MENU

राजनीति

Ncell Axiata
NIC Asia

​ओली र प्रचण्डको एउटै स्वर : ढिलै भए पनि वाम सरकार

काठमाडौं, पुस १५ –मुख्य दलका प्रमुख नेताहरुले देश अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा अघि बढ्ने दावी गरेका छन् । संविधान बनिसकेको र चुनाव पनि भैसकेकाले अब देश विकासको बाटोमा लाग्ने नेताहरुको भनाइ छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले लेखेको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ को विमोचन कार्यक्रममा एमाले अध्यक्ष ओलीले नागरिकले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएकाले त्यसको सम्मान गर्दै देश स्थायित्व, समृद्धि र सुशासनतर्फ अगाडि बढ्ने बताउनुभयो । उहाँले कसैले गनगन गर्दैमा कुनै फरक नपर्ने दावी गर्दै भन्नुभयो ‘अव देश अघि बढ्छ बढ्छ ।’

अहिले वाम गठबन्धनलाई बिथोल्ने प्रयास भइरहेको भन्दै ओलीले वाम गठबन्धनको सरकार बन्नलाई कसैले रोक्न नसक्ने दावी पनि गर्नुभयो । ओलीले सरकार गठन केही ढिलो भए पनि वाम गठबन्धनकै सरकार बन्ने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थिरता र समृद्धि नै नागरिकको चाहना भएको बताउनुभयो । उहाँले अब बन्ने वाम गठबन्धनको सरकारलाई ऐतिहासिक अवसर र चुनौति उत्तिकै भएको भन्दै देश नयाँ युगतर्फ तीव्र गतिमा जाने दावी गर्नुभयो । अहिलेका भ्रम र कन्फ्यूजनलाई चिर्दै वाम गठबन्धन अघि बढ्ने पनि उहाँले प्रस्ट पार्नुभयो ।  

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको प्रतिवद्धता भन्दा बाहिर गएर दायाँ बायाँ नलाग्न वाम गठबन्धनलाई आग्रह गर्नुभयो । कृषि, पर्यटन र उर्जा नै विकासका मुख्य आधार भन्दै उहाँले यसैमा एकमत भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया