MENU

समाज

नेपाल र बुर्किना फासोबिच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं, पुस १६ – नेपाल र बुर्किना फासोबिच औपचारिकरूपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएको छ ।

राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र संघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले शुक्रबार बिहान न्यूयोर्कमा रहेको नेपालको स्थायी नियोगमा यससम्बन्धी एक संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभयो ।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यसबारे जानकारी दिँदै लेखिएको एक संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको राष्ट्र संघस्थित नेपाली नियोगले जनाएको छ । त्यस अवसरमा आगामी दिनमा दुई मुलुकबीच आपसी सहयोग थप सुदृढ गर्दै लैजाने विभिन्न उपायका बारेमा विचार आदानप्रदान भएको थियो ।

यसअघि नै दुवै देशले राष्ट्रसंघमा र अन्य बहुपक्षीय मञ्चहरूमा निकट रहेर काम गर्दै आएका छन् । पहिले अपर भोल्टा भनेर चिनिने यो मुलुकको नाम सन् १९८४ मा बुर्किना फासो राखिएको हो जसको अर्थ ‘इमान्दार जनताको भूमि’ भन्ने हुन्छ । कुल दुई लाख ७४ हजार २०० वर्गकिमीमा फैलिएको र एक करोड ७० लाख जनसंख्या रहेको यो भूपरिवेष्टित देश हो ।

यसको राजधानी औगादुगो हो । सन् १९६० अगष्ट ५ मा फ्रान्सबाट स्वतन्त्र भएको यो देशले त्यही वर्ष सेप्टेम्बर २० मा राष्ट्रसंघको सदस्यता लिएको थियो । अल्पविकसित दुवै राष्ट्र जी–७७ का साथै असंलग्न आन्दोलनमा सदस्य छन् । योसँगै नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका देशको संख्या अब १५६ पुगेको छ । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया