MENU

समाज

Ncell Axiata

​दुई वर्षको चिसो भोगेका भूकम्प पीडित तेस्रो वर्ष पनि चिसोमै

रसुवा पुस १४ –हिमाली जिल्ला रसुवामा चिसो बढ्दै जाँदा भूकम्प प्रभावितको जनजीवन कष्टकर बन्दै गएको छ । 

दुई वर्षको चिसो जसोतसो काटेका भूकम्प प्रभावितले समयमा नै निजी घर निर्माण गर्न नसक्दा यो वर्षको चिसो पनि टहरामा  बिताउन बाध्य भएका हुन् । 

भूकम्प गएको ३४ महिनामा ११ हजार लाभग्राहीमध्ये करिब एक हजार आठ सयले भूकम्प प्रतिरोधि निजी आवास निर्माण गरेका  छन् । एक हजारभन्दा बढी घर भूकम्प गए लगत्तै बनेका थिए । 

विस्थापितलाई झन बढी समस्या  

भूकम्पका कारण गाउँमा सुख्खा पहिरो झरेर विस्थापित भएका जिल्लाका ४ सय भन्दा बढी घरधुरी अस्थायी टहरामा बसिरहेका छन् । 

बाँसको टेको लगाएर चारैतिर जस्ताले बारेर बनाइएको टहरामा बसिरहेका विस्थापितसँग न्यानो कपडा नहुँदा समस्या भएको छ । जस्ताबाट चुहिने शित र अत्याधिक हावा चल्ने ठाउँमा बस्न वाध्य उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

 

चिसोको कारण तीन ओटा छोराछोरी जोगाउन समस्या पर्ने गरेका भूकम्पका कारण विस्थापित भएर धुन्चेमा बसिरहेकी छुमेन्दो तामाङले बताउनुभयो । उहाँको तीन छोराछोरी छन् । उहाँले भन्नुभयो, ‘गाउँमा त यहाँ जति जाडो थिएन् । तर यहाँ आएदेखि बच्चा बिरामी परिरहन्छन् ।’ 

चिसोका कारण वृद्धवृृद्धालाई समस्या भएको ठूलोहाकुबाट विस्थापित भएर धुन्चेमा बसिरहेका ६१ वर्षीय दोर्जे फिन्चो तामाङले बताउनुभयो । 

तामाङले भन्नुभयो, ‘लुगा छैन्, भएका पनि भूकम्पको बेलामा सबै पु¥यो, यहाँ किनौँ भने पैसा छैन् ।’ काम पनि तन्नेरीले मात्रै पाउने रै छ । हामी बुढाबुढीले त काम गर्छु भन्दा नी नपाउने ! उहाँले समस्या सुनाउनुभयो । 

चिसोका कारण धेरै समस्या भएको हाकुका विस्तापित लाक्पा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान बिहान शित आउँछ, ओड्ने लुगा नै शितले भिज्छ, आगो फुकौँ भने भित्र फेरि चुल्हो छैन् ।” जाडोको समयमा जति कपडा ओडे पनि तातो नहुने उहाँले बताउनुभयो । 

दुई वर्षको चिसो कष्टपूर्ण तरिकाले टहरामा बिताएका भूकम्प पीडितको यस वर्षको चिसो पनि टहरामा नै बित्ने निश्चित भएको छ । 

विस्थापित भएकामध्ये ७२ घरधुरीको पुनर्वासका लागि जग्गा खरिद गरिए पनि तत्काल घर निर्माण हुन सक्ने अवस्था छैन् । 

जिल्लाको माथिल्लो भागमा अत्याधिक चिसो  

जिल्लाको माथिल्लो भागमा पर्ने गोसाइँकुण्ड गाउँपालिका र पार्वतीकुण्ड गाउँपालिकामा असोज मसान्तदेखि चिसो सुरु भएर फागुनको अन्तिमतिर मात्रै सकिन्छ । 

विशेषगरी धुन्चे, स्याफ्रु, लाङटाङ, गत्लाङ, बृद्धिम, गोल्जुङ, गत्लाङ, थुमन, हाकुलगायतका क्षेत्रमा अत्याधिक चिसो हुन्छ । यी स्थानमा बर्सेनी हिमपात समेत हुने गरेको छ । 

लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ लगायतको क्षेत्रमा गाउँसम्म नै हिउँ पर्छ भने सदरमुकाम धुन्चे, हाकु, स्याफ्रु लगायतको बस्तीको माथिमाथिसम्म हिउँ पर्छ । 

मंसिरसम्म चिसो पानीले नुहाउन र कपडा धुन सकिने भए पनि त्यसपछिका तीन महिना सरसफाईको काममा तताएको पानी बाहेकको विकल्प हुन्न । जिल्लाको तल्लो भागमा माथिल्लो भागको तुलनामा चिसो कम हुन्छ । 

भूकम्प जानु पहिले ढुङ्गा, माटो र काठको प्रयोगले बनेका घर भूकम्पले भत्किएपछि अहिले जिल्लाका ७३ प्रतिशत घरधुरी अस्थायी टहरामा बसिरहेका छन् । टहरामा बसिरहेका प्रभावित चिसो सुरु भएसँगै बिरामी पर्ने गरेका छन् । 
स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्यो 

चिसो बढ्दै जाँदा जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । दैनिक १० जनादेखि ३० जनासम्म बिरामी पुग्ने स्वास्थ्य संस्थामा अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी पुग्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख गुणनिधी शर्माका अनुसार जिल्ला अस्पतालमा अहिले २० देखि ५० जनासम्म बिरामी पुग्ने गरेका छन् । 

जिल्ला अस्पतालको भवन निर्माण नहुँदा टेन्ट टाँगेर सेवा प्रवाह गर्दै आएका अस्पतालमा चिसोका कारण पुग्ने बिरामी समस्यामा पर्ने गरेका छन् । चिसोको समयमा विशेष गरी वृृद्धवृद्धा, अपाङ्ग, गर्भवती, सुत्केरी तथा बालबालिकालाई बढी समस्या हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया