MENU

राजनीति

ujyaalo forign call inside

किन चाहियो पोखरा मै प्रदेश नम्बर ४ को राजधानी ?

हिमनिधि लौडारी/उज्यालो । 

पोखरा, पुस ११ – क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरिएको कार्यदलले पोखरामा रहेका सरकारी कार्यालयमा नै प्रदेशसभा भवन, मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय तथा निवास व्यवस्थापन गर्ने सूचिसहितको सिफारिस सरकारलाई गरेको छ ।

यसबाट सरकार पक्षले प्रदेश नम्बर ४ को राजधानी पोखरा बनाउने प्रायः निश्चित जस्तै देखिन्छ । यो कसैसँग सल्लाह र छलफल गरेर गरिएको सिफारिस पनि होइन । सरकारी कर्मचारीहरु टेबुलमा बसेर विकास गरिएको सोचको परिणाम हो । काम गरेजस्तो पनि देखिने सजिलो उपाय हो । विश्लेषक तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मी भन्नुहुन्छ ‘मौजुदा कर्मचारीतन्त्रले सजिलो ढंगले, मेहनत गर्न नपर्ने गरी खोजेको सजिलो बाटो मात्रै हो यो ।’ 

परराष्ट्र, रक्षा एवं मौद्रिक नीति बाहेक अन्य सम्पूर्ण शासकीय अधिकार प्रदेश सरकारमा निहीत हुनेगरी स्वायत्त र जनउत्तरदायी प्रदेशको परिकल्पना गरिएको छ । चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरको निर्माण कार्य भैरहेको छ । त्यसैगरी बुढीगण्डकी कारिडोर निर्माणको संभावना छ । पोखरा भीमाद–त्रिवेणी हुँदै भारत जोड्ने द्रुतमार्गमा काम भैरहेको छ । अहिलेकै संरचनामा पनि उप–नगरहरुको निर्माणको अवधारणाहरु अघि बढाइएको छ । 

यसअनुसार राजधानी स्थापनामा पनि नयाँ परिकल्पना हुन जरुरी छ । नयाँ ठाउँको विकास, नयाँ शहरको विकास र नयाँ गतिविधिको विकास । मौजुदा पोखरा सभागृहको भवन, नगर विकास प्रशिक्षण केन्द्र, जिल्ला समन्वय समितिको भवन, अध्यागमन कार्यालय, क्षेत्रीय कृषि तालिम केन्द्र, अन्य क्षेत्रीय कार्यालयहरु राख्ने गरी गरिएको सिफारिसले कुनै दीर्घकालिन सोच राखेको देखिदैछ । मुल्मी थप्नुहुन्छ ‘तुलनात्मक रुपमा पोखरा नेपालको समुन्नत शहर हो । यहाँ राजधानी बन्नु र नबन्नुमा पोखराका लागि त्यति महत्वको विषय होइन ।’

अहिले पोखरामा बस्नेहरुले लेकसाइड, महेन्द्रपुल र बगरसम्मको क्षेत्रलाई मात्रै पोखरा मानेका छन्  । पोखराका पर्यटन व्यवसायी तथा आर्थिक विश्लेषक बासुदेव त्रिपाठी भन्नुहुन्छ ‘बजार क्षेत्र मात्रै होईन महानगर बनिसकेको ४६४ वर्ग किलोमिटर क्षेत्रफल मात्रै पनि पोखरा होइन । यो भन्दा बाहिर पनि ठूलो पोखरा छ ।’ 

पञ्चायतले बनाइदिएका भवनलाई नै प्रादेशिक सरकारका कार्यालय र निवास बनाएर झार टार्ने प्रयास गरिएको छ । पछिल्लो समयमा पोखरालाई महानगरीय संरचनामा लगिसकेपछि महानगरको कार्यालय, वडा कार्यालय र विभागीय कार्यालयहरु स्थापना गर्नको लागि पनि भौतिक संरचननाको अभाव भैरहेको विषयलाई कसैले ध्यान दिएका छैनन् । 

त्रिपाठीको आसय के हो भने बजार क्षेत्रलाई मात्रै पोखरा ठान्ने प्रवृत्ति हाबी भएकोले गलत निर्णय हुने संभावना बढेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको तर्क छ ‘यसअघि सबै कुरा काठमाडौंले खोजेकै कारण अलकापुरी कान्तिपुरी नगरीको उपमा पाएको काठमाडौं रछ्यानपुरीमा परिणत भयो । पोखराले यो कुरा बुझ्नुपर्छ । सबै आफूले खोज्ने होइन । अरुलाई दिन पनि जान्नुपर्छ । यसैमा दीर्घकालीन विकास संभव छ ।’

४ नम्बर प्रदेश आफैमा ग्रेटर पोखरा

प्रदेश नम्बर ४ को प्रमुख विशेषता भनेको पानी हो । नदी र तालतलैया हो । जलाधार क्षेत्र हो । जलाधारसँग मानिसको सभ्यता गाँसिएको छ । विश्व सभ्यतालाई हेर्ने हो भने पानी र जलाधारसँग मानिसको जीवन गाँसिएको छ । पूर्वको बुढीगण्डकी, बीचका मस्याङ्गदी र पश्चिमको कालिगण्डकीसहित सप्तगण्डकी जलाधारका परिपूरक मादी, दराँैदी, चेपे, सेती, मोदीलगायतका नदीहरुको जलाधारले प्रदेश नम्बर ४ को मानव जीवन र सभ्यतालाई बोकेको छ । प्रदेश संरचना र केन्द्रहरु निर्माण गर्दा यसलाई ध्यान दिन जरुरी छ । 

भूगोलको हिसाब मात्रै गर्ने हो भने पोखरालाई यस प्रदेशको केन्द्र मान्न सकिएला तर व्यवस्थित शहर विकासको लागि चाहिने पानी र जलाधारलाई मान्ने हो भने पोखरामो मुख्य जल क्षेत्र फेवाताल लगायतका ताल र सेती नदीको अस्थित्व अहिल्यै संकटमा परिसकेको छ । यो भन्दा बढी जनघनत्वलाई थेग्न सक्ने देखिदैछ । काठमाडौंकै दुर्गति पोखराले नभोग्ला भन्न सकिँदैन ।

अर्काे कुरा नेपालका अग्ला ८ हिमाल मध्ये धौलागिरी, अन्नपूर्ण र मनास्लु ४ नम्बर प्रदेशमा नै परेका छन् । त्यसको साथसाथै माछापुच्छ्रे, निलगिरी, हिमचुली, लमजुङ्ग, गंगापूर्णलगायतका अन्य थुप्रै हिमचुचुराहरु यस प्रदेश भित्रै छन् । त्यहाँको संभावनालाई पनि ध्यान दिन जरुरी छ । आनन्दराज मुल्मीकै शब्दमा भन्ने हो भने सोच र दृष्टिकोणको अवश्यकता छ । ठाउँको कुरा होइन । स्याङ्गजा, पाल्पा, गोर्खा तनहुँ जहाँ राखे पनि हुन्छ तर नागरिकहरुमा सहज पहुँचको माध्यम बनाउन र सहज सेवा प्रवाहमा ध्यान दिनुपर्छ ।

उत्तरमा लमजुङ्गको बेशिशहरबाट सुरु हुने अन्नपूर्ण सर्किटको मुख्य आकर्षण थोरङ्ग र नेपालको महत्वपूर्ण सम्पदा लोमन्थाङ्गदेखि नवलपरासीको त्रिवेणी सुस्तासम्मको भूभाग, पश्चिममा बाग्लुङ्गको ढोरपाटनदेखि पूर्वमा गोर्खाका आरुघाट (बुढीगण्डकी) समम्ममा भूभाग चार नम्बर प्रदेशका निधि हुन् ।

दक्षिणमा देवघाटदेखि उत्तरमा मुक्तिनाथसम्मको धार्मिक तीर्थस्थलहरु छन्  । यी सबैकुरालाई ध्यान दिने हो भने ४ नम्बर प्रदेश आफैंमा एक ग्रेटर पोखरा हो । ४ नम्बर प्रदेशको भूगोललाई बुझ्नेले काठमाडौंमै बसेर हेर्ने हो भने दमौली पनि पोखरै हो । स्याङ्गजा पनि पोखरै हो । बाग्लुङ्ग पनि पोखरै हो । यस क्षेत्रका मान्छेलाई काठमाडौंमा कसैले तिम्रो घर कहाँ हो ? भनेर सोध्यो भने मात्रै पनि सहजै जवाफ दिन्छन्, पोखरा । यस मनोविज्ञानलाई प्रादेशिक राजधानी तोक्ने अख्तियार पाएका व्यक्तिहरुले बुझ्न सकेको देखिँदैछ ।

कहाँ बनाउने त राजधानी ?

माथि भनेजस्तै सिंगो प्रदेशलाई नै ग्रेटर पोखरा मान्ने हो भने प्रदेश नम्बर ४ को राजधानी पोखरा नै हो, तर अहिलेको पोखरा मात्रै पोखरा होइन । अहिलेको पोखरामा पोखरा विश्वविद्यालय, नेपालकै धेरै विद्यार्थी भएको पृथ्वीनारायण कलेज, मणिपाल कलेज, क्षेत्रीय अस्पताल, बन विज्ञान अध्ययन संस्थान, निर्माणाधीन सुविधा सम्पन्न रंगशालाको साथसाथमा, महानगरीय संरचना,  पर्यटन पूर्वाधार र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पोखरालाई आफैमा एउटा हवको रुपमा विकास गरिरहेको छ ।

क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय कनेक्टिभिटीको संभावनालाई अहिलेको पोखराले बोकिसकेको छ । यसलाई ध्यान दिन जरुरी छ । अहिलेको सानो पोखराले अव यो भन्दा बढी जनघनत्वलाई धान्न सक्ने देखिँदैछ । पोखराका पर्यटन व्यवसायी  डम्बर केसीको शब्दमा भन्ने हो भने पोखराको मुख्य बजारलाई मात्रै खोजिएको छ । ग्रेटर पोखराको अवधारण विकास हुनुपर्छ । खैरेनीटार पनि पोखरा हो, पालुङ्गटार पनि पोखरा । रामपुर पनि पोखरै हो ।  अन्य क्षेत्र पनि पोखरा नै हुन् । पोखराको मध्यभागभन्दा छेउछाउलाई ध्यान दिनुपर्छ ।

लमजुङ्गको (भोर्लेटार, सिसाघाट, करापुटार, पोल्याङ्गटार) मिलेर मादी उपत्यका बनेको छ । पर्वत र बाग्लुङ्गको (कुश्मा, बाग्लुङ्ग, वलेवा, ग्याँदी, फलेवास) मिलेर काली–मोदी उपत्यका बनेको छ । तनहुँ,  लमजुङ्ग र गोर्खाको ( राइनासटार, पालुङ्गटार, गाईखुरटार, च्याङ्गलीटार र भानु नगरपालिका मिलेर चेपे मस्याङ्गदी उपत्यका बनेको छ । स्याङ्गजा र पाल्पाको (चापाकोट, रामपुर र पुट्टार) मिलेर कालिगण्डकी उपत्यका बनेको छ । तनहुँको (भीमाद, खैरेनीटार, ढोरफिर्दी) बनेर शुक्लागण्डकी उपत्यका बनेको छ ।

यी सबै भूगोलको आफ्नै किसिमका विशेषता र संभावनाहरु रहेका छन् । आफैंमा पोखराका उप–नगरको रुपमा विकास भैरहेका छन् । भौतिक पूर्वाधार र प्रविधिको जाडाईलाई व्यवस्थित गर्न सकेमा ४ नम्बर प्रदेशको राजधानीलाई कुनै एउटा भवनको कम्पाउण्ड  र टोलमा सीमित नराखीकन भौगोलिक लगायत विभिन्न विशेषता र संभावना बोकेका यी सबै उपत्यकालाई समेटेर स्थापित गर्न जरुरी छ । यो काम गर्न हुन्छ, संभव छ, प्रदेशबासीको हितमा छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया