अनि मलाई त्यो भिडमा म अब बाँच्दिन जस्तो लागेको थियो ।  मान्छेहरु फोटो खिच्न आएको देखेर मै जिल खाको छु । ए बाबा ! किन यस्तो भएको हो ?भनेर ।  अनि जता गयो त्यतै सम्मान । त्यतै ट्रफी ।म सँग अहिले पनि यसका चार/पाँचवटा ट्रफी छन् ।  अनि तुलसी दाईहरुले पनि मलाई सबै हल र कार्यक्रमहरुमा छुटाउनु भएन ।  प्रमुख कलाकारकै स्थान दिनु भयो । मैले त्यसबखत त्यति राम्रो सम्मान र प्रमुख कलाकारको स्थान अन्य सिनेमा र ब्यानरबाट पाएको  थिएन । 

अनि पछि काठमाण्डौका हलहरुको सय दिनको कायर्कम्र गर्दा प्रमुख अतिथि अभिनेता  थिन्लेलाई राखेका थियौँ । उहाँ अहिले हुनुहुन्न । त्यो मेरै आईडिया थियो । मैले उहाँसँग ट्रफी लेको तस्बिर पनि छ ।सरसर्ती सम्झिदा यो सिनेमाको छायाकंन निकै रमाईलो रह्यो । विशेष गरी जाडोको सम्झना आउँछ । अनि त्यो कलेजको सिनहरुको पनि । 

(गफगाफ डटकमका लागि राधिका कँडेलले गरेको कुराकानीमा आधारित)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया