MENU

समाज

ओखलढुंगामा पुनर्निर्माण सुस्त

ओखलढुंगा, पुस १३ – ओखलढुंगाको पुनर्निर्माण सुस्त देखिएको छ । भूकम्प गएको झण्डै तीन वर्ष बित्न लागे पनि व्यक्तिगत आवाश निर्माणको कामले गति पाउन सकेको छैन । पहिलो किस्ताको अनुदान सम्झौतामा उत्कृष्ट भएको ओखलढुंगा त्यस यताका गतिविधि भने सुस्त छन् । 

चुनाव लगायतका कारणले काम अघि बढ्न नसकेको बताए पनि प्राविधिक गाउँ नबस्दा र प्रयाप्त जनशक्ति नहुँदा समस्या भएको स्थानीय तहका प्रमुखले गुनासो गरेका छन् ।

प्राविधिकहरु हाजिरि प्रमाणित गराउन मात्र वडा कार्यालय जाने र जनताले खोज्दा नभेटिने गरेको खिजीदेम्वा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कमल न्यौपानेले बताउनुभयो । ओखलढुंगामा अहिलेसम्म ३ हजार ९ सय ७७ व्यक्तिगत घर निमार्ण सम्पन्न भएका छन् । भुकम्पछि पहिचान भएका लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भए पनि १८ हजार ८ सय ७२ परिवारले मात्रै अनुदान सम्झौता गरेका थिए । 

सम्झौता भएकामध्ये १८ हजार ८ सय ५९ घरले पहिलो किस्ता लिइसकेका छन् भने ५ हजार ६ सय ६७ घरले दोस्रो किस्ता पाइसकेका छन् । त्यस्तै तेस्रो किस्ता पाउनेको संख्या २ हजार १ सय २६ घर लाभग्राही रहेको राष्ट्रिय पुनर्निर्माण जिल्ला समन्वय समिति ओखलढुंगाले जनाएको छ ।

पहिलो किस्ता लिएर पनि घर बनाउन नथालेका धेरै परिवार रहेका छन् । जनशक्ति, काठ, निर्माणका अन्य सामग्री अभाव भएर समस्या भएको लाभग्राहीको गुनासो छ । पहिलो किस्ता सहज पाएकाहरुले पनि दोस्रो र तेस्रो किस्ता लिन नक्सा पास, मापदण्ड लगायतका प्रकृयाका कारण लिन सकिरहेका छैनन् । 

अहिले ९ हजार २ सय ६१ घर निर्माणाधिन रहेका छन् । त्यस्तै भुकम्पमा परेर क्षति भएका घरहरु लाभग्राहीको सूचिमा नपरेको भन्दै गुनासो पनि उत्तिकै संख्यामा रहेको छ । केन्द्रीय गुनासो सुनुवाई समितिमा ६ हजार ४ सय ३७ जनाको गुनासो दर्ता भएका छन् । ति मध्ये ५ हजार ६ सय ४७ गुनासाहरुको भने सर्वेक्षण भैसकेको छ ।

स्थानीय तह कार्यन्वयनमा  आएपछि पनि उत्तिकै मात्रामा गुनासाहरु आएका छन् । गाउँपालिका तथा नगरपालिकामा ८ हजार भन्दा बढी नयाँ गुनासा दर्ता भएका छन् । दर्ता भएका गुनासा सुनुवाई नभएको प्रभावितको गुनासो छ । पहिलो किस्ता पाएकाहरुले पनि दोस्रो किस्ता पाउन नसक्दा घर निर्माण गर्न सकिरहेका छैनन् । घर निर्माण गर्न नसक्दा पुसको चिसोमा अस्थायी टहरामा बस्न भूकम्प प्रभावित बाध्य भएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया