MENU

राजनीति

​प्रदेश नम्बर ३ को राजधानी कहाँ ? हेटौंडादेखि नुवाकोटसम्म आ–आफ्नै तर्क

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, पुस १० –अरु प्रदेशमा जस्तै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विवाद ३ नम्बर प्रदेशमा पनि उत्तिकै छ । १३ वटा जिल्ला रहेको प्रदेश नम्बर ३ मा अहिले देशकै राजधानीदेखि ठूलाठूला सहर पनि पर्ने भएकाले राजधानी कहाँ भन्ने बहस तात्तिंदै गएको छ ।

मकवानपुर, चितवन, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतका प्रदेश नम्बर ३ का १३ वटै जिल्लामा हिजोआज चियापसलदेखि सरकारी कार्यालयसम्म प्रदेश राजधानीकै विषयमा गफ हुन्छन् । अहिले देशकै राजधानी रहेको काठमाण्डौंलाई नै प्रदेश नम्बर ३ को राजधानी बनाउने कि अरु सहरमा राजधानी बनाउने भनेर सरकारले गृहकार्य गरिरहेका बेला केही जिल्लामा भने ‘हाम्रै जिल्ला नै राजधानी हुनुपर्छ’ भन्ने आवाज चर्कन थालेका छन् । सबैभन्दा धेरै ५५ लाख जनसंख्या भएको प्रदेश नम्बर ३ को राजधानीका सम्भावित ठाउँ कुन कुन हुन त ? 

चितवन : प्रचण्ड र सुरेन्द्र पाण्डेसम्मको आश

प्रदेश नम्बर ३ को राजधानीको लागि एउटा सम्भावित ठाउँ चितवन हो । चितवनका बासिन्दाले प्रदेश राजधानीको लागि चाहिने सबै संचरना चितवनमा रहेको, व्यवस्थित विकासको बाटोमा चितवन अघि बढिसकेकोले राजधानीको लागि उपयुक्त ठाउँ भएको दावी गरेका छन् ।

चितवनमा महानगरपालिका  भैसकेको, विश्वविद्यालय पनि रहेको, पूर्व पश्चिम राजमार्गको मध्यभाग पर्ने व्यवस्थित सहर जस्ता आधार भएकाले चितवन  नै राजधानी हुनुपर्ने त्यहाँका नागरिकको माग छ । यस्तै पहाडी र समथर भूभाग, पर्याप्त खुला ठाउँ  पर्यटकीय क्षेत्र मात्रै नभई कुनै समय देशकै राजधानी बनाउनुपर्छ भन्ने वहस भएकाले प्रदेश राजधानी बनाउनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ ।

नजिकै पर्सा जिल्लाको ठोरी नाका भएकाले पनि भारतसँगको आयात निर्यातमा सहज हुने र प्रदेश नम्बर ३ का अन्य जिल्लाको आउजाउमा पनि सहज हुने भएकाले चितवन उपयुक्त हो भन्ने तर्फ त्यसक्षेत्रका नागरिकको छ । माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका नेता सुरेन्द्र पाण्डेसम्मको चुनावी थलो चितवन भएकाले पनि यहाँका बासिन्दाको आड भरोसा बढेको हो । 

हेटौंडा  : सांसदलाई होटलदेखि गाडीसम्म सित्तैमा दिने प्रस्ताव

जसरी चितवनमा नै राजधानी बनाउन माग गरिएको छ, त्यस्तै चर्को आवाजमा प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा नै हुनुपर्छ भन्ने अभियान नै चलेको छ ।  हेटौंडा उपमहानगरमा प्रदेश राजधानीको लागि चाहिने सबै संरचना तयार रहेको, हरियाली, पर्याप्त खाली ठाउँ, सुरक्षा निकायको लागि उत्तम ठाउँ, काठमाडौंलगायत प्रदेश नम्बर ३ का अरु क्षेत्रसँग जोड्न राम्रो सडक सञ्जाल रहेकोले हेटौंडा नै राजधानी हुनपर्ने त्यहाँका बासिन्दाको माग छ । 

फाष्ट ट्रयाकको निर्माण सम्पन्न भएपछि १ घन्टामा काठमाडौं पुग्न सकिने, कुलेखानी हेटौंडा मार्गबाट ३ घन्टामा काठमाडौं पुग्न सकिने, निर्माणाधीन काभ्रे, तालवारी, फापरवारी हेटौंडा सडकले रामेछाप, सिन्धुपाल्चोक र दोलखालाई नजिक बनाउने र  सिन्धुली, रामेछाप र दोलखालाई धरान चतरा सडकले काठमाडौं भन्दा  हेटौडा पुग्न सजिलो बनाउने भएकाले राजधानी हेटौंडा नै हुनुपर्ने त्यहाँका बासिन्दाको माग छ । 

अहिले नै २९ वटा क्षेत्रीय कार्यालय र ३ वटा केन्द्रीय कार्यालय हेटौंडामै छन् । खानेपानी, ढल, फोहोरमैला व्यवस्थापनमा पनि हेटौडा अघि छ । धेरै सरकारी जग्गा खाली रहेकाले सरकारी संरचना बनाउन निजी जग्गा अधिग्रहण गर्नुनपर्ने स्थानीयबासिन्दाको भनाई छ । भारतसँगका नाकाहरु नजिक भएकाले आयात निर्यातमा सजिलो हुने पनि उनीहरुको तर्क छ । पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यवस्थित शहर भएकोले पनि ३ नम्बर प्रदेशको राजधानी हेटौडा हुनपर्ने माग छ । सरकारले पनि हेटौडालाई ३ नम्बर प्रदेशको राजधानीको सम्भावित थलोको रुपमा लिएको छ ।

हेटौंडामा राजधानी बनाउने पर्याप्त आधार रहेको बताउनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल । ‘हेटौडा पहिलाको क्षेत्रीय कार्यालयहरु भएको ठाउँ पनि हो, वन, शिक्षा, स्वास्थ्य, सुरक्षा निकाय सबैको सहज पहुँच यहाँ छ,  यहाँ कुनै पनि पूर्वाधारको कमी छैन, त्यसैले हामीले हेटौडा नै राजधानी हुनुपर्छ भन्ने माग गरेका छौं’ जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हेटौडामा प्रादेशिक राजधानी घोषणा भैहाल्यो भने मुख्यमन्त्री, मन्त्री र अन्य प्रमुख बन्ने ठाउँको पनि बन्दोबस्त गरिसकेका छौं ।’

यति मात्रै नभएर मकवानपुरमा त प्रदेश सांसदहरुको ओसारपसार गर्न बासको लागि निजि क्षेत्रले पनि सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् । ‘अर्को व्यवस्था नभएसम्म होटल व्यावसायीहरुले सांसदहरुलाई निःशुल्क आवासको व्यवस्था गर्ने, नारायणी यातायात संघले सांसदहरुलाई ल्याउने लैजाने व्यवस्था गर्नेसम्मका निर्णय भैसकेकाले हेटौडा नै राजधानी हुन्छ भन्नेमा हामी आशावादी छौं’ प्रमुख खुलालले भन्नुभयो ।

काभ्रे : केन्द्रबिन्दुको भर

चितवन र हेटौडासँगै को भन्दा को कम जसरी काभ्रे पनि प्रदेश राजधानी बन्ने पर्खाइमा छ । चितवन, मकवानपुर दोलखादेखि सिन्धुलीसम्मका सबैलाई काभ्रे नै पायक पर्ने भन्दै यहाँका बासिन्दाले राजधानीको माग गरेका छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल र भकुण्डेबेशी लगायतका क्षेत्र राजधानीको लागि उपयुक्त रहेको यहाँका बासिन्दाको तर्क छ ।

काठमाडौंदेखि साँगा भञ्ज्याङ मुनी सुरुङमार्ग बनाउने योजना चलिरहेकोले केन्द्रीय राजधानीसँग दूरी पनि झनै छोटिने, त्रिभुवन विमानस्थलको चाप कम गर्न काभ्रेमा आन्तिरक विमानस्थल निर्माणको तयारी रहेको र व्यवस्थित सहर विकासको योजना सुरु भएकाले काभ्रे राजधानी हुनुपर्ने आवाज उठेको हो । 

प्रदेश ३ का १३ जिल्लामध्ये सिन्धुली, दोलखा, काभ्रे, रामेछाप र सिन्धुपाल्चोक सहित ५ वटा जिल्लाका लागि काभ्रे अहिले नै केन्द्र रहेको र खोपासी–ढुंखर्क–च्याम्राङवेसी हुँदै मकवानपुरसम्मको सडकलाई पिच गर्ने हो भने हेटौंडाका लागि पनि काठमाडौंभन्दा बनेपा नै नजिक पर्ने काभ्रेका नेता कार्यकर्ताको भनाई छ ।

मध्यपहाडी लोकमार्गको काम सकिएपछि धादिङको उत्तरी क्षेत्र तथा रसुवा र नुवाकोटका बासिन्दालाई काठमाडौं उपत्यका पुग्नभन्दा धुलिखेल पुग्न नजिक पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानलाई डाइभर्ट गर्न बनेपाको नागिडाँडामा विमानस्थल निर्माण प्रक्रिया अघि बढेको र काठमाडौंको चापलाई विकेन्द्रित गर्न काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन माग भएको हो । सरकारले बनाएको समितिले पनि प्रदेश नम्बर ३ को सम्भावित राजधानी काभ्रे हुन सक्ने भन्दै अध्ययन गरिरहेको छ ।

नुवाकोट : केरुङ नाकाले काम गर्ला त ?

प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये प्रदेश राजधानीको माग गर्ने जिल्लामा नुवाकोट पनि बलियो जिल्ला हो । ऐतिहासिक महत्व बोकेको जिल्ला नुवाकाटेमा प्रदेश राजधानीको लागि सरकारले तोकेका सबै  मापदण्ड पूरा भएको यहाँका बासिन्दाको दावी छ ।

चितवन, धादिङ, मकवानपुर, काठमाडौं उपत्यकाका ३ जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप दोलखा लगायतका जिल्लाको केन्द्रबिन्दु नुवाकोट भएको, टोखा छहरे मार्गबाट काठमाडौंदेखि नुवाकोटको दूरी जम्मा १५ किलोमिटर भएकोले राजधानी नुवाकोट हुनुपर्ने तर्क उठ्दै आएको छ । यस्तै भूकम्पपछि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ नाका ओहोर दोहोर गर्ने मार्ग, जलविद्युतका सम्भावना लगायतका कारण पनि नुवाकोट नै राजधानी हुनपर्ने माग उठेको हो ।

ललितपुर र भक्तपुरः नागरिकको आवाज कम

छिमेकी जिल्ला काठमाडौं केन्द्रीय राजधानी भए पनि आफूहरु पछाडि परेको भन्दै ललितपुर र भक्तपुरका बासिन्दा पनि प्रदेश नम्बर ३ को राजधानी बन्ने पर्खाइमा छन् । केन्द्रीय राजधानीसँगै जोडिएको जिल्लामा प्रादेशिक राजधानी बनाउँदा सुरक्षा, विकास, पहुँच लगायतका कुरामा थप सुधार आउने र केन्द्रीय राजधानीलाई पनि आड भरोसा हुने भन्दै यहाँका बासिन्दाले राजधानीको दावी गरिरहेका छन् । तर नागरिकले कुनै अभियान, दवामुलक कार्यक्रम भने गरेका छैनन् ।

अरु जिल्ला तात्तिंदा दोलखा, रामेछाप, सिन्धुली,सिन्धुपाल्चोक, धादिङ र रसुवाका पनि आ-आफनै दावी छन् ।संविधानको धारा २ सय ८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ ।

त्यसैले प्रदेशको राजधानी कहाँ हुने भन्ने टुंगो त प्रदेशसभा ले नै टुंग्याउनेछ । तर सरकारले भौतिक पूर्वाधार, यातायात तथा प्रशासकीय सुगमता, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व, सुरक्षाको व्यवस्था लगायतलाई आधार मानेर अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा ‘कतै मेरो जिल्ला पनि प्रादेशिक राजधानी भैहाल्छ कि’  भन्ने आशामा प्रदेश नम्बर ३ का १३ वटै जिल्लाले राजधानीको दावी गरिरहेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया