MENU

समाज

Ncell Axiata

नयाँ वर्षमा घुम्न जाने सोचमा हुनुहुन्छ, कहाँ जाने ?

काठमाडौं, पुस १५ –पछिल्लो समय अंगे्रजी नयाँ वर्षको अवसरमा घुम्न जाने नेपालीहरु बढ्दै गइरहेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा कतिपय मानिसहरु विदेश घुम्न जाने गरेका छन् भने कतिपय मानिसहरु नेपालकै विविध ठाउँमा घुम्न जान्छन् । अंग्रेजी नयाँ वर्षको बेलामा घुम्नका लागि नेपालमा पनि थुप्रै उपयुक्त स्थानहरु रहेका छन् । यो अवधिमा चिसो ठाउँमा घुम्न जानका लागि त्यति उपयुक्त मानिदैन । 

पोखरा 

नेपालमा पोखरालाई पर्यटकको राजधानीकै रुपमा चिनिन्छ । यहाँ विदाका विभिन्न समयमा पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध मानिन्छ । 

पोखराको सबैभन्दा आकर्षण भनेको नै यहाँको प्राकृतिक सुन्दरता नै हो । यहाँको  फेवाताल सबैभन्दा परिचित छ । पोखराबाट माछापुच्छ्रे हिमालसमेत आँखैअगाडि देख्न सकिन्छ । 

पोखरामा घम्नका लागि आकर्षक ठाउँहरुमा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताललगायतका विभिन्न मनमोहक ठाउँहरु रहेका छन् । यहाँको सराङकोट अर्को आकर्षकको रुपमा परिचित छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला जस्ता अनेकौँ प्राकृतिक सम्पदाको अवलोकन यहीँबाट गर्न सकिन्छ । 

चितवन 

चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुका लागि अर्को आकर्षणको केन्द्रबिन्दु हो । विशेषगरी वाइल्ड लाइफप्रति अभिरुची भएका पर्यटकहरुका लागि यो ठाउँ उपयुक्त मानिन्छ । यहाँ नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका जंगली जनावर तथा पछीहरुको अवलोकन गर्न सकिन्छ । जंगल सफारीका लागि सौराहा प्रसिद्ध मानिन्छ । 

चितवन राष्ट्रिय निकुञ्जका लागि मात्र नभई समाज र सांस्कृतिक विशेषताका लागि पनि प्रख्यात मानिन्छ । यहाँको थारु संस्कृतिको अवलोकन गर्न पनि निकै रमाइलो हुने गर्छ । त्यसैले चितवन पनि घुम्नका लागि अर्को आकर्षक स्थान हो । 

लुम्बिनी 

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको प्रसिद्ध धार्मिकस्थल हो । लुम्बिनी स्वदेशी तथा विदेशी दुवै पर्यटकका लागि उत्तिकै प्रसिद्ध मानिन्छ । बौद्ध दर्शन अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनीलाई महत्वपूर्ण गन्तव्यस्थलका रुपमा लिन सकिन्छ ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रबिन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र यहाँको पवित्र पोखरीले यसको सौन्दर्यतामा अझ रौनकता थपिदिएको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्न पाउनु जो कोहीका लागि दुर्लभ अवसर हो । 
धार्मिक तथा सामाजिक दृष्टिकोणले यो ठाउँ पर्यटकहरुका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । 


नमोबुद्ध

हेर्दा तिब्बती सहरजस्तो लाग्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध पनि घुम्नका लागि उपयुक्त ठाउँ मानिन्छ । डाँडाको टुप्पोमा गुम्बा अनि बौद्ध कलाले सजिएका घरहरू प्रष्टै देख्न सकिन्छ । नमोबुद्धबाट डाँडाबाट पनौती, बनेपा र धुलिखेलसँगै हिमश्रृङ्खला र पूर्वउत्तरमा भकुण्डेबेसी तथा पाँचखालको फाँटको सुन्दर दृश्य देखिन्छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष

चरा अवलोकनका लागि नेपाल सबैभन्दा राम्रो ठाउँका रुपमा कोसी टप्पु आरक्ष लाई लिइन्छ  । पूर्वी नेपालमा अवस्थित कोसी टापु र कोसी ब्यारेज क्षेत्रमा प्रवासी पानी कुखुरा र चराहरू हेर्न जाडो मौसम उपयुक्त हुन्छ ।

अन्यत्र ठाउँमा नपाइने प्रजातिका चराहरू यहाँ देख्न सकिन्छ । यो समयमा यहाँ भ्रमण गर्दा विभिन्न किसिमका चराहरु अवलोकन गर्न पाइन्छ । नयाँ वर्षका घुम्नका लागि यो पनि उपयुक्त ठाउँका रुपमा लिन सकिन्छ । 

ककनी

नुवाकोट जिल्लामा पर्ने ककनी पनि काठमाडौंबाट नजिकैको ठाउँ घुम्न जानेका लागि उपयुक्त मानिन्छ । नजिकैबाट हिमालको आकर्षक सौन्दर्य नियाल्नका लागि यो उपयुक्त समय हो । ककनीबाट गणेश, गौरीशंकर, मनास्लु, चोबा भामरे, हिमचुली, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । 

भेडेटार

पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमा धनकुटाको भेडेटार पनि पर्ने गरेको छ । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ मनोरम दृश्यावलोकनका लागि पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो ।

भेडेटारको भ्यू टावर यस्तो स्थान हो जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशृंखला एकैपटक हेर्न सकिन्छ । अझ अलिकति समय निकालेर घुम्न निस्कनेका लागि भेडेटारसँगै धनकुटा, वसन्तपुर तथा हिले पनि घुम्न सक्छन् । तेह्रथुम, संखुवासभा र धनकुटाको संगमस्थल तिनजुरे मिल्के पनि उपयुक्त स्थान हुन सक्छ । 

कालिन्चोक

दोलखाको सदरमुकाम चरिकोटबाट पदयात्रा गरेर पनि कालिन्चोक पुग्न सकिन्छ ।  चरिकोटबाट केही समयको यात्रापछि कालिन्चोक भगवतीको मन्दिर पुगिन्छ । यो ठाउँ हिन्दु धर्मावलम्बीहरुका लागि पनि प्रसिद्ध मानिन्छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृंखला, गौरीशंकर हिमालबाट देखिने सूर्योदय अवलोकन गर्न सकिन्छ । हिउँ खेल्न मन पराउनेहरू मंसिरदेखि माघसम्म यो ठाउँको पदयात्रा गर्न सक्छन् ।

बल्थली 

काठमाडौंबाट नजिकैको दूरीमा रहेको बल्थली धुलो धुवाँ र कोलाहलबाट मुक्त रहेको छ । खुल्ला ठाउँबाट देखिने निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट प्रष्टै रुपमा देख्न सकिन्छ । 

काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न धेरै समय लाग्दैन । हाइकिङ पारखीहरु नमोबुद्धमा भीरपाखा छिचोल्दै बल्थली पुग्न सक्छन् । 

अन्नपूर्ण पदमार्ग 

पदयात्राका लागि अन्नपूर्ण पदमार्ग विश्वकै एक उत्कृष्ट गन्तव्यस्थलका रुपमा परिचित छ । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा पनि चिन्ने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ । 

अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको छ । यहाँबाट देखिने सुन्दर तथा मनोरम प्राकृतिक सौन्दर्यताले पर्यटकहरुलाई आकर्षित गर्ने गर्छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया