MENU

खेल

Ncell Axiata

इपिएल क्रिकेटको नालीबेली : दर्शकले तोडे रेकर्ड

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, पुस १५ - घरेलु क्रिकेटको सर्वाधिक धनराशी र कीर्तिमान दर्शकको उपस्थिति रहेको इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा खेलको अन्तिम बलमा मात्रै जित र हारको टुंगो लागेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । 

भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिँदै विराटनगरलाई जिताए । साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरे । पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित सहज भयो । अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन ।

१८ औँ ओभरसम्म भैरहवाको पक्षमा भएको खेललाई पारसले १९ औँ ओभरमा विराटनगरको पक्षमा ल्याएका थिए । जितका लागि भैरहवालाई १२ बलमा ११ रन चाहिएको अवस्थामा पारसले ६ बलमा ९ रन चाहिने अवस्थामा ल्याइपुर्याए । १९ औं ओभरको चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउट गरे । पारसले यो ओभरमा २ रन दिएर २ विकेट लिएका थिए । 

भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । ३९ बलमा उनले ४ चौका र ४ छक्का हाने । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए । तर पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो ।

घरेलु क्रिकेटमा धेरै दर्शकको उपस्थिति

नेपाली क्रिकेटमा क्रिकेटपे्रमी दर्शकलाई विशेष रुपमा हेरिने गरेको छ । नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगितामा उल्लेख्य उपस्थिति जनाउने क्रिकेटप्रेमी दर्शक घरेलु लिग इपिएलको फाइनल खेल्न हेर्नका लागि रेकडै तोड्ने गरी आएका थिए । त्रिवि क्रिकेट मैदानमा झण्डै १६ हजार दर्शकको उपस्थिति रहेको थियो ।

 

आफूले सर्मथन गरेको टिमले सोचे अनुसार नखेल्दा खेल नै प्रभावित हुने गरी आक्रोश देखाउने समर्थकको व्यवहारले आज पनि केहिबेर खेल रोकियो । विराटनगर वारियर्सका खेलाडी अंशुमान रथले एक ओभरमा ३६ रन दिएपछि त्यसको विरोधमा विराटनगर वारियर्सका समर्थकले खेल मैदानमा ढुंगा तथा पानीको बोतल फालेका थिए । जसका कारण केहिबेर खेल प्रभावित भएको थियो । क्रिकेट मैदान भरीभराउ भएपछि मैदान बाहिरबाट पनि दर्शकले खेल हेरेका थिए ।

 

अपराजित विराटनगर वारियर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खडकाको नेतृत्वमा रहेको विराटनगर वारियर्सले इपिएलमा अपराजित रहँदै उपाधि उचालेको छ । लिग चरणमा भएको आफ्नो पहिलो खेलमा  विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा पोखरा राइनोजलाई ३ विकेटले जित्यो भने, तेस्रो खेलमा चितवन टाइगर्सलाई ७१ रनले हराएको थियो । चौथो खेलमा भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको थियो । विराटनगर आफ्नो पाँचौ तथा लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स इलावेनलाई ८ रनले पराजित गरेको थियो ।  विराटनगरले काठमाडौं इलाभेनसँग र फाइनलमा भैरहवासँगको खेलबाहेकका खेलमा सहज जित निकालेको थियो ।

 

पहिलो क्वालिफायरमा विराटनगरले भैरहवालाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको थियो । दोस्रो क्वालिफायरमा ललितपुरसँग प्रतिस्पर्धा गरेको भैरहवाले ललितपुरलाई ३ विकेटले हराउँदै आफनो फाइनल यात्रा निश्चित गरेको थियो ।

फाइनल खेलमा भने भैरहवा विराटनगरसँग १ रनले हार्यो र विराटनगरको अपराजित यात्रा रोक्न सकेन । विराटनगरको अपराजित यात्रालाई विदेशी खेलाडी बाबर हायत र अंशुमान रथले सहज बनाएका थिए । यी दुबै खेलाडीले प्रतियोगितामा क्रमश ३ सय १३ र २ सय ७१ रन बनाएका थिए ।  

प्रतियोगितामा जमेका खेलाडी

इपिएलमा उत्कृष्ट प्रदशन गरेको विराटनगर वारियर्सका खेलाडी व्यक्तिगत प्रर्दशनमा पनि दबदबा रहेको पाइयो । १३ विकेट लिएका विराटनगरका वसन्त रेग्मी सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्दा विराटनगरकै अनिलकुमार साहले प्रतियोगितामा सबैभन्दा धेरै क्याच लिने खेलाडी बनेका छन् ।

प्लेयर अफ् द टुर्नामेन्ट बनेका विराटनगरका बाबर हायतले ३ सय १३ रन बनाएका थिए । आजको खेलमा म्यान अफ द म्याच बनेका भैरहवाका शरद भेषावकरले आजको प्रतियोगितामा ५२ रन बनाएका थिए भैरहवाका रोहितकुमार पौडेल मोस्ट भ्यालुएबल खेलाडी बनेका छन् । 

खेलपछि विजेता र उपविजेता टिमका कप्तानले के भने ? 

इपिएल क्रिकेटको उपाधि जितपछि बिराटनगरका कप्तान पारस खडकाले एक ओभरमा ३६ रन दिएका अंशुमनलाई गाली र आलोचना गर्नुपर्ने कारण नभएको बताएका छन् । उनले प्रतियोगिता अवधिभर निकै राम्रो खेलेकोमा प्रशंसा पनि गरे । 

‘क्रिकेट यस्तै खेल हो, प्रतियोगिता अवधिभर राम्रो खेलेर उसले हामीलाइ यहाँसम्म ल्यायो, तर आज केही चिप्लियो, तर क्रिकेटरको जीवनमा यस्तो क्षणहरु आउछ, मैले पनि अन्तर्राष्ट्रिय खेलमा  २४÷२५ रन खाएको छु,  तर हामी शान्त रहनुपर्छ, उसलाई दोष लगाउने ठाउँ म देख्दिन ।’

अन्तिम समय सम्हालिन नसक्दा जित्नै आँटेको खेल पनि गुमाउनुपर्दा भैरहवाका खेलाडी निकै दुखी बनेका थिए । खेलपछि भएको पत्रकार सम्मेलनमा भैरहवाका कप्तान शरद भेषावकरले आफ्नो टिममा धेरै युवा खेलाडी रहेको  र उनीहरुले आत्तिएर खेल्दा खेल गुमेको प्रतिक्रिया दिए । खेलाडीले जिम्मेवारीबोध नगरेर खेल्दा टिमले हारेको पनि शरदले संकेत गरे ।

 

‘हामीसँग अलि धेरै युवा खेलाडी छन्, उनीहरु निकै आत्तिए, हिजोअस्तीको जस्तो खेल देखाउन सकेनन्’ शरदले निराश हुँदै भने,‘हामीलाई खासै प्रेसर थिएन तर जब विकेट जान थाल्यो केटाहरु अलि धेरै आत्तिए, तर युवा छन् अब सिक्दै जालान ।’

आफ्नो हातमा भएको खेल उनीहरु (विराटनगर) ले राम्रो पुनरागमन गरेको पनि  शरदले बताए । तर पनि खेलाडीहरुले प्रतियोगिता अवधिभर राम्रो खेलेकैले भैरहवा फाइनलमा पुगेको भन्दै भेषावकरले प्रशंसा गरे । 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया