MENU

राजनीति

ujyaalo forign call inside

सरकार गठन अघिनै पार्टी एकताको प्रयास हुँदैछ : नारायणकाजी

किरण लोहनी/उज्यालो । 

गोरखा, पुस १० – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार गठन अघि नै पार्टी एकता गर्नेबारे छलफल भैरहेको बताउनुभएको छ । पार्टी एकता छिटो गर्न कार्यकर्ता तहबाट पनि दबाब आइरहेको भन्दै उहाँले एकतालाई कसैले पनि टार्न नसक्ने बताउनुभयो ।

“पार्टी एकता वाम आदेश हो, ढिलो छिटो एकता हुन्छ, हामी सरकार गठन अघि नै पार्टी एकता गर्नेबारे छलफलमा छौं” गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “तत्काल पार्टी एकता हुन नसके पनि सरकार गठनमा त्यसले प्रभाव पार्दैन ।”

माओवादी र एमालेले बनाएको पार्टी एकता संयोजन समितिको बैठक एक दुई दिनमै बसेर पार्टी एकताबारे थप गृहकार्य गर्ने उहाँको भनाई छ । नेता कार्यकर्ताहरु व्यस्त भएका कारण समितिको बैठक बस्न नसकेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो अध्यक्ष प्रचण्ड पनि पूर्व निर्धारित कार्यक्रम अनुसारनै चितवन जानु भएको हो, कुनै अलमल वा विवादका कारण होइन ।”

वामपन्थी पार्टीहरुकै सहभागितामा नयाँ सरकार बन्नेमा शंका नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । चुनावले वाम गठबन्धनलाई झण्डै दुई तिहाई नजिकको मत दिएको अवस्थामा अरु कुनै दलसँग मिलेर सरकार बनाउने कल्पना पनि गर्न नसकिने उहाँको भनाई छ । निर्वाचन आयोगका कारण पनि सरकार गठनमा ढिलाई भएको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको समानुपातिक तर्फको मत परिणाम घोषणा गर्न आयोगले ढिलाई गर्दा सरकार गठनमा अवरोध पुगेको उहाँको भनाई छ । “मतगणना सकिएको एक हप्ता भित्र परिणाम सार्वजनिक गर्नुपर्ने व्यवस्था छ” श्रेष्ठले भन्नुभयो, “एक हप्ता हुँदैछ, अब आयोगले के गर्छ हामी पनि हेर्दैछौं ।”

राष्ट्रियसभा गठन सम्बन्धी अलमललाई कारण देखाएर निर्वाचन आयोगले आफ्नो काम रोक्न नहुने उहाँको भनाई छ । नयाँ सरकार गठनलाई राष्ट्रियसभासँग जोड्न नहुने पनि श्रेष्ठले बताउनुभयो । “यो विलकुल फरक प्रक्रिया हो, सबैले कानुन र जनमतलाई स्वीकार्नु पर्छ, जनादेश अनुसारको नयाँ सरकार बन्ने बाटो दिनुपर्छ” कांग्रेसले सत्ता हस्तान्तरणमा गरिरहेको आनाकानीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो ।

राष्ट्रियसभा गठन सम्बन्धी अन्यौल दलहरुबिचको छलफलबाट टुंगो लगाउनु पर्नेमा उहाँको जोड । कांग्रेसले भनेजस्तो एकल संक्रमणीय प्रणालीबाट चुनाव गर्न पनि सकिने भन्दै उहाँले भन्नुभयो, “तर अध्यादेश बनाउँदा हामी दलहरु सबैले केही कमीकमजोरी गरेका छौं, त्यसलाई छलफलबाट टुंग्याउनुपर्छ ।” 

भट्टराईसँगको हारलाई सहज रुपमा लिएको छु 

चुनावपछि पहिलो पटक गृहजिल्ला आउनु भएका श्रेष्ठले प्रतिनिधिसभा चुनावमा आफ्नो पराजयलाई सामान्य र सहज रुपमा लिएको बताउनुभयो । “चुनावको परिणाम जे जस्तो भए पनि गोरखाली नागरिकको आदेशलाई मान्नै पर्छ” श्रेष्ठले भन्नुभयो, “हामीलाई यो पटक अवसर दिनुभएन, हामीले सामान्य र सहज रुपमा लिएका छौं ।”

श्रेष्ठ गोरखा क्षेत्र नम्वर २ बाट नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग ६ हजार मत अन्तरले पराजित हुनु भएको थियो । पार्टीकै असहयोगका कारण चुनाव हारेको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “यो विलकुल गलत हो, यहाँको सिंगो पार्टी पंक्ति मलाई जिताउन लाग्यो, मेरो जितका लागि अध्यक्ष प्रचण्ड सबभन्दा चिन्तित हुनुहुन्थ्यो ।” तर परिणामलाई लिएर पार्टीभित्र आन्तरिक समीक्षा भने हुने उहाँको भनाई छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया