MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रदेश ७ को राजधानी : पहाडमा राख्ने कि तराईमा ?

नवराज पनेरु/उज्यालो ।

धनगढी, पुस १० प्रदेश नम्वर ७ को राजधानी कहाँ बनाउने भन्ने चर्चा सुरु भएको छ ।

यसअघि सम्भावित राजधानीको रुपमा नाम आएका बिभिन्न ठाउँहरुलाई प्रदेश नम्वर ७ को राजधानी बनाउनुपर्ने बहस सुरु भएको हो । प्रदेश नम्वर ७ का सबै नौ जिल्लाहरुबाट विजयी प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले राजधानी बनाउने विषयमा आ–आफ्नै अडान राखेका छन । स्थानीय तहका जनप्रतिनिधिका पनि राजधानीको विषयमा आफ्नै धारणा छन् ।

प्रदेश नम्बर ७ को राजधानी तराईमा बनाउने कि पहाडमा भन्ने मात्र होइन तराईमा बनाए कैलालीको धनगढी वा अत्तरिया र पहाडमा बनाएमा डडेलधुरा वा दिपायलमा बनाउनुपर्ने माग चर्किंदो छ । हुन त प्रदेशको राजधानी र प्रदेशको नामाकरण प्रदेशसभाको पहिलो बैठकले गर्ने संवैधानिक ब्यवस्था छ । तर, पनि दलका नेता कार्यकर्ता आफूलाई पायक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न लागि परेका छन् । 

बहुमत प्रदेशसभा सदस्य तराईमा

सुदूरपश्चिमका ९ वटा जिल्लाबाट प्रत्यक्षमा ३२ जना प्रदेशसभा सदस्य चयन भएका छन् । समानुपातिकबाट २१ जना छानिँदैछन् । प्रत्यक्षतर्फ ५० प्रतिशत प्रदेशसभा सदस्य कैलाली र कञ्चनपुरबाट छानिएका छन् । जुनसुकै दलका भएपनि उनीहरु सबैको एउटै धारणा छ, प्रदेश राजधानी तराईमा नै हुनुपर्छ । 

तराईमा राजधानी बनेमा कैलालीको धनगढी वा अत्तरियाले प्राथमिकता पाउनेछन् । धनगढी उपमहानगरपालिका भईसकेको र अत्तरियालाई समेत जोडेर महानगरपालिकाको सम्भावना रहेकाले प्रदेश राजधानी कैलालीमै उपयुक्त हुने उनीहरुको तर्क छ ।

कैलालीबाट चुनिएका प्रतिनिधिसभाका ५ जना र प्रदेशसभाका १० जना सांसदले कैलालीमै प्रदेश राजधानी बनाउने एजेण्डा अघि सारेका थिए । त्यसैले उनीहरु धनगढी वा अत्तरियालाई प्रदेशको रााजधानी बनाउनुपर्ने अभियानमा छन् ।

कैलाली र कञ्चनपुरमा लामो समयसम्म थरुहट प्रदेशेको मागसहित आन्दोलन चलेको थियो । थारु समुदायको आफ्नो छुट्टै प्रदेशको माग सम्वोधन नभएकाले उनीहरुलाई ७ नम्बर प्रदेशमा अपनत्वको अनुभव गराउनका लागि पनि कैलालीमा राजधानी हुनुपर्ने तर्क छ ।

धनगढीमा प्रदेश राजधानीका लागि आवश्यक सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले पनि धनगढीबाट राजधानीको माग जोडतोडका साथ उठिरहेको हो । 
प्रदेश नम्वर ७ का सबै ९ वटा जिल्ला जान र आउनका लागि अत्तरिया प्रवेशद्वारको रुपमा रहेकाले अत्तरियालाई नै राजधानी बनाउन संघर्ष समिति नै गठन गरेर दबाबमुलक कार्यक्रम भइरहेका छन् ।

पहाडमा पनि चरणबद्ध आन्दोलन

तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी ७ वटै जिल्लाको मध्यविन्दुमा पर्ने भएकोले अबको प्रदेशको राजधानी डडेल्धुरा बनाउनुपर्ने तर्क पनि कतिपयको छ । नेपाली कांग्रेसका तर्फबाट डडेलधुरामा विजयी प्रदेशसभाका सदस्य कर्ण मल्लले भौगोलिक रुपमा डडेल्धुरा नै मध्यबिन्दु रहेकाले राजधानीका लागि पहिलो प्राथमिकतामा डडेलधुरा पर्नुपर्ने बताउनुभयो ।

यसअघि सम्भावित राजधानी रहने स्थानमा डडेलधुराको नाम नरहे पनि अहिले आएर प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएको नाताले पनि कांग्रेसले डडेलधुरालाई राजधानी बनाउनुपर्ने आवाज उठाएको हो । डडेलधुराका बासिन्दाले पहाडमा राजधानी हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् । 

नेकपा एमालेले यसअघि नै प्रदेश नम्वर ७ को राजधानी अत्तरिया वनाउने निर्णय गरिसकेको छ । तर एमालेकै नेता प्रेम आले मगर भने प्रदेशको राजधानी दिपायल हुनपर्ने भन्दै लागि पर्नुभएको छ । उहाँले विगतको क्षेत्रीय सदरमुकाम भएकाले दिपायल नै प्रदेश राजधानी हुनुपर्ने बताउनुभएको छ । डोटीमा प्रदेश राजधानी दिपायल नभए राजीनामा दिन्छु भनेर डोटीका सांसदहरुले घोषणा पनि गरेका छन् ।

दिपायल राजधानी बनाउनुपर्ने अभियानमा कैलाली र कञ्चनपुरमा बस्ने सेती अञ्चलका बासिन्दाको पनि सहयोग देखिएको छ । बझाङ, बाजुरा, अछामका बासिन्दा पनि डोटीमा सहमत छन् ।

कैलाली र कञ्चनपुरमा पनि ७ नम्वर प्रदेशको मुख्यमन्त्री थारु समुदायबाट हुने र राजधानी दिपायल बनाउने हो भने तराई र पहाडका बासिन्दाबिच सदभाव कायम रहने र यसले संघीयता कार्यान्वयनलाई सजिलो पार्ने चर्चा पनि छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया