MENU

विचार/अनुभूति

​प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड : प्रधानमन्त्री प्रचण्ड, पार्टी अध्यक्ष ओली !

-मिलन तिमिल्सिना 

काठमाडौं, पुस १४ –ढिलोचाँडो एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । 

चुनावी नतिजाले नै दुई पार्टीलाई एकतामा बाँधिसकेकाले यसबाट पछाडि हट्ने अवस्था अब छैन । जुन तथ्यलाई दुवै दलका नेताहरुले स्वीकार गर्दै आएका छन् । अर्थात पार्टी एकता गर्न दुवै दलका नेता, कार्यकर्ता आतुर छन् । तर एकतापछि पार्टी अध्यक्ष को बन्ने तथा वैचारिक र सांगठनिक संरचनालाई कसरी मिलाउने भन्ने विषय टुंगोमा नपुग्दा नेता कार्यकर्तामा उत्तिकै अन्यौल पनि छ ।

अन्योल बढ्दै जाँदा अनेकथरी आशंका पनि जन्मिरहेका छन् । दुई पार्टी एक हुन्छन् र चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार देशमा आर्थिक समृद्धिको बाटो खुल्छ भन्ने आशमा वामपन्थीलाई बहुमत दिएका मतदाता निराश छन् । कतै दुई पार्टी नमिल्ने हुन् कि, फेरि अस्थिर सरकार बन्ने हो कि भन्ने डर उनीहरुमा छ । 

तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको पछिल्लो भेटले आशंका केही हदसम्म कम गरेको छ । 

दुई शीर्ष नेताबीचको छलफलपछि नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्न नेताहरु कसरतमा जुटेका छन् । ओली र प्रचण्डमध्ये एकलाई अध्यक्ष बनाउने या दुवैलाई सहअध्यक्ष बनाएर महाधिवेशनबाट टुंग्याउने भन्ने विषयमा बहस भैरहेको छ । 

ओली प्रधानमन्त्री भएमा प्रचण्डलाई स्वतः अध्यक्ष बनाउनुपर्छ भन्ने मत बलियो भए पनि एमालेका कतिपय नेताहरु यसको विपक्षमा छन् । यसले पार्टी एकताको खाका तयार हुन अझै ढिलो हुने देखिएको छ ।

प्रचण्डलाई अध्यक्ष मान्न किन अप्ठेरो ?

एमाले र माओवादी मिलेर नयाँ सरकार बन्ने, अनि नयाँ सरकारको नेतृत्व ओलीले गर्ने लगभग पक्का जस्तै भैसकेको छ । सरकारको नेतृत्व गर्ने बित्तिकै नागरिकको आशाअनुसार काम थाल्ने ओलीले योजना पनि बनाइसक्नुभएको छ । ओलीलाई अघि सार्न माओवादी पनि तयार छ । 

तर ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी लचिलो भएजस्तो प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन एमाले लचिलो भैसकेको छैन । पार्टी एकताको प्रक्रियाले गति लिन नसक्नुको मुख्य कारण यही हो ।

माओवादी भन्दा ठूलो र संगठन बलियो भएको पार्टी भएकाले प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नै हुनुपर्छ भन्ने तर्क एमालेका लागि स्वभाविक होला । तर एमालेसँग एकता गर्न लागेको माओवादी र दुई पार्टी एक भएको हेर्न चाहेका स्वतन्त्र नागरिकका लागि भने यो तर्क सुहाउने कुरा होइन । 

किनकी चुनावी नतिजाबाटै थाहा हुन्छ, मतदाताले एमाले र माओवादीलाई मिलेर अघि बढ्न भनेका हुन् । एमाले एक्लैको बहुमत छैन, माओवादी या अर्को पार्टीसँग नमिल्दासम्म एमालेले सरकार चलाउन सक्दैन । मतदाताले अरु पार्टीसँग होइन, माओवादीसँग नै मिलेर सरकार चलाउन भनेका हुन्, त्यो पनि पार्टी एकता गरेर ।

दुई ठूला पार्टीबीच एकता हुँदा लेनदेनमा दुवै उदार हुन जरुरी हुन्छ । दुवैले केही पाएको जस्तो अनुभूति भयो भने मात्रै त्यो एकता बलियो र टिकाउ हुन्छ । एमाले बलियो र माओवादी कमजोर भएको जस्तो गरी पार्टी एकता भएमा यसले स्थिर सरकार बन्छ भन्ने आम नागरिकको आशा निराशामा बदलिन सक्छ । 

त्यसैले प्रधानमन्त्री ओली हुँदा प्रचण्डलाई अध्यक्ष बनाउन एमालेले आनाकानी गर्न हुँदैन । एमालेका केही नेता र कार्यकर्ता अहिले पनि प्रचण्डलाई पार्टी अध्यक्ष स्वीकार गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा नै छन् ।

प्रधानमन्त्री चाहिँ आलोपालो हुने कि नहुने ?

गएको असोजमा दसैंको टीकालगत्तै अकस्मात बाहिर आएको एमाले र माओवादीबीचको एकता प्रयास दुवै दलका धेरै नेतालाई थाहा थिएन । मिलेर चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने सहमति बलियो भएपछि मात्र एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले यसबारे आआफ्नो पार्टीमा बिफ्रिङ गरेका थिए । 

दुई अध्यक्षबीच भएको सम्झौताको तेस्रो बुँदामा ‘चुनावपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख थियो । तर पार्टी एकताबारे घोषणा गर्ने बेला त्यो बुँदा सार्वजनिक भएन । यो बुँदा सार्वजनिक नहुँदा सरकारको नेतृत्व आलोपालो हुन्छ या हुँदैन भन्नेमा दुवै दलका नेताहरु प्रष्ट छैनन् । तर प्रचण्डले सरकारको नेतृत्व आलोपालो हुने प्रष्ट पारिसक्नुभएको छ ।

प्रचण्ड र माओवादीका अरु नेताहरुको भनाई अनुसार ओलीले अढाई वर्ष मात्रै सरकार चलाउने हो । त्यसपछि प्रचण्डको पालो आउँछ । अर्थात पहिले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष, त्यसपछि प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष हुनेगरी सहमति भएको हो ।

यदि सरकार आलोपालो गरेर चलाउने हो भने यसलाई कसरी स्थिर भन्ने ? चुनावपछि स्थिर सरकार बन्छ र देश समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आमनागरिकको चाहनामा ठेस लाग्ने भयो नि ? भन्ने प्रश्न र चिन्ता धेरैले गर्न थालेका छन् । 

तर बुझ्नुपर्ने कुरा के हो भने दुई पार्टी एक हुने हो भने प्रधानमन्त्री जे जसरी मिलाउँदा पनि फरक पर्दैन । एमाले र माओवादीले सरकार चलाउँदा चुनावको बेला सार्वजनिक गरिएको घोषणापत्र अनुसार काम हुने हो । 

संयुक्त घोषणापत्रमा नयाँ सरकारले के के गर्छ र देश आर्थिक समृद्धिको बाटोमा कसरी अघि बढ्छ भन्ने सबै कुरा लेखिएका छन् । घोषणापत्रमा समावेश यी योजना र प्रतिबद्धता ओली र प्रचण्ड दुवैको हो । 

प्रधानमन्त्री भैसकेपछि व्यक्तिगत रुपमा अरु योजना र भिजन पनि बन्लान् । तर यसलाई लागू गर्ने बेलामा त पार्टीभित्र आवश्यक छलफल हुन्छ । अनि पहिले ओली र त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएको बेला हुने काममा फरक पर्ला जस्तो लाग्दैन । 

अर्थात पार्टी एक भैसकेपछि सुरुको अढाई वर्ष ओली र त्यसपछिको अढाई वर्ष प्रचण्डले आलोपालो गरेर सरकार चलाउँदा त्यसलाई अस्थिर भन्न मिल्दैन । एउटै पार्टीले सहमतिअनुसार प्रधानमन्त्री आलोपालो गर्दा अहिले चिन्ता गरेजस्तो अस्थिरता आउँछ भन्ने हुँदैन ।

हो, पहिले एउटा पार्टी र त्यसपछि अर्को पार्टीको नेतृत्व हुँदा सरकार अस्थिर हुन्छ । तर पार्टी एउटै भएपछि त्यही पार्टीको योजना र चुनावी घोषणापत्र अनुसार सरकार सञ्चालन हुन्छ भने व्यक्ति फेरिंदैमा अस्थिर कसरी हुन्छ ?

दुई पार्टीबीच इमान्दारीपूर्वक एकता हुने र जनभावना अनुसार अघि बढ्ने हो भने ओली र प्रचण्डले सरकार र पार्टी अध्यक्षमा आलोपालो गर्दा फरक पर्दैन । उल्टो दुवै पार्टीका नेता कार्यकर्ता र वामपन्थीलाई भोट दिने मतदाताको विश्वास बलियो हुन्छ । 

दुवैलाई मान्य हुनेगरी वैचारिक र सांगठनिक संरचना मिलाएर पार्टी एकता भएपछि स्थिर सरकारको ढोका खुल्छ । अनि पहिलो अढाई वर्षमा प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र अर्को अढाई वर्षमा प्रधानमन्त्री प्रचण्ड, पार्टी अध्यक्ष ओली भन्न अहिलेका एमाले नेता कार्यकर्तालाई पनि अप्ठेरो हुँदैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया