MENU

समाज

रसुवा आज खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

रसुवा, पुस १६ – रसुवालाई आइतबार खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । २०६९ सालदेखि सुरु भएको खुला दिसामुक्त अभियानले जिल्लाको सम्पूर्ण घरमा शौचालय निर्माण भएसँगै पूर्णता पाएर खुला दिसामुक्त जिल्ला घोषणा हुन लागेको हो । 

जिल्लामा रहेका पाँच स्थानीय तहका २७ वटै वडामा शौचालय निर्माण भएर प्रयोगमा आएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । समितिले दिएको जानकारी अनुसार जिल्लामा रहेका ११ हजार चार सय ३६ घरमा शौचालय निर्माण भएको छ । 

निर्माण भएका शौचालयमध्ये ५ सय ९३ घरले सामूहिक शौचालयको प्रयोग गरिरहेका छन् । २०६८ सालमा झण्डै ४० प्रतिशत घरले शौचालय प्रयोग गरिरहेका थिए । २०६९ सालदेखि खुला दिसामुक्त अभियान सुरु भएपछि करिब ७४ प्रतिशत घरमा शौचालय निर्माण भएको थियो । 

उहाँले भन्नुभयो, “अभियान सुरु हुँदा झण्डै ४० प्रतिशत घरमा शौचालय बनेको थियो, अभियान सञ्चालन गरेको तीन वर्षमा ३४ प्रतिशत बढेर ७४ प्रतिशत घरले शौचालय प्रयोग गर्न थालिसकेका थिए ।”

अभियान सञ्चालनको क्रममा शौचालय निर्माणले तीब्रता पाइरहँदा २०७२ वैशाख १२ गते आएको बिनासकारी भूकम्पले ५२ प्रतिशत घरमा निर्माण भएको शौचालय पूर्ण क्षति भएको थियो । 

तत्कालीन समयमा १८ वटा गाविस रहेको जिल्लामा पहिलो चरणमा चार गाविस खुला दिसामुक्त घोषणा गरिएको थियो भने पाँच गाविस खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका थिए । 

समितिका सम्पर्क व्यक्ति नेपालले भन्नुभयो, “२०७१ चैत मसान्तसम्ममा बृद्धिम, टिमुरे, धुन्चे र यार्सा खुला दिसामुक्त घोषणा गरिएको थियो ।”

गोल्जुङ, धैवुङ, लहरेपौवा, डाँडागाउँ र ठूलोगाउँ गरी साविकका ५ गाविस खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका बेलामा भूकम्पले क्षति गरेको उहाँको भनाई छ । 

भूकम्प गएपछि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्न जिल्ला भित्रिएका संघसंस्थाले अभियान सञ्चालनमा सहयोग पु¥याएका कारण अभियान सफल भएको समितिका अध्यक्ष कुलप्रसाद भट्टले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया