MENU

बातावरण-कृषि

चिडियाखानामा ८३९ वटा जनावर, सिंह र जेब्रा हेर्न नपाइने

कमल साउद / उज्यालो ।

काठमाडौं, पुस १४ – धेरै वर्षअघि चिडियाखानामा सिंह र जेब्रा पनि देख्न पाइन्थ्यो । तर अहिले यी जनावर चिडियाखानामा हेर्न पाईंदैन । १ सय १४ प्रजातिका ८३९ वटा जीवजन्तु अटेको ठाउँमा सिंह र जेब्रा लगायतका जनावर ल्याएर राख्ने ठाउँ पनि छैन ।

‘यी जनावर विदेशबाट ल्याउनुपर्छ, ल्याउन सकियो भने पनि राख्ने ठाउँ छैन’ चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले उज्यालोसँग भन्नुभयो, ‘सूर्यविनायकमा ठूलो चिडियाखाना बनेपछि ल्याउन सकियो भने मात्र, नत्र गाह्रो छ ।’

वि.सं. १९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले नीजि प्रयोजनको लागि खोलेको सदर चिडियाखाना स्थापनाको ८५ वर्ष भैसकेको छ । २००७ सालकोे राजनीतिक परिवर्तनपछि नेपाल सरकारको स्वामित्वमा आएको चिडियाखाना २०११ सालदेखि सबैका लागि खुल्ला गरियो ।

नेपाल सरकारको स्वामित्वमा आएपछि चिडियाखानामा वन्यजन्तु तथा चराचुरुङ्गी थपिंदै गए । नेपाल सरकारले विसं २०५२ सालमा सदर चिडियाखानाको संरक्षण र व्यवस्थापनको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । कोषले हरेक वर्ष पुस १४ गते चिडियाखानाको वार्षिकोत्सव मनाउँदै आएको छ । 

चिडियाखानाकी रचना शाहले भन्नुभयो, ‘प्रकृति संरक्षण कोषले संरक्षणको जिम्मा लिएपछि चिडियाखानाको व्यवस्थापनमा धेरै कुरामा परिवर्तन ल्याइसकेका छौँ ।’ सुरुमा संरक्षण शिक्षामा पहल गर्दै आइरहेको कोषले पछि वन्यजन्तु तथा चराचुरुङ्गीको खोर तथा बासस्थानमा समेत परिवर्तन ल्याएको छ । 

चिडियाखानाभित्र अवलोकन गर्न आउनेहरुका लागि भित्र घुम्न सजिलो होस भनेर राम्रो बाटो निर्माण गरिनुका साथै सजिलै जनावर अवलोकन गर्न उपयुक्त किसिमका खोरहरुसमेत ल्याएको शाहले बताउनुभयो । शाहले भन्नुभयो, ‘चिडियाखानामा अवलोकन गर्न आउने बृद्ध बृद्धाहरु तथा अपांगता भएकाहरुका लागि समेत ध्यानमा राखेर बाटो निर्माण गरिएको छ ।’ 

चिडियाखानामा भौतिक पूर्वाधारको विकास भैरहेपनि जीवजन्तु भने पर्याप्त मात्रामा अझै देख्न पाइंदैन । हाल ११४ प्रजातिका जीवजन्तु प्रदर्शनमा राखिएको चिडियाखानाले जनाएको छ । 

पर्याप्त ठाउँको अभाव

सदर चिडियाखाना ६ हेक्टर (१ सय १८ रोपनी) क्षेत्रफलमा फैलिएको छ । यो चिडियाखानाको लागि पर्याप्त छैन ।

अन्य जीवजन्तु राख्नका लागि अझै ठाउँ नपुग्ने भएकाले अन्यजीवजन्तु ल्याउन समस्या छ । पर्याप्त ठाउँको अभावका कारण नेपालमा नपाइने जेब्रा, सिंह जस्ता ल्याउन नसकिएको चिडियाखानाले जनाएको छ ।

सूर्यविनायकमा नयाँ चिडियाखाना बनाईंदै 

नेपाल सरकारको योजनाअनुसार भक्तपुरको सूर्यविनायकमा २ सय ४५ हेक्टर जमिनमा चिडियाखाना बनाउने निर्णय यसअघि नै भएको छ । यहाँबाट चिडियाखाना सार्दा ठूला स्तनधारी जनावरहरु (बाघ, भालु, गैंडालगायतका) लाई सार्ने तयारी छ ।

ठूला स्तनधारी जीवजन्तुलाई सारेपछि यो चिडियाखानालाई एडुकेशन रिक्रियशन सेन्टरको रुपमा सञ्चालन गर्ने तयारी भइरहेको  शाहले जानकारी दिनुभयो । तर सूर्य विनायकमा कहिलेसम्म चिडियाखाना बनिसक्छ भन्ने टुंगो छैन ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया