MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

नेपाली सेलिब्रेटीका विवाद र चर्चा

काठमाडौं, पुस १० – सिनेमा ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच मी’ बोलको  गीत सार्वजनिक कार्यक्रममा अभिनेता विनय श्रेष्ठको प्रवेश आकर्षणको केन्द्र बन्न पुग्यो । कार्यक्रममा उनी दुई विकिनी लगायका युवतीको साथमा प्रवेश गरे जुन दृश्यले कार्यक्रमको माहोल नै ततायो । प्रवेश गरेसँगै विनयले ती युवतीहरुसँग नृत्य समेत गरेका थिए । 

विनयको यो हर्कत पछि धेरैले उनले  नेपाली परिवेशमा नसुहाउने काम गरेको टिप्पणी गरे । तर कुरा यतिमा मात्रै सीमित रहेन । यो गीतलाई केही नेपाली टेलिभिजनले प्रशारण नगर्ने भएका छन् । यति मात्रै हैन युट्युबमा पनि यस गीतलाई उमेर समूह तोकेर अपलोड गरिएको छ । यसले  सिनेमालाई नराम्रो असर पर्ने देखिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै विनयले भने केही फरक गर्ने सोचका साथ गीतको भावअनुसार आफू कार्यक्रममा प्रस्तुत भएको बताएका छन् । निर्देशक नरेश कुमार केसीले भने सिनेमामा पात्रको भूमिका अनुसार यो गीत तयार पारेको बताएका छन् । यो सँगै आज हामी पछिल्लो एक वर्षमा भएका सेलिब्रेटीका विवाद र चर्चालाई प्रस्तुत गर्दैछौँ ।

‘छक्का पञ्जा २’ को गीत चोरी काण्ड

‘छक्का पञ्जा २’ मा समावेश गीत ‘ए दाजु नसमाऊ नाडीमा’ बोलको गीत चोरी काण्ड पनि यो वर्ष चर्चामा रह्यो । कान्छा मगर नेपालीले कम्पोज गरेको गीत उनका पनातीले संगीतकार तथा गायक अल्मोडा राना उप्रेतीलाई मेरा बाजेको गीत भन्दै सुनाएको र त्यहि गीतलाई अल्मोडाले चोरी गरेको थाहा भएको थियो । गीतमा अल्मोडाले कम्पोजर र शब्दमा आफ्नो नाम राखेर ‘छक्का पञ्जा २’ टिमलाई दिएका थिए ।

तर पछि वास्तविक सर्जकले यसका विरोध गरेपछि यस गीतको शब्दमा प्रिन्सको नाम जोडियो भने कम्पोजरमा अल्मोडाको नाम हटाएर  प्रिन्स र कान्छा मगर नेपालीको नाम राखियो । त्यसपछि यो विवाद साम्य पनि भयो ।

‘छक्का पञ्जा’ टिमर ऋचाको विवाद 

अभिनेत्री ऋचा शर्मा ‘छक्का पञ्जा’ लाई दिएको प्रतिकृयाका कारण विवादमा परिन् । केही समय अघि काठमाडौंमा आयोजित एक गोष्ठीमा बोल्दै ऋचाले ‘छक्का पञ्जा’ हेरेर हाँस्ने दर्शकलाई पाखण्डी भनिन् ।

‘छक्का पञ्जा’ एक महिला निर्देशकले महिलामाथि नै अपमान गरेर निर्माण गरेको सिनेमा भएको पनि ऋचाको भनाई थियो । कार्यक्रममा बोल्दै उनले सिनेमामा महिलालाई अपमान गरेको देख्दा पनि दर्शकले ताली बजाएको भन्दै दर्शकको त्यो अवस्था देख्दा आफू अचम्ममा परेको बताइन् । 

‘छक्का पञ्जा २’ को बारेमा उनले गरेको यो टिप्पणीले उनलाई समस्यामा पार्‍यो । ‘छक्का पञ्जा २’ को टिमले उनको विरोध गर्दै एउटै स्ट्याटस पोस्ट गर्‍यो । सिनेमाका निर्माता, कलाकार र निर्देशकले समेत समाजिक सञ्जालमा स्ट्याटस लेख्दै ऋचालाई छिट्टै निको हुन भनेका थिए । 

‘छक्का पञ्जा’ टिमको यो स्ट्याटस पछि ऋचाले आफूले दर्शकलाई मुर्ख नभनेको भन्दै अभिव्यक्ति पनि दिएकी थिइन् । अहिले यो विवाद यत्तिकै सेलाएको छ ।

प्रदीप खड्का

हाल छायाँकन भइरहेको सिनेमा ‘लिलिबिलि’ को  आधिकारिक घोषणा कार्यक्रममा अभिनेता प्रदीप खड्का भाडाका विदेशी बडीगार्डसहित पुगे । यो वर्ष उनको यो हर्कतले नेपाली मिडिया र सामाजिक सञ्जालमा ठूलै स्थान पायो । उनलाई सफलताले मातेको आरोप पनि धेरैले लगाउन भ्याए । तर प्रदीपले भने यसलाई सामान्य रुपमा लिएर अघि बढेको बताएका छन् । कार्यक्रममा उनलाई निर्माण पक्षले बडीगार्ड उपलब्ध गराएको थियो ।

अनमोल केसी

पछिल्लो समयमा अनमोललाई बलिउड तथा हलिउड नायकसँग तुलना गर्न थालिएको छ । सार्वजनिक कार्यक्रममा उपस्थिति जनाउँदा उनी बडीगार्डका साथ जाने गरेका छन् । सिनेमा ‘ड्रिम्स’ को हल भिजिटमा उनी बडीगार्डसहित सहभागी भए । त्यसपछि उनको चर्चा चुलिएको थियो ।

अनमोलले यहि कामलाई केही दिनअघि मात्र सिनेमा ‘कृ’ को ट्रेलर लन्च कार्यक्रममा पनि दोहोर्‍याएका छन् । चार जना बडीगार्डसहित उनी सिनेमाको ट्रेलर लन्च कार्यक्रममा पुगेका  थिए । कार्यक्रममा बोल्दै उनले सिनेमाको युनिटले उनलाई बडीगार्ड उपलब्ध गराएको जानकारी समेत दिएका थिए । उनको यहि बानीले उनी नेपालका अन्य सेलिब्रेटी भन्दा फरक पनि मानिन्छन् ।

प्रियंका र आयुषमानको चुम्बन काण्ड

यस वर्षको एन एफ डि सी अवार्ड कार्यक्रममा प्रियंका कार्कीले प्रेमी आयुषमान देशराज जोशीबिच भएको किसले यी दुईलाई केही दिनसम्म  चर्चामा ल्यायो । यस अवार्ड अगाडि उनीहरुबिच प्रेम रहेको चर्चा फैलिएको थियो तर यी दुवैले यसको आधिकारिक घोषणा गरेका थिएनन् ।

तर एन एफ डिसी अवार्डमा भएको किस काण्ड पछि यी दुईको प्रेमले सार्वजनिक रुपमा बाहिरिने मौका पायो । यसै कार्यक्रम मार्फत आयुषमानले प्रियंकालाई प्रेमिकाको रुपमा घोषणा गरेका थिए । यसका साथै प्रियंका यसै वर्ष एक अन्तर्वार्तामा दर्शकलाई भेडा बनेका कारण पनि चर्चामा आएकी थिइन् ।

शुष्मिता बोम्जन

अभिनेत्री पूजा थापाले एक अन्र्तवार्तामा अनमोल केसी र भुवन केसी भाग्यले चलेका बताएपछि  शुष्मिता बोम्जनलाई रिस उठ्यो । उनले यो रिस पोख्ने माध्यम बनाइन् सामाजिक सञ्जाल ।

उनले सामाजिक सञ्जालमार्फत पूजालाई भर्खरै पलाएको टुसाले भुवन केसीजस्तो स्थापित र दिग्गज कलाकारलाई त्यस्तो भन्न नहुने उल्लेख गरिन । त्यसपछि पूजा र  निर्देशक सुदर्शन थापाले यसको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत आफूहरुले नराम्रो भन्न नखोजेको उल्लेख गरेका थिए । यसका साथै शुष्मिताको पत्रकार उत्सव रसाइलीसँग पनि विवाद भएको थियो ।

रीमाको सम्बन्ध बिच्छेद

अभिनेत्री रीमा विश्वकर्माले यसै वर्ष सम्बन्ध बिच्छेद गरिन् । विवाहको दुई वर्षमा उनी पति रोबर्ट विश्वकर्मासँग अलग भएकी हुन् । दुई वर्ष अगाडि काठमाडाैंको होटेल हायातमा भव्य रुपमा बेलायतमा बस्दै आएका धरानका रोबर्ट विश्वकर्मासँग रीमाको विवाह भएको थियो ।

रीमाले जिन्दगी सोचेजस्तो नहुने भन्दै रोबर्टको स्वतन्त्रतालाई मध्यनजर गर्दै आफूले सम्बन्ध बिच्छेद गरेको बताएकी छिन् । रीमासँग कानुनी रुपमा अलग भएपछि रोबर्टले मोडल वर्षा रसाईलीसँग ईन्गेजमेन्ट गरिसकेका छन् । रीमा भने टुटेको मनलाई सम्झाउने प्यासमा छिन् ।

अश्लेषा ठकुरीको ड्रेस काण्ड

डेब्यु सिनेमा ‘प्रेमगीत २’ को  प्रचार प्रसारका लागि देश दौडाहामा हिँडेको बेला अभिनेत्री अश्लेषा ठकुरी एकाएक चर्चामा आईन् । कारण थियो वरड्रप मालफंशन । नेपालगञ्जमा भएको कार्यक्रममा नृत्य गर्ने क्रममा उनले लगाएको ड्रेसले उनलाई धोका दियो । उनको भित्रि बस्त्र देखिएपछि उनको तस्बिर भाइरल भयो । यसले उनलाई केही समय तनाव र विवादमा पनि ल्यायो । तर उनले पछि यो आफूलाई बेइज्जत गर्न कसैले गरेको षडयन्त्र भएको भन्दै दुःख पोखेकी थिइन् । 

स्यारोन र सुनिलका विवाद

निर्माता सुनिल रावल र अभिनेत्री सयारोन श्रेष्ठको विवादले यो वर्ष नेपाली मिडियामा अग्रस्थान लियो । सिनेमामा काम गर्ने क्रममा आफूलाई निर्माता सुनिलले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि यसको विवाद सुरु भएको थियो ।

सिनेमाको छायाँकनको समयमा आफूलाई सुनिलले किस गरेको र प्रेमिका बन्न प्रस्ताव गरेको आरोप स्यारोनको थियो । स्यारोन अघि सुनिलसँग काम गरेकी अभिनेत्री प्रकृती श्रेष्ठले समेत आफू पनि सुनिलको त्यस्तै व्यवहारमा परेको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिइन् । तर  सुनिलले भने यो कुरालाई सोझै नकारेका थिए । 

पछि दुवै पक्षका परिवारका सदस्य र चलचित्र निर्माता संघका  अध्यक्ष  आकाश अधिकारी, कलाकार संघका अध्यक्ष  रामकेशर  बोगटी लगायतको उपस्थितिमा उनीहरुले आगामी दिनमा एकअर्काको व्यक्तिगत र व्यवसायिक  जीवनमा आँच आउने खालका अभिव्यक्तिहरु नदिने सहमती गरे ।  

करिष्मा मानन्धर

गत वर्ष अभिनेत्री करिश्मा मानन्धर नयाँ शक्ति पार्टीले आयोजना गरेको एक कार्यक्रममा प्रदीप गिरीको ठाउँमा डाक्टर प्रदीप भट्टराई भनेका कारण चर्चामा आएकी थिइन् । उनलाई यो कार्यक्रम पछि धेरैले आलोचना गरे । त्यस काण्डपछि उनलाई दर्शकले बोल्न नजान्ने अभिनेत्रीका रुपमा समेत हेर्न थालेका छन् । उमेरले पाको हुँदा पनि उनको पढाई नभएका कारण उनमा बोल्ने तमिज नभएको धेरैको भनाई छ ।  

यसका साथै उनले सामाजिक सञ्जालमा लेख्ने गरेका स्ट्याटसहरु समेत आलोचनाका विषय बनिरहेका हुन्छन् । यो वर्ष पनि उनी श्रीमान्माथि पोखेका आक्रोशका कारण चर्चामा आईन् । उनले मतदानका दिन श्रीमानलाई तानाशाह भन्दै आक्रोश पोखेकी थिइन् ।

उनले आफूले श्रीमान विनोद मानन्धरका कारण मतदान गर्न नपाएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी थिइन् । काठमाडौंकी बासिन्दा करिष्माको विवाह पछि सप्तरीबाट नागरिकता बनाइएको थियो । पछि बसाईसराई गरेपछि विनोदले आफ्नो र छोरीको मतदाता परिचय पत्र काठमाडौंबाट बनाए तर करिष्माको बनाएनन् । यहि कारणले उनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी थिइन् ।

निति शाह

विश्वव्यापी रुपमै नेपालको बेइज्जत गरेको भन्दै केही समय अघि मात्रै नितिको विरोध गर्नेहरुको ओइरो लाग्यो । नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागिता जनाउन गएकी नितिले नेपाली महिलाहरुको अवस्थाबारे बोल्ने क्रममा उनले भनिन्, नेपालमा दुई किसिमका महिलाहरु हुन्छन् एउटा पढेलेखेका र अर्को नपढेका ।

यसका साथै उनले आफूलाई पढेलेखेको सूचिमा समेत राखेकी थिईन् । यसले उनलाई चर्चा र विवादमा ल्याएको थियो । यो वर्ष विवादित काम गर्ने सेलिब्रेटीमा उनले पनि नाम लेखाएकी छिन् । 

- उज्यालो र गफगाफ डट कमको सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया