MENU

मनोरञ्जन

ujyaalo forign call inside

माग्ने बुढा र सीताको प्रेम : बिहेको कुरा आउँदा भागभाग

काठमाडौं, पुस १३ – कलाकार केदार घिमिरे (माग्ने बुढा) र सीता घिमिरेको विवाह भएको झन्डै दुई दशक भएको छ । २०५६ फागुन महिनामा विवाह बन्धनमा बाँधिएको यो जोडीले अहिलेसम्मको  यात्रामा आएका हरेक उतार चढावमा एक अर्कालाई साथ र सहयोग दिएका छन् ।

यो जोडी अहिले एउटै क्षेत्र कलाकारितामा छन् । मागी विवाह गरेका उनीहरुको विवाह पछिको प्रेम सधैँ नै गाढा बनेर रहेको छ । दुई सन्तानका अभिभावक बनिसक्दा पनि आफूहरुको प्रेममा कहिल्यै कमि नआएको उनीहरु बताउँछन् । बरु सन्तान भइसकेपछि, उनीहरुको जिम्मेवारी थपिने र त्यसले माया बढ्ने तर देखाउन भने कम हुने उनीहरुको भनाई छ । आज हामीले यहि जोडीसँगको विवाह प्रसंगलाई प्रस्तुत गरेका छौँ । 

पहिलो भेट र विवाहको निर्णय

केदार– हाम्रो देखादेख त धेरै पटक भयो होला । तर वास्ता गरागर त अलि पछि नै भयो ।  हामी एउटै स्कूलमा पढेको हो ।  त्यसकारण सानोमा धेरै पटक देखियो होला तर  वास्ता गरिएन । हाम्रो पढाईको स्तरपनि एउटै जस्तो हो । म सातमा पढ्दा उनी एकमा पढ्थिन्,(हाँसो) । त्यो पनि रे भनेर सुनेको मलाई त थाहा छैन । हामीले एक अर्कालाई स्कुलमा चिनिसकेका थिएनौँ । म चाहिँ स्कुलको हिरो थिएँ (हाँसो)। कविता प्रतियोगिताहरुमा भागलिने अनि प्रथम भईरहने  गर्थेँ । त्यसकारण धेरैले मलाई चिन्नु पनि हुन्थ्यो । तर उनी त्यस्तो केही थिईनन् । यहि भएर उनले मलाई नचिनेको जस्तो गरेको हो ।

सीता– उहाँले मलाई केही पनि थिइनन्  भन्नु भयो तर म चाहिँ प्रथम विद्यार्थी थिएँ । कक्षामा म सधैँ फस्ट हुन्थेँ । तर उहाँ पढाईमा त्यस्तै–त्यस्तै हुनुहुन्थ्यो ।  कवितामा चाहिँ फस्ट हो ।  कक्षा धेरै फरक भएका कारण खासै वास्ता गर्न पाईन । अनि फेरि जुनियर र सिनियरको कविता वाचन कार्यक्रम पनि फरक–फरक समयमा हुने भएका कारण हाम्रो भेट पनि भएन । 

केदार–उनको घरको माथिल्लो पट्टीको घर चाहिँ मेरो आफन्तको घर थियो । उनको पनि आफन्त नै हुनुहुन्थ्यो उहाँ । हाम्रो दोहोरो नाता थियो त्यो घरमा । अनि म एकपटक तिहारमा टीका लगाउन पुगेको थिएँ त्यहाँ । मेरा आफ्ना दिदी बहिनी छैनन् । अनि त्यहाँ दिदीकोमा टीका लगाउनको लागि गएको थिएँ म । अनि तिहारको समय गोठमा तास खेलियो । त्यहाँ मैले सबैलाई टाट पल्टाएर हराएको थिएँ । पछि म आएँ । अनि उनको बुवाले चाहिँ आफ्नो छोरीको विवाह गर्ने बेला भयो भनेर महादेवसँग वर माग्नु भएछ (हाँसो) । अनि अब अलिकति पढेलेखेको पनि चाहियो । अनिको त ? भन्दा मेरो नामआएछ । अनि मलाई चाहिँ उहाँहरुले कसरी सम्झिनु भएछ भने तिहारमा टाट पल्टाएर खाने भनेर (हाँसो) । अनि तास खेल्दा मैले ससुराकै पैसा खाई दिएको रहेछु । त्यति बेला चिनजान पनि थिएन । थाहै भएन ।

अनि पछि त्यहिँ आफन्तको घरमा भाइको विवाह हुने भयो ।  जुन घरमा हामी तास खेलेका थियौँ ।  अनि त्यो विवाहमा गईयो । अनि त्यो विवाहमा जाँदा चाहिँ बिहेको कुरा आएकी केटी त्यहि हो भनेर मलाई देखाइदिनुभयो । हाम्रो देखादेख भयो । अनि उनी टपरीमा कसार ससार के–के बाँड्दै हिँडेकी थिइन् ।

सीता–मलाई पनि उहाँ आउनु भएको छ भनेर दाइहरुले जिस्क्याई रहनु भएको थियो । अनि मलाई चाहिँ यहि हो केटा भन्ने थाहा थिएन । अनि बेलुका त्यत्तिकै भयो थाहा भएन । म नजिकै घर भएका कारण सुत्न गईहालेँ । अनि बिहानचाहिँ दाईलाई मेकअप गरिदिनु प¥यो आइज त नानी भनेर अर्को दाईले बोलाउनु भयो । अनि मेकअप गर्दागर्दै बत्ति गयो । उहाँले चाहिँ लाइट देखाउनु भएको रहेछ ।

मलाई फेरि विवाहको कुरा चलेको केटा उहाँ नै हो भन्ने थाहा थिएन । म आफ्नो हिसाबले काम गरिरहेको थिएँ । अनि मैले दाइको मेकअप सकाएर तेल लगाईदिने क्रममा उहाँले चाहिँ त्यहि घरको भाउजुलाई मलाई नि तेल लगाइदिनु न भन्नुभयो । भाउजुको नाम पनि सीता नै थियो । अनि भाउजुले चाहिँ अब मलाई हैन सीतालाई भनेनी हुन्छ भनेर जिस्क्याउनु भयो । अनि त्यसपछि यहि रहेछ बिहेको कुरा आएको मान्छे भनेर म त छोडेर भागेँ । अनि पछि अन्माए पछि मात्रै गएँ । म त उहाँको वरिपरी नै परिन ।

केदार–अनि पछि हामी जन्त गयौँ । अनि कस्तो भने त्यो जन्तबाट फर्केपछि मैले हुन्छ वा हुँदैन भनेर जवाफ दिनु पर्ने थियो । अनि म पनि उता नगएर जन्त गएकै ठाउँबाट भागेँ । खासमा विवाहको लागि मेरा एक दुईवटा प्राथमिकताहरु थिए । म दुःखमा हुर्केको मान्छे । जेठी छोरी होस् भन्ने थियो । किनभने उसले घरको सुख दुखव्यवहार सबै देखेको बुझेको हुन्छ । अनि फेरि उनीसँग त मेरो धेरै कुरा नै हुनपाएन । कुरा नै नभएपछि मैले किन हुन्छ भन्ने किन हुन्न भन्ने नै थाहा भएन । म त दोधारमा परेँ ।  अनि हतारमा निर्णय लिँदा राम्रो हुँदैन होला जस्तो पनि लाग्यो । अनि उतैबाट भागेर काठमाडाैं आएँ । पछि अरुले फेरि एकपटक कुरा गरौँ न त भन्नु भयो ।

अनि कुरा गर्न गइयो । मेरो फेरि कोर्ट म्यारिज गर्ने सपनाथियो । अनि मैले कोर्ट म्यारिज गर्ने भए हुन्छ भनेर भनेँ । तर विवाहचाहिँ रमाईलो सँगै भयो । खासमा कानुन पढेकाकारण त्यो एउटा रहर बनेर आएको थियो मेरो । अनि अर्को कुरा बाजा बजाएर विवाह गर्नलाई पैसा पनि थिएन । अनिकोर्ट म्यारिज गर्यो सजिलो  हुन्छ भन्ने थियो मनमा ।

सीता–उहाँहरु फेरि कुरा गर्न जाँदा हाम्रो बेलुका कुरा भएको थियो । कुरा गर्दै जाँदा उहाँको सबै कुराहरु मलाई मन पर्यो । उहाँका कुराहरुले मलाई छोयो । उहाँले झुठा सपना मलाई देखाउनु भएन । वास्तविकता जे हो त्यहि भन्नु भयो ।  अनिउहाँका कुरा सुनेपछि यस्तो केटालाई मैले नाई भन्नमिल्दैन भन्ने लाग्यो ।

विवाह पक्का हुँदाको पल

केदार–विवाह हुने पक्का भइसकेपछिको पलविशेष हुने रहेछ । पक्का भईसकेपछि त ऊ पनि आफ्नै मान्छे भन्ने भयो । दुईटा मन एउटै भएको महसुस हुने रहेछ । अनि दुईटा ज्यानपनि एउटै भएको महसुस भयो मलाई त । अनि खानाखाने बेलामा पनि उसले खायो कि खाएन होला ? भन्ने हुने । अनि जाडो भयो भने पनि उसलाई पनि जाडो भइरहेको होला यतिखेर भन्ने हुने (हाँसो) ।

सीता–मलाई त्यस्तो त खासै केही पनि लागेन ।  तर नयाँ घर कस्तो होला ? के होला ? भन्ने भयो । अनि उहाँलाई मात्र देखेको थिएँ । परिवारलाई चिनेको थिइन् । पछि के होला ? भन्ने चिन्ताहुन्थ्यो ।

सीताको गृह प्रवेशको पल

विवाह पछि गृह प्रवेश गर्दा त अलिकति डर थियो । म माथि केही अभिभारा थपियो । अब म नयाँ घरको नयाँ संस्कार अनुसार चल्नु पर्छ भन्ने मन भयो । यसका साथै बाबा ममीको इज्जतलाई पनि राख्नु पर्छ भन्ने भएको थियो ।

केदार पहिलो पटक ससुराली जाँदाको पल

केदार–पहिलो पटक ससुराली जाँदा नाच्दै नाच्दै गईयो (हाँसो) । साथीहरुले पहिलो पटक ससुराली जाँदा धेरै खानु हुँदैन भनेर जिस्क्याउँथे । धेरै खायो भने खन्चुवा रहेछ भन्छन्, ठिक्क खानुपर्छ भनेका थिए । मलाई पनि यस्तै लाग्यो । अनि कोर्ट लगाएर एउटै पोजमा बस्ने म त । हल्लेपछि, यताउता गरेपछि कोट बिग्रिन्छ भनेर (हाँसो) ।

अनि उनको ठूलो बुवाकोमा जाँदा खेरि चाहि  के भएको थियो भने जाडो महिना थियो । त्यहाँ घ्यु खान दिनु भयो त्यो पनि कचौरामा हालेर । कचौरामा राखेको घ्यु झर्दै झरेन । जमेर  बसेको रहेछ । धरै पटकको प्रयासमा नझरेपछि माथिबाट अर्को हातले ट्याङ्ग हान्देको उछिट्टेर भुईँमा खस्यो ।

पहिलो पटक गाको अब त्यस्तो भयो । अनि यसो यताउता हेरेको कसैले पनि देखेको रहेनछ । अनि मेरो पालो त्यसलाई मिलाएर लुकाएर राखेँ । यता भातमा चाहिँ घ्यु मुछेको जस्तो गरेँ । अनि खानाखाई सकेपछि त्यो घ्युलाई बाहिर लगेर टक्क फालेँ । तर त्यसरी फाल्दामलाई साह्रै नमज्जा लाग्यो ।

- उज्यालो र गफगाफ डट कमको सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया