MENU

राजनीति

Ncell Axiata
NIC Asia

ओलीको प्रश्न : ५ वर्ष सरकार चलाउ भनेर प्रचण्डजीलाई माया गरेको हो त ?

काठमाडौं, पुस १५ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता हुन नदिन धेरै प्रयास भैरहे पनि त्यो सफल नहुने बताउनुभएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन समारोहमा ओलीले पार्टी एकताको कुरालाई आमनागरिकले नै अनुमोदन गरेकाले यसमा तलमाथि नहुने प्रष्ट पार्नुभएको हो ।

‛एकता भाँड्न र विथोल्न धेरै प्रयास भए, प्रचण्ड जीलाई त हामी सहयोग गर्छौं पाँच वर्ष सरकार चलाउनुहोस् भन्ने प्रस्ताव समेत आएछ ।′ मञ्चमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै ओलीले थप्नुभयो, ‛उहाँलाई माया गरेर ५ वर्ष सरकार चलाउ भनेको हो त, देश विकास गर्न भनेर यस्तो प्रस्ताव आएको हो त ? हैन, यो त विथोल्न खोजेको हो ।′

केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर  देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावलाई प्रचण्डले पनि अस्वीकार गर्दै आउनुभएको छ ।

पुस्तक विमोचन कार्यक्रममा ओली भन्दा अगाडि बोलेका प्रचण्डले पनि एमाले र माओवादीबीच एकता हुन नदिन धेरै चलखेल भएको भन्दै यसलाई असफल पारेर आफूहरु अघि बढ्ने बताउनुभयो । दुई पार्टी एक हुने र अब बन्ने वामपन्थी सरकारले देशमा आर्थिक सम्बृद्धि ल्याउने दुवै नेताको दावी छ । ‛पार्टी एकतालाई विथोल्ने प्रयास अब सम्भव छैन, नागरिकले विश्वासका साथ सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्छौं′ ओलीले भन्नुभयो, ‛नयाँ सरकार गठनसँगै देश आर्थिक सम्वृद्धि र विकासको बाटोमा अघि बढ्छ, बढ्छ । कसैले रोक्न सक्दैन ।′

नयाँ सरकार बन्न नदिन कांग्रेसले संविधानको अपव्याख्या गरेर अड्काउन खोजेको ओलीको आरोप छ । कांग्रेसको नाम नलिइकन ओलीले भन्नुभयो, ‛नयाँ सरकार बन्न नदिन र रोक्न खोज्न प्रयास भैरहेको छ, जुन अलोकतान्त्रिक प्रयास हो ।′

आफूले सरकार छोड्ने बेला नयाँ सरकार गठनको बाटो नहुँदापनि बाधा अड्काउ फुकाएर सहज बनाइदिएको स्मरण गर्दै ओलीले अहिलेको सरकारले आफ्नो स्वार्थ पूरा गर्नको लागि सत्ताको आयु लम्ब्याउन खोजेको आरोप लगाउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया