MENU

विचार/अनुभूति

ujyaalo forign call inside

इतिहासमा नेपाल

वामदेव गौतम -

प्राचीन इतिहास

काठमाडौं उपत्यकामा सबैभन्दा पहिले स्थायी बसोबास गर्ने मानव समुदाय गोपालवंशी(यादव) गण थियो । नेपालमा राज्य उत्पत्तिको प्राचीन इतिहास पनि यहीँदेखि सुरु भएको मानिन्छ । त्यसपछि यस उपत्यकामा करिब एक हजार वर्ष किरात जातिको गण राज्य रह्यो । किरातपछि लिच्छविहरूले नेपालमा करिब सात सय वर्ष शासन गरे । त्यसपछि मल्लहरूले करिव नौ सय वर्ष र शाह वंशीय राजाहरूले दुई सय चालीस वर्ष शासन गरे । गोपालहरू दक्षिणबाट प्रवेश गरेका थिए भने किरातहरू उत्तर–पश्चिमबाट नेपाल प्रवेश गरेका थिए । मगर र थारू जातिको आगमन स्थल अज्ञात नै छ । शाक्य र कोलियहरू आजका थारूका पूर्वज थिए । खस–आर्यहरू उत्तरबाट नेपाल प्रवेश गरेका थिए भने वैदिक आर्यहरू पश्चिम र दक्षिणबाट प्रवेश गरेका थिए । यी तथ्यहरूले के स्पष्ट गर्दछन् भने इतिहासको प्रारम्भकालदेखि नै नेपाल बहुजातीय र बहुभाषिक थियो अनि क्रमशः बहुसांस्कृतिक बन्दै आयो । 

इतिहासका विभिन्न कालखण्डमा नेपाल कहिले विशाल त कहिले सानो, कहिले एकीकृत त कहिले खण्डित अवस्थामा रह्यो । दुई सय वर्ष पहिले मात्र पनि नेपाल आजको भन्दा झन्डै दुई गुणा ठूलो थियो । तीन हजार वर्ष पहिलेदेखि नै नेपालको एकीकरणका प्रयत्नहरू सुरु भएका थिए । त्यसबेला एकीकरणको आशय विभिन्न राजाहरूले राज्य विस्तारका लागि गरेका प्रयत्नहरू नै हुन् । एकीकरण अभियानको सुरुवात काठमाडौँ उपत्यकाबाट किराती, लिच्छवि र मल्ल राजाहरूले गरेका थिए भने पाल्पाबाट सेन राजाहरूले, कर्णालीबाट खस राजाहरूले, तराईबाट जनक र कर्नाटवंशी राजाहरूले गरेका थिए । तर, गोरखाली राजाहरूको पालामा मात्र आजको एकीकृत नेपाल निर्माण हुन सक्यो । नेपालमा अनेक उतारचढाव र मोडहरू आए तर यसको मौलिकता निरन्तर कायम रहयो । यसलाई आबाद गर्ने र समाज व्यवस्था सञ्चालन गर्ने अनेक जाति विशेष यहाँ देखापरे । ती सबैले नेपालको सार्वभौम अस्तित्वलाई कायमै राखे र आफूनेपाली हुनमा गर्व गरे । त्यसैले नेपाल दक्षिण एसियाको शीर्ष स्थानमा पृथक् चिनारीका साथ स्थापित छ । नेपाल सिङ्गो एसिया, युरोप, अफ्रिका, अस्ट्रेलिया र उत्तरपूर्वी एसियाको बीच भागमा छ । दक्षिण एसियाको पश्चिममा मरुभूमि र उत्तरमा पनि चिसो मरुभूमि रहेकाले चारैतिरका मानिस यस क्षेत्रमा आएपछि प्रायः फर्कंदैनथे । उनीहरू हिमाल, पहाड र तराई भएको नेपाल भूमिमा सबैतिरबाट आउँदै गए र यसमा समाहित पनि हुँदै गए । यहाँ बसोबास गर्ने एउटैमात्र जाति कहिल्यै भएन । इतिहासको आरम्भमा नै यो देश बहुजातीय थियो र आज पनि छ । 

 इतिहासको प्राचीन कालखण्डमा आजको लखनउभन्दा उत्तर लाखामण्डल नामको मगर राज्य थियो । लाखामण्डल युद्धमा पराजित भएपछि मगरहरूले नेपालका विभिन्न भागमा स–साना राज्यहरू खडा गरे । कतिपय मगर राजाले आफ्नो भाषा पनि छोडे र जात पनि परिवर्तन गर्दै आफूलाई ‘राजपूत’ बनाए । पछिल्लो मगर राज्य सेनवंशीहरूले स्थापना गरेका थिए । थारूका साना र ठूला दुवै किसिमका राज्यहरू थिए । शाक्य र कोलिय गणराज्यहरू थारू जातिका प्राचीन राज्यहरू थिए । पछि ती सबै युद्धमा पराजित भए र विघटित भए । त्यसपछि पनि राज्य निर्माणका निम्ति उनीहरूको प्रयत्न रोकिएन । दाङमा थारूहरूले ठकुराई (राज्यपूर्वको अवस्था) खडा गरे । त्यस गणराज्यका राजाको नाम दंगीशरण थियो । दाङ राज्य पनि युद्धमा पराजित भयो र विघटित भयो । संसारका सबै ठाउँका मानवजातिको विकासलाई हेर्दा उत्पत्ति कालमा मातृप्रधान र कृषिमा प्रवेशपछि क्रमशः पितृप्रधान हुँदै गएको पाइन्छ । आदिम र पिछडिएको अवस्थामा मातृप्रधानता मानव समुदायको स्वाभाविक प्रक्रिया थियो । अगाडि बढ्दै जाने क्रममा कृषिमा प्रवेश अनिवार्य भयो र त्यसले उत्पादनमा विविधता ल्यायो । दक्षिण एसियाको भूमि उर्वर, जलस्रोतयुक्त भएकाले चारैतिरबाट आएका विभिन्न मानव समुदायका बीचमा कार्यविभाजन आवश्यक भयो । त्यसलाई व्यवस्थित गर्न वर्णाश्रमका प्रारूपहरू निर्माण हुँदै गए । वर्णाश्रमले समाजलाई मातृप्रधानबाट पूर्णरूपमा पितृप्रधानमा प्रवेश गरायो । कृषिले मानवजातिलाई धेरै नै माथि पुर्‍यायो । विश्वका अरू प्राचीन देशहरूमा जस्तै नेपालमा पनि दास व्यवस्थाको उद्भव कृषिबाटै भयो । दक्षिण एसियामा शूद्रवर्णले दासप्रथाको एउटा विशिष्ट रूप लियो । यसैसँग समाज वर्गयुक्त अवस्थामा प्रवेश गरेको हो । 

मानव जाति कृषिमा प्रवेश गरे पछि दासहरूलाई नियन्त्रण गर्न राज्यको उत्पत्ति भयो । नेपाल पनि पहिले मातृप्रधान, कृषिमा प्रवेशपछि पितृप्रधान हुँदै दास–मालिक व्यवस्थामा विकसित भएको हो । विदेह राज्यमा जनकहरूले राज्य गर्दा दास व्यवस्था थियो । त्यो करिब इ.पू. १५०० वर्षदेखि सुरु भएको मानिन्छ । सिद्धार्थ गौतमको पालामा दक्षिण एसियाका धेरै राज्यहरूमा दास व्यवस्था थियो । उनकै देश कपिलवस्तुमा उनका बाबु शाक्य गणराज्यका राजा हुँदा पनि दास व्यवस्था थियो । त्यो करिब इ.पू. ४०० वर्षभन्दा पुरानो मानिन्छ । काठमाडौं उपत्यकामा यादवहरू पशुपालक अवस्थामा थिए । किरातहरूले काठमाडौँं उपत्यकामा कृषिको सुरुवात गरे । किरात साम्राज्य एकपटक आजको आसाम र बङ्गालसम्म फैलिएको थियो भन्ने कतिपय इतिहासकारको भनाइ छ । लिच्छविकालमा कृषि उत्पादनमा सुधार गर्दै भूदास व्यवस्था लागु गरियो । त्यस बेलादेखि नेपालमा वंशानुगत राजतन्त्रात्मक व्यवस्था र सामन्तवादी शासनले पूर्णता पायो । त्यसभन्दा पहिलेका राजाहरू गणबाट चुनिन्थे र गणनायक हुने गर्दथे ।

 लिच्छवि राजा शङ्करदेवको समयदेखि वर्णाश्रम व्यवस्थालाई प्रोत्साहित गर्न थालियो । उनका नाति राजा मानदेव (प्रथम) (इ.सं. ४६५–५०५) ले नेपालको राज्य विस्तार कोशीदेखि कर्णालीसम्म गरेका थिए । यादव (गोपाली), किराती, तिब्बती, पाली र मैथिली (संस्कृत) भाषाभाषीहरूको सम्मिश्रणबाट नेवारी भाषाको विकास भयो । यो भाषालाई मातृभाषा बनाउने सबै समुदायका मानिस नेवार भए । चार–पाँच सय वर्षको सम्मिश्रण र सम्मिलनबाट नेवार एउटा जातिका रूपमा देखापर्‍यो । वर्तमान नेपालको पश्चिम, भारतको उत्तराञ्चल र गङ्गा पश्चिमको मैदानको ठूलो भू–भागदेखि तिब्बतको पश्चिम भागमा पर्ने कैलाश मानसरोवरसम्म फैलिएको क्षेत्रमा इसाको दशौँ शताब्दीको आसपास खस जातिको साम्राज्य स्थापित भएको थियो । दक्षिणमा मगधको आक्रमणबाट र उत्तरमा तिब्बती राज्यहरूको आक्रमणबाट पराजित भएपछि खस साम्राज्य महाकालीपारि छुट्टै र महाकालीवारि छुट्टै भई विभाजित भयो । महाकालीवारिको खस साम्राज्य कर्णाली क्षेत्रमा खुम्चियो । खस राजाहरूले सयौँ वर्षसम्म बुद्धधर्मलाई राजधर्मका रूपमा अवलम्बन गरे । पछि खस राज्य बाइसे राज्यहरूमा विभाजित भयो । यस जातिमा वर्णाश्रम व्यवस्था थिएन । पछि वैदिक आर्यहरूको सम्पर्कबाट खस आर्यहरूले वर्णाश्रम व्यवस्था अपनाए ।

 प्राचीन नेपालका राजाहरूको एउटा उल्लेखनीय प्रवृत्ति के देखिन्छ भने गद्दिनसीन हुँदा साथ उनीहरू आफूलाई सम्राट ठान्दथे । उनीहरूले आफ्ना पुर्खाहरूले गुमाएको साम्राज्य पुनः प्राप्तिका निम्ति युद्ध सुरु गर्दथे । अर्कोतिर कुनै बेला नेपालमातहत रहेका र स्वतन्त्र राज्यहरूले नेपाल राज्य नै कब्जा गर्ने उद्देश्य राखेका हुन्थे । परिणाम कहिले नेपाल राज्य विस्तार भएर पश्चिममा गङ्गा, उत्तरमा मानसरोवर तिब्बत, दक्षिणमा गङ्गा, र पूर्वमा टिस्टासम्म पुग्दथ्यो । कहिले मातहत राज्यले आफूलाई स्वतन्त्र घोषणा गर्दै नेपाल कब्जा गर्न काठमाडौंसम्म आइपुग्दथे । यो क्रम गोरखाली राजाले नेपाल विजय गरेपछि मात्र रोकियो ।

आधुनिक इतिहास

गोरखाका राजा पृथ्वीनारायण शाहले सन् १७६९ मा काठमाडौँ विजय गरेर नेपाल राज्य विस्तारमा लागेपछि आधुनिक नेपाल निर्माणको इतिहास सुरु भएको मानिन्छ । काठमाडौँ विजयपछि पृथ्वीनारायण शाहले गोर्खा होइन, नेपाल राज्यको विस्तार सुरु गरे । राज्य विस्तारको त्यो काम छिन्नभिन्न नेपाल राष्ट्रको ऐतिहासिक एकीकरणको सुरुवात हुन पुग्यो । पृथ्वीनारायण शाहले जहाँजहाँ पाइला राखे त्यहाँ त्यहाँ सफलता प्राप्त गर्दै गए । त्यसलाई तत्कालीन परिस्थितिको विश्लेषणमा मात्र सही किसिमले बुझ्न सकिन्छ । राज्य विस्तारको त्यसकालमा जनता स–साना इलाकीय सामन्ती राज्यहरूबाट आजित भएका थिए । इसइहरूको प्रवेशबाट हिन्दू र बौद्ध धर्मावलम्बीहरू चिन्तित भएका थिए । अङ्गे्रजले व्यापारको बहानामा दक्षिणमा आफ्नो उपनिवेश विस्तार गरिरहेको थियो । यसबाट इलाकीय राज्यका कतिपय रजौटाहरू र भाइभारदारहरू पनि चिन्तित थिए । यी कारणहरूले जनतामा केन्द्रीय राज्यअन्तर्गत रहने मानसिकता बनिरहेको थियो । परिस्थितिको मागलाई चिन्न सक्ने, कुशल रणनीतिज्ञ, दूरद्रष्टा र महत्वाकाङ्क्षी नेतृत्वको कल्पना आधुनिक राज्यका सञ्चालकहरूमा हुन थालेको थियो । त्यसबेलाका व्यापारीहरू पाइलैपिच्छे कर तिर्न परेको हुनाले आजित थिए । युद्धकर र आफ्नो रजौटाको हारपछि हुने लुटपाटबाट सबै रैतीहरू ज्यादै त्रसित थिए । अभावै अभाव भएको मुलुक नेपालमा त्यसबेला करिब ६० वटा रजौटाहरूले राज गर्दथे । सिन्जा राज्यअन्तर्गत २२ राज्य समूह, पाल्पाअन्तर्गत २४ राज्य समूह, काठमाडौँ अन्तर्गत ४ राज्य समूह, अनि काठमाडौँ पूर्व ११ किरात गणराज्यहरू थिए । 

उपर्युक्त पृष्ठभूमिमा अत्यन्त ठूलो महत्वाकाङ्क्षासहित देखापरेका गोर्खाली राजा पृथ्वीनारायणलाई चारैतिरका युद्धमा विजय मिल्न थाल्यो । काठमाडौँ विजयपछि उनलाई बाँकी राज्यहरू विजय गर्न झन् सहज भयो । उनले काठमाडौँमा आफूलाई नेपालको राजा घोषणा गरेपछि यसको सन्देश सकारात्मक बनेर प्रवाहित भयो । पृथ्वीनारायणले गरेको राज्यविस्तारको काम उनका छोराहरू र बुहारी राज्यलक्ष्मीका पालामा पनि निरन्तर रह्यो । ठकुराईहरू आफैँ नेपालमा समाहित भएको घोषणा गर्न थाले । युद्धमा भाइभारदार र आमजनसमुदायको पनि समर्थन प्राप्त हुन थाल्यो । गोर्खाली राजाको राज्यविस्तार अन्ततः छरिएको नेपाल एकीकरण अभियानमा परिणत भयो । राज्य एकीकरणको त्यो अभियान सन् १८१४ सम्म जारी रह्यो । पूर्वमा टिस्टा, पश्चिममा सतलज, दक्षिणमा लखनउ, गोरखपुर र गङ्गाको मैदानसम्म र उत्तरमा हिमालपारि केरुङ र कुतीसम्म नेपाल पुग्यो । यी भू– भागमा नेपाल राज्य पहिले पनि पटक पटक विस्तार भएको थियो । जनक, किरात, लिच्छवि, मल्ल, सेन, कर्नाटवंशी र सिन्जा राज्यहरू पटक पटक ती सीमासम्म पुगेका थिए । तर पहिले राज्य विस्तार भए पनि सुदृढ गर्नेतर्फ उनीहरू लागेनन् । पृथ्वीनारायणले भने राज्य कब्जा गर्नुका साथै त्यसलाई सुदृढ गर्नेतर्फ उत्तिकै ध्यान दिएर लागे । यो एक किसिमको परम्परा जस्तै बन्यो । त्यसले गर्दा पहिले पहिले जस्तो फौज फर्कनासाथ स्वतन्त्र हुने प्रवृत्ति समाप्त भयो । सबै भूभागमा रहेका अङ्गे्रज विरोधी र रजौटा विरोधी भावना भएका सबै वर्गका मानिसहरूको हार्दिक समर्थन पनि नेपाल राज्यले प्राप्त गर्‍यो । नेपाली भूमि त एकीकृत भयो तर नेपाल एकीकरणबाट सिमानाका भारतीय राजाहरू आतङ्कित भए । लखनउका नवावको संयोजकत्वमा उनीहरूले इष्टइन्डिया कम्पनीलाई लडाइँको सम्पूर्ण खर्च आफूहरूले बेहोर्ने र यस अतिरिक्त स्वर्ण मुद्रा कमिसन दिनेगरी नेपालका विरुद्ध लड्न सहमत गराए । सबै किसिमको तयारी गरेर सन् १८१४ मा एकै पटक तीन ठाउँबाट अङ्ग्रेज फौजले नेपालमाथि आक्रमण गर्‍यो । त्यो युद्ध दुई वर्ष चल्यो । युद्धमा नेपाली फौज र नेपाली जनताले अत्यन्तै ठूलो साहस, वीरता र देशभक्तिको भावनासाथ भाग लिए । कैयन् वीरहरू बलिदान भए तर कसैले पनि आत्मसमर्पण गरेनन् । नेपालीहरूको वीरताको प्रशंसा शत्रुहरूले पनि गरे । त्यो लडाइँमा अङ्ग्रेज धेरै हिसाबले शक्तिशाली थियो । तर सीमित साधन र स्रोत तथा सीमित सङ्ख्याको फौज लिएर पनि नेपालले विश्व विजेताका रूपमा रहेको अङ्गे्रज साम्राज्यलाई दुई वर्षसम्म आमनेसामनेको युद्धमा रोक्न सक्ने क्षमता प्रदर्शन गर्‍यो । यस्तो क्षमता र साहस भएको वास्तवमा नेपालबाहेक संसारमा अरू कोही पनि देखिएन । तर पनि अङ्गे्रजी फौज र नेपाली फौजको बीचमा शक्ति सन्तुलनका हिसाबले ज्यादै ठूलो भिन्नता थियो । त्यसलाई विचार गर्दा नेपालले त्यो युद्धलाई अगाडि बढाउन सक्ने अवस्था देखिएन । तसर्थ बाध्य भएर नेपालले सम्झौता गर्नुपर्‍यो । अङ्ग्रेजले राखेको युद्धविरामको प्रस्तावलाई नेपालले स्वीकृत गर्‍यो र सन् १८१६ मा सुगौली–भूमिमा अङ्गे्रजसँग शान्ति र मैत्रीको सन्धि भयो । सन्धिअनुसार नेपालले पहिले प्राप्त गरेको करिब दुई तिहाई भूभाग छोड्नुपर्‍यो । पछि सन् १८१८ र सन् १८६० मा अङ्गे्रजले कब्जा गरेको केही भूमि फर्काएपछि नेपालको पूर्व, पश्चिम र दक्षिणको आजको सिमाना कायम भयो । 

मध्य तराईका जनताले अङ्गे्रज फौजलाई दानापानी किन्न पनि दिएनन् । नालापानी, बुटवल र सिन्धुलीका जनता घरेलु हतियार लिएर अङ्गे्रजका विरुद्ध लडाइँमा सामेल भए । नेपाल अङ्गे्रज युद्धमा नेपालले ठूलो भूभाग गुमाउनु पर्दा ठूलै नोक्सानी भयो । तर त्यही युद्धले नेपाल राष्ट्रनिर्माणको जग पनि बसाल्यो । यो घटना राजाले नेपाल राष्ट्रनिर्माण गर्न चालेको कदमको समर्थन र जनता आफैँ राष्ट्रनिर्माणमा सरिक भएको प्रतिनिधिमूलक पहिलो उदाहरण थियो । तिब्बतसँग भएको प्रतिरोध युद्धपछि नेपालको केरुङ र कुती तिब्बततिर छोडेर सन् १८१८ मा चीन र तिब्बतसँग गरिएको सन्धिपश्चात् उत्तरमा पनि नेपालको सिमाना निश्चित भयो । तिब्बतसँगको युद्धमा पनि हिमाली क्षेत्रका जनताले नेपाल सरकारलाई खुलेर सहयोग गरे । नेपाल–तिब्बत युद्धमा केरुङ र कुती गुमाउँदा नेपाललाई नोक्सान भयो । तर नेपाल राष्ट्रनिर्माणमा हिमाली क्षेत्रका जनताको योगदानको सुरुवात पनि त्यही युद्धले गरायो । दुवै छिमेकीसँग फेरि कहिल्यै युद्ध भएन र राष्ट्रनिर्माणमा यति ठूलो मूल्य फेरि कहिल्यै चुकाउनुपरेन । युद्धकालमा राजा, भाइभारदार र कमान्डरहरू आफैँ युद्धभूमिमा भाग लिएर लडाइँ गरे । तर शान्ति काल सुरु भएपछि उनीहरू मोजमस्ती र विलासी जीवनतिर लागे । यो अवस्थालाई नजिकबाट बुझेको अङ्गे्रजले यसको दुरूपयोग सुरु गर्‍यो । पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको दरबार दुई गुटमा विभाजित भयो । अङ्गे्रजले एउटा गुटलाई साथ लिएर त्यसबेलाका अरू सबै देशभक्त र राष्ट्र सेवकहरूलाई समाप्त पार्ने योजना बनाउँदै गयो । अङ्गे्रजको सहयोगमा कुख्यात कोतपर्व र भण्डारखाल पर्व भयो र राणाहरूको जहानियाँ शासनको सुरुवात भयो । त्यो जहानियाँ शासन १०४ वर्षसम्म मध्ययुगीन उत्पीडनका रूपमा नेपाली जनताले बेहोर्नु पर्‍यो । जनताको विद्रोहबाट राणाशासन समाप्त भएको पनि यो पुस्तक प्रकाशित मिति २०७४ मा ६७ वर्ष पुगेको छ । 

इतिहासप्रति आलोचनात्मक दृष्टिकोण राखेर हेर्दा राणाशासनमा राष्ट्र निर्माणका निम्ति उनीहरूले खेलेको सकारात्मक भूमिका खोज्न जरुरी हुन्छ । यसको आधारमा विश्लेषण गर्दा केही ऐतिहासिक उपलब्धिहरू रहेको देखिन्छ । राणाहरूले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामा आ ँच आउने गरी अन्तिम प्रधानमन्त्रीबाहेक अरू कसैले सन्धिसम्झौता र व्यवहार अङ्गे्रज वा अरू कसैसँग पनि गरेनन् । पहिलो राणा शासक जङ्गबहादुरले अङ्गे्रजलाई उक्साएर नेपालमाथि आक्रमण गर्न लगाउने लखनउका नवावका विरुद्ध आफैँ युद्धमा कमान्डर बनेर लडाइँ लडे । त्यसो गरेर उनले शत्रुसाधना पनि गरे र राप्तीदेखि महाकालीसम्म सन् १८१६ मा गुमेको नेपाली भूमि पनि फर्काए । जङ्गबहादुरले बेलायती महारानीलाई स्वतन्त्र मुलुकका प्रमुखको समान हैसियतअनुरूप नेपालसँग व्यवहार गर्न बाध्य पनि पारे । 

अङ्गे्रजी उपनिवेशका सरकार प्रमुखहरूको सङ्गठन राष्ट्रमण्डलको भेलामा राणाहरूले भाग लिन कहिल्यै स्वीकार गरेनन् । उनीहरूको यस निर्णय र व्यवहारलाई अङ्गे्रजहरूले सदा सम्मान गरे । चन्द्रशमशेर राणाले दासमोचन र पुनर्वास तथा सती प्रथाको अन्त्य, विद्युत् उत्पादन, रोपवे लाइनको स्थापनालगायतका सुधारात्मक ऐतिहासिक कामहरू गरे । उनले बेलायती साम्राज्यलाई नेपाल राष्ट्रसँग स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकका रूपमा व्यवहार गर्नका लागि लिखित सम्झौता गर्न बाध्य पारे ।

 विज्ञान र प्रविधिको विकाससँगै सामाजिक र आर्थिक क्षेत्रमा भएको परिवर्तनले १९ औँ र २० औँ शताब्दीमा संसारको इतिहासलाई नै कायापलट गर्ने ठूल्ठूला राजनीतिक घटनाहरू भए । तीमध्ये सबभन्दा ठूलो महत्वको घटना सन् १९१७ को रुसी क्रान्ति थियो । त्यस क्रान्तिले संसारमा पहिलो पटक समाजवाद स्थापना गर्‍यो । त्यसले उपनिवेश र अर्धउपनिवेशमा रहेका उत्पीडित राष्ट्रलाई मुक्तिका निम्ति प्रेरित गर्‍यो । रुसी क्रान्तिको प्रभाव एसियाका दुई ठूला मुलुकहरू चीन र भारतका मुक्ति आन्दोलनमा पर्‍यो । दोस्रो विश्वयुद्धपछि भारत र चीनमा सञ्चालित राष्ट्रिय मुक्ति आन्दोलनले सफलता पनि प्राप्त गरे । भारत र चीनका सफलताबाट नेपाली जनताले सञ्चालन गरेको राणाशाही जहानियाँ शासनविरुद्धको आन्दोलनले ठूलो प्रेरणा प्राप्त गर्‍यो । फलतः २००७ सालको क्रान्ति विष्फोटन भयो । क्रान्तिले १०४ वर्षको राणाशाही शासन समाप्त गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र स्थापना गर्‍यो । राणाशाही शासन ढल्नै लागेको बेला भर्खरै स्वतन्त्र भारतको पहिलो सरकारले नेपालका प्रधानमन्त्री मोहन शमशेरलाई अफ्ठेरोमा पारेर सन् १९५० मा असमान र अपमानकारी सन्धि गरायो । राजा त्रिभुवन राणाशाही विरोधी आन्दोलनकारीसँग मिलेको सुराक पाएपछि भारत सरकारले उनलाई दरबारबाट भगाएर काठमाण्डौँस्थित भारतीय दूतावास पुर्‍याई त्यहाँबाट दिल्ली लग्यो । त्याँही उसले राणा प्रधानमन्त्रीलाई पनि दिल्ली बोलाएर दुवैजनाको बीच सम्झौता गरायो । त्यो सम्झौतामा साक्षी राख्न भारतको पटनामा रहेका बी.पी. कोइरालालाई दिल्ली पुर्‍यायो । 

राणाशाही शासन ढलेपछि दरबारले सम्झौताबमोजिमको संविधानसभाको निर्वाचन गराउन मानेन । क्रान्तिदेखि २०१४ सालसम्म एकपछि अर्को सरकार परिवर्तन गर्दै राजाले आफूमा शक्ति केन्द्रित गरे । राजाको प्रतिगमनका विरुद्ध नेपाली काङ्गे्रस र नेपाल कम्युनिस्ट पार्टीले संविधानसभाको निर्वाचनका लागि भद्रअवज्ञा आन्दोलनसमेत गरे । आन्दोलनले गति लिइरहेको अवस्थामा नेपाली कांग्रेसले राजासंग एक्लै सम्झौता गरी संविधान सभाका निम्ति सञ्चालित आन्दोलन परित्याग गर्‍यो । उसकै सहमतिमा राजाले आफूमा सम्पूर्ण राजकीय शक्ति निहित भएको संविधान जारी गरे ।

 राजाले दिएको संविधानबमोजिम वि.सं. २०१५ मा संसदीय निर्वाचन भयो । निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइभन्दा धेरै स्थान जितेर सरकार सञ्चालन गर्‍यो । तर, १८ महिना नपुग्दै राजाले निर्वाचित सरकार र संसद विघटन गर्दै सम्पूर्ण सत्ता आफनो हातमा लिए । यसरी २००७ सालमा सुरु भएको पुँजीवादी क्रान्तिलाई असफल गराउन राजाद्वारा प्रतिक्रान्ति सुरु भयो । राजाले जननिर्वाचित प्रधानमन्त्री र अन्य मन्त्री तथा राजनीतिक पार्टीका नेताहरूलाई पक्रेर जेल हाले । देशमा चारैतिर प्रतिगमन सुरु भयो । राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाउँदै राजाले निरङ्कुश र निर्दलीय पञ्चायती व्यवस्था लागुगरे । निरङ्कुश शासक राजा महेन्द्रले एकातिर जनताको अधिकार खोसे भने अर्कोतिर सामाजिक आर्थिक सुधारमा आफूलाई केन्द्रित गरे । उनले गाउँ पञ्चायतदेखि राष्ट्रिय पञ्चायतसम्मको निर्वाचन प्रणाली स्थापित गरे र राष्ट्रिय पञ्चायतलाई निर्देशित व्यवस्थापिकाको रूप प्रदान गरे । उनले बेठबेगारी, बाँधाप्रथा र छुवाछुत अन्त्य भएको घोषणा गरे । उनले देश विकासको खाका प्रस्तुत गरे । उनले हदबन्दी र मोहीयानी अधिकारमा आधारित भूमिसुधार लागु गरी जमिनमा आधारित सामन्तवादलाई कमजोर बनाए । हदमाथिको जमिन भूमिहीनलाई वितरण गर्नुका साथै जोताहालाई मोहीयानी हक प्रदान गर्ने कानुनी व्यवस्था गरे । राष्ट्रव्यापी सहकारी अभियान र बचत अभियान सुरु गरे । औद्योगिक विकासलाई प्रश्रय दिन धेरै जिल्लाहरूमा औद्योगिक क्षेत्रहरू स्थापना गरे । प्रशासनिक र जनसेवा सुधारका लागि देशलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरे । तिनमा विकेन्द्रीकरणमा आधारित निर्वाचित स्थानीय निकाय खडा गरे । उनले निजामती र जङ्गी प्रशासन खडा गर्नुका साथै लोकसेवा आयोगलाई सुदृढ गरे । आर्थिक विकासका लागि बैंकिङ व्यवस्थालाई विस्तार तथा सुदृढ गरे । 

राजाले देश विकासका लागि पूर्वाधारको महत्वलाई स्थापित गर्दै सडक, एयरपोर्ट, कलेज, अस्पताल, खाद्य सुरक्षाका लागि भण्डारण तथा गोदाम आदि निर्माण गरी सिङ्गो राष्ट्रलाई एकीकृत गरे । पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग निर्माण सुरु गरे । पहिलो पटक भारत आश्रित व्यापारिक सम्बन्ध परिवर्तन गर्न चीनसँग मोटर बाटो जोड्ने व्यापारिक सन्धि गरे । राजाले देशबाहिर पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डता रक्षाका लागि कतिपय योजनाहरू अगाडि बढाए । उनले नेपाल र संयुक्त राष्ट्र सङ्घका बीच घनिस्ट सम्बन्ध विकास गर्नुका साथै असंलग्न आन्दोलनको संस्थापकको रूपमा नेपाललाई स्थापित गरे । पञ्चशीलको सिद्धान्तलाई अन्तर्राष्ट्रिय सम्बन्धको आधार बनाउने प्रयत्न गरे । राजाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य/बेलायत र युरोपका अन्य देशहरूसित पनि सम्बन्ध सुदृढ गराए । समग्रमा राजा महेन्द्रले लिच्छविकालदेखि सुरु भएको राष्ट्रनिर्माणको कामलाई पूर्णता प्रदान गरे । उनकै पालामा नेपाली सामन्तवादको आधार छिन्नभिन्न भयो र पुँजीवाद निर्माणको चौतर्फी आधार थालनी भयो । राजा महेन्द्रका सुधारात्मक कदमहरूका कारण नेपालमा निरङ्कुश राजतन्त्र ३० वर्षसम्म कायम रह्यो । दोस्रो विश्वयुद्ध पछिको संसारको मूलप्रवृत्ति राष्ट्रको स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनताको समृद्धि थियो । निरङ्कुश राजाहरूले लामो समयसम्म लोकतान्त्रिक अधिकार र जनताको समृद्धिका प्रवृत्तिलाई बुझ्न सकेनन् । उनीहरूले राष्ट्रको स्वतन्त्रतालाई मात्र अगाडि सारे । त्यही भएर नेपाली जनताले नागरिक स्वतन्त्रताको अधिकारलाई पटक–पटक आन्दोलनको रूपमा अगाडि बढाए । फलस्वरूप वि.सं. २०४६ मा निरङ्कुश राजतन्त्रलाई पराजित गरी बहुदलीय संसदीय व्यवस्था पुनःस्थापना भयो । 

राष्ट्रनिर्माणमा शासकवर्गको भूमिका प्रमुख हुन्छ । उसले नियम कानुनको कार्यान्वयनद्वारा राज्य निर्माण गरेर जनसमुदायलाई एकतामा आबद्ध गर्दछ । आक्रमणकारीको विरुद्ध लडाइँ गरेर भूगोल, जनता र आफ्नो संस्कृतिको रक्षा गर्दछ र सार्वभौम अधिकार निर्माण गर्दछ । जनताले कहिले शासक वर्गका क्रियाकलापको समर्थन गरेर त कहिले विरोध गरेर राष्ट्रिय एकताको मनोविज्ञान निर्माणमा योगदान गर्दछन् र राष्ट्रनिर्माणमा हिस्सा लिन्छन् । सन् १८१४मा अङ्गे्रजले आक्रमण गर्दा नेपाली जनताले सरकारको समर्थनमा प्रतिरोध युद्धमा भाग लिएर राष्ट्रनिर्माणमा योगदान गरेका थिए । राणाशाही शासनका विरुद्ध वि.सं. २००७ सालको क्रान्तिमा भाग लिएर तथा दिल्ली सम्झौताको विरुद्ध आन्दोलन गरेर नेपाली जनताले राष्ट्रिय भावनाको मनोविज्ञान निर्माण गरेका थिए । साथै भद्रअवज्ञा आन्दोलन गरेर तथा वि.सं. २०१५ को आमचुनावमा भाग लिएर त्यो मनोविज्ञान अरू विकसित गरेका थिए । त्यसपछि कहिले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध र कहिले विदेशी हस्तक्षेपका विरुद्ध विभिन्न रूपका आन्दोलनहरू गरेर जनताले राष्ट्रिय भावना विकास गरेका थिए । कुनै पनि राज्यमा राष्ट्र निर्माण गर्न त्यहाँका जनताले बोल्ने भाषाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भाषाले भिन्न समुदायका बीच भावनात्मक एकता र सद्भाव कायम गर्ने महत्वपूर्ण काम गरेको हुन्छ । 

नेपालमा १२३ वटा भाषा बोलिन्छन् । तीमध्ये केही संस्कृत भाषा र केही तिब्बतबर्मेली भाषा समूहमा पर्दछन् । नेपाली, अवधि, थारु, भोजपुरी र मैथिली भाषाहरू संस्कृत समूहमा पर्दछन् । मगर, गुरुङ, तामाङ, नेवार, राई, लिम्वु आदि भाषाहरू तिब्बतबर्मेली समूहमा पर्दछ । कतिपय सानो संख्याका भाषाहरू अफ्रिकी समूहका पनि छन् । नेपाली भाषा नेपालका खस आर्यबाहेक उल्लेख्य संख्यामा रहेका मगर, गुरुङ, राई, नेवार, कुमाल, माझी आदिहरूको पनि मातृ भाषा हो । यसरी हेर्दा नेपाली भाषा बहुसंख्यक नेपाली जनताको मातृ भाषा हो । साथै, नेपालमा बोलिने सबै भाषाभाषीका जनताको एक मात्र सम्पर्क भाषा नेपाली नै रहेको छ । यसरी भन्न सकिन्छ नेपाली भाषाले नेपाल राष्ट्र निर्माणमा अत्यन्त ठूलो योगदान गरेको छ । नेपाली भाषा अहिले नेपालको राष्ट्रिय एकताको प्रतीक पनि बनेको छ । नेपाली भाषालाई लोकप्रिय भाषाको रूपमा विकास गर्न आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको असाधारण योगदान रहेको छ ।

(नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको पुस्तक नेपाल नवनिर्माण महाअभियानबाट उद्धृत अंश)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया