MENU

विचार/अनुभूति

रानीपोखरीको इतिहास : विद्यासुन्दर दूरदर्शी बन्दैछन् कि तानाशाह ?

कुमार रञ्जित -

आम जनमानसका साथै बौद्धिकहरुमा समेत भ्रम छ, रानीपोखरी उबेलाका राजा प्रताप मल्लले बनाउन लगाएका हुन् र त्यसैले यो काठमाडौंको मात्रै सम्पदा हो । 

वास्तवमा आजभन्दा ३ सय ४९ वर्षअघि रानीपोखरीको प्रतिष्ठा नेपाल सम्वत् ७९० अर्थात् विक्रम सम्वत् १७२५ आश्विन मासे शुक्लपक्ष सोमबारका दिन हुँदा तत्कालीन राजा प्रताप मल्लले यस पोखरीमा काठमाडौंको मात्रै पानी हाल्न लगाएका थिएनन् । नेपाल देश र यसको सीमाभन्दा बाहिरका पचासौं तीर्थस्थलहरुबाट पवित्र जल बोकाएर ल्याएर संकल्प सहित भर्न लगाएका थिए । यसर्थ रानीपोखरीमा वर्तमान नेपालको पूरै भूभाग र छिमेकी देशको पवित्र तीर्थस्थलको समेत आस्था जोडिएको छ भन्न सकिन्छ ।

इतिहासकारहरुले अत्यन्तै ‘प्रतापी’ भन्ने गरेका प्रताप मल्लले आफ्ना ‘महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्रीश्री जयचक्रवर्तेन्द्र मल्ल देव’ का नाममा बनाउन लगाएको पोखरीमा भारतीय भूमिमा रहेको वाराणसीस्थित गंगा नदीको जलदेखि भक्तपुरको सिपाडोलकोसम्मको जल भरेका थिए । सौभाग्यवश नै भन्नु पर्दछ, यसको प्रमाणका रुपमा रहेको प्रताप मल्लको ‘तीर्थजात्रा’ नामको ऐतिहासिक थ्यासफू अहिले भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा सुरक्षित छ । 

प्रताप मल्ल दूरदर्शी थिए कि तानाशाह ? यसको जवाफ रानीपोखरी र त्यहाँ भरिएको पानीले दिनेछ, जो हाल काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरको कार्यकालसम्म आइपुग्दा सुकेर क्रिकेट मैदान जस्तो देखिन थालेको छ । अब प्रश्न उठ्ने निश्चित छ, विद्या सुन्दर दूरदर्शी छन् कि तानाशाह नै बन्न खोज्दैछन् ? 

सम्पदा संरक्षणको काममा चुस्तताका लागि सर्र्वत्र भक्तपुरका मेयर सुनिल प्रजापतीको प्रशंसा भैरहेका बेला काठमाडौंका मेयर शाक्यको सर्वत्र आलोचना भैरहेको छ । किनभने शाक्य रानीपोखरी पुनर्निर्माणका नाममा नयाँ नै व्यापारिक थलो बनाउँदैछन् भन्ने तर्क प्रवल छ । व्यापार गर्न वा पैसा कमाउन रानीपोखरीलाई काठमाडौं मल जस्तै बनाउन जरुरी छैन, भक्तपुरले जस्तै सम्पदा संरक्षण गरे पनि डलर भित्रिन सक्छ भन्ने हेक्का विद्या सुन्दरमा रहेको देखिएन ।

रानीपोखरीको पुनर्निर्माणका सन्दर्भमा चर्चामा आएका सम्पदाविद, वास्तुकारका साथै स्थानीय सरोकारवालाहरुको अभिमत हेर्दा बुझिन्छ कि उनीहरुको चासो सिमेन्टेड वाल र पानीमा बढी देखिन्छ । ३ सय ४९ वर्षसम्म पानी रहेको रानीपोखरी वरिपरी अहिले कंक्रिट वाल बनाउन थालेपछि त्यसको प्राकृतिक सौन्दर्य फेरि नफर्किने चिन्ता व्याप्त छ, जो स्वाभाविकै हो ।

ऐतिहासिक राजा प्रताप मल्लले रानीपोखरी बनाएर सञ्चालनमा ल्याउँदा त्यसको पवित्रता र महत्व बढाउन देश देशान्तर किन धाउनु परेको थियो ? काठमाडौंमा पानीको अभाव थियो र त्यतिबेला कि उनले बनारसदेखि पानी झिकाउनु पर्‍यो ? यसको जवाफ स्वयम् प्रताप मल्लको थ्यासफूले दिइरहेको छ ।

रानीपोखरीको सम्बन्ध यदि पानी संस्कृतिसित हो भने त्यो मात्रै काठमाडौंको सम्पदा रहने छैन । जसको निर्माणमा वाराणसीको गंगाजलदेखि श्रीवैद्यनाथको गंगाजलसम्म समाहित थियो । र, त्यसका निर्माताको आशय र चाहना पनि त्यही थियो भन्ने बुझ्न विद्यासुन्दर र उनका सल्लाहकारहरुले थ्यासफू ‘तीर्थजात्रा’ पढ्न सकिन्छ । 

थ्यासफूमा उल्लेख छ– १० हजार ६ सय ४१ कु अर्थात् ठूलो भाँडोमा बोकेर ल्याइएको भारी बागमतीको पानी रानीपोखरीमा हालिएको थियो । यसैगरी शंखमूलको जल, श्रीपनतीर्थको संगमको जल, श्रीगण्डकीको जल, श्रीकौशिकीको जल, श्रीसुन्दरी नदीको जल पनि बहाएर हालिएको थियो ।

यसैगरी श्रीनीलकण्ठको जल ६३ भाँडो, विष्णुमतीको जल, श्रीविश्वनाभनको जल, श्रीतेचायको जल,  श्रीवागेश्वरको जल, श्री मनमतीको जल, श्रीशंखदहको जल, श्रीकायलयको जल, श्रीबागमतीनाभको जल, श्रीसपनतीर्थ (टोखा) को जल, श्रीकोमतीको जल, श्रीङाम्हुतुको जल, श्रील्हुति (बालाजु) को जल, श्रीत्याङाको जल, श्रीमंशिरको जल, श्रीथयपिको जल, सप्तकौसिकिको जल, श्रीतवदहको जल, श्रीक्वदुवाल (कटुवाल दह) को जल, श्रीमातातीर्थको जल, श्रीइन्द्रदहको जल, श्रीगोकण्र्णको जल, श्रीज्ञानवापिको जल, श्रीपशुकुण्डको जल, श्रीसिताकुण्डको जल, श्रीतेषुहोको जल, श्रीहनुमन्तघातको जल, श्रीगोलेहितिदहको जल, श्रीज्वालामुखीको जल, श्रीमुक्तिक्षेत्रको जल, श्रीकालिगण्डकीको जल, श्रीसरजुगङ्गाको जल, श्रीमालिकाको जल, श्रीपातालगङ्गाको जल, श्रीपिरग, गङ्गा, जमुना, सरस्वती त्रिवेनीको जल, श्रीकमरेश्वरीको जल, श्रीसप्तगण्डकीको जल, श्रीवराहक्षेत्रको जल, श्रीगङ्गासागरको जल, श्रीसमुद्रको जल, श्रीअनन्तलिङ्गको जल, श्रीशिपाडोलको जल आदि उल्लेखित छन् । यसमा उल्लेखित कतिपय तीर्थस्थलका नाम अहिले प्रचलनमा समेत रहेको पाइँदैन । 

चुनावअघि उज्यालो अनलाइनको विशेष सम्पादकीयको एउटा लाइन चर्चित थियो– चुनावका बेला सोच विचार नै नगरी मत खसाल्ने र अर्को पाँच वर्ष आफैले मतदान गरेका नेतालाई गाली गरेर समय खेर फाल्ने छुट अब नेपाली नागरिकलाई छैन । काठमाडौं नागरिक यतिबेला जागरुक छन् । विद्यासुन्दर शाक्यका मामिलामा नागरिकले भन्ने अवस्था नआओस् कि हामीले सोचविचार नै नगरी मत हाल्यौं, अब पाँचवर्ष आफैले मत हालेका नेतालाई गाली गर्नु परिरहेको छ ।

जनमानसमा यत्रो विरोधपछि विद्यासुन्दरले चाहेका भए रानीपोखरीको ठेक्का रद्द गर्न सक्थे, तर निर्णय क्षमता उनले अरु नै कसैलाई सुम्पेको जस्तो देखियो ।

हेक्का रहोस् कि काठमाडौंवासीको मात्रै होइन – रानीपोखरी । जसको ऐतिहासिकता, सुन्दरता र सांस्कृतिक महत्ता जोकसैले जान्न बुझ्न सक्छन् । यदि त्यसो भएन भने अब भन्ने निश्चित छ, विद्यासुन्दर दूरदर्शी होइनन् तानाशाह नै बन्न खोज्दैछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया