MENU

राजनीति

​एमालेले अडान छाड्ने भएपछि नयाँ सरकार गठनको बाटो खुल्दै

काठमाडाै‌ं, पुस १४- राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा दलहरु सहमति नजिक पुगेका छन् ।

राष्ट्रियसभा गठनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा विवाद हुँदा मतगणना सकिएको दुई हप्ताभन्दा बढी भैसक्दासमेत सबै राजनीतिक र संवैधानक प्रक्रिया अवरुद्ध हुँदै आएको छ । तीनवटै विषयलाई प्याकेजमै सहमति गरेर राजनीतिक गाँठो फुकाउन ठूला दल तयार देखिएका छन् ।

पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै सत्ता हस्तान्तरण प्रक्रिया सहज बनाउन एमाले, कांग्रेस र माओवादीले छलफल तीव्र बनाएका हुन् । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश दलीय विवादका कारण राष्ट्रपति कार्यालयमा अड्किँदा प्रतिनिधिसभाले समेत पूर्णता पाएको छैन भने प्रतिनिधिसभाको पूर्णताको अभावमा नयाँ सरकार गठन प्रक्रिया नै प्रभावित हुँदै आएको छ । तर यी विवाद हल गर्न दलहरु तत्पर देखिएका छन् ।

बहुमतीय प्रणालीबाट राष्ट्रियसभा चुनावको अडानमा रहेको एमाले एकल संक्रमणीयमा जान तयार भएको छ । एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया रोक्न खोजेको भन्दै एमाले आफ्नो अडानबाट पछि हट्न लागेको हो ।

एमाले आफ्नो अडानबाट पछि हट्ने संकेत देखिएपछि सरकारले पनि प्रदेश प्रमुख र अस्थायी राजधानी सहमतिमै तोक्ने निष्कर्षमा पुगेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेपनि प्याकेजमै सहमति खोज्ने टुंगोमा पुगेको हो ।

‘एकल संक्रमणीय निर्वाचन प्रणालीबाटै राष्ट्रियसभा गठन हुन्छ र अरु विषयमा पनि दलहरुबिच सहमति हुन्छ’ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले भन्नुभयो, ‘सोमबारसम्ममा सबै विषय प्याकेजमै टुंगो लगाउने तयारी छ ।’

एमाले पनि जनमतअनुसार सत्ता हस्तान्तरणलाई सहज बनाउन राष्ट्रियसभा गठन, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय नेपाली कांग्रेससँग प्याकेजमै टुंग्याउन तयार भएको हो ।

चुनावको परिणाम आइसक्दा समेत विवादमा अल्झेका दलहरुले प्याकेज सहमतिका लागि गरेको प्रयासले राजनीतिक निकासको आधार तयार पारेको छ । यसबाट अध्यादेश टुंग्याउन राष्ट्रपतिलाई पनि सजिलो हुनेछ भने निर्वाचन आयोगले चुनावको सबै परिणाम सार्बजनिक गरेर नयाँ सरकार गठनको प्रक्रिया थाल्न पनि सहज हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया