MENU

समाज

रानी–विराटनगर–धरान सडक बिस्तार : हल्ला दुरुस्त काम सुस्त

सुमन पुरी/उज्यालो ।

सुनसरी, पुस १६ –  डेढ वर्षपछि (२०७६ असार असार मसान्त) भारतीय सीमा नाका मोरङको विराटनगर रानीबाट सुनसरीको धरानसम्मको बाटो ६ लेनको बनाइसक्ने भनेर हल्लाखल्ला निकै भयो । सरकारी तवरबाटै ०७६ सालमा ६ लेनको बाटो बनिसक्ने भनेपछि यो कोरिडोरमा बसोबास गर्नेहरु उत्साहित भए ।

इटहरी–विराटनगरको झन्झटिलो सडक यात्राबाट मुक्ति मिल्ने आशामा बसेका यस क्षेत्रका बासिन्दाका लागि अहिले निराश खबर छ । रानी–विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग बिस्तारको काम सम्पन्न हुन आझै केही वर्ष कुर्नुपर्ने भएको छ । सडक बिस्तारको काम सक्नुपर्ने समय सीमा अब एक वर्ष ६ महिना छ । तर काम भने ३२ प्रतिशतको हाराहारीमा मात्रै सम्पन्न भएको छ ।

१० अर्ब ९८ करोड रुपैयाँको लागत अनुमान गरिएको रानी–विराटनगर–इटहरी–धरान व्यापारी सडक आयोजनामा अहिलेसम्म २ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ । खर्च अनुसारको कामको प्रगति ठिकै होला तर समयसीमाका हिसाबले हेर्ने हो भने एक छेउ मात्रै काम भएको आयोजनाका अधिकारीहरु नै स्वीकार गर्छन् । अबको डेढ वर्षमा सबै काम सक्नुपर्ने आयोजनाको साढे १५ किलोमिटर सडकको ठेक्का प्रक्रिया नै सुरु भएको छैन ।

ठेक्का लागेका सडक समेत निर्माण सम्पन्न गर्न यही गतिमा काम भए ३० महिनाभन्दा बढी समय लाग्ने सडक बिस्तार योजनाका इन्जिनियरहरु बताउँछन् । अहिले १३ वटा टुक्रामा ठेक्का लागेको छ । जस मध्ये विराटनगरको वरगाक्षी चोकबाट ढाटसम्मको ३ किलोमिटर सडकको काम मात्रै अन्तिम चरणमा पुगेको छ ।

सडक विस्तार आयोजनाका इन्जिनियर सुमत पोख्रेलले तीन किलोमिटर सडकमा कालोपत्रे भइसकेको र फिनिसिङ गर्ने काम मात्रै बाँकी रहेको बताउनुभयो । ठेक्का लागेको रानीबाट तरहरासम्मको सडकको काम एक तिहाई पनि भएको छैन । तरहराबाट धरानसम्मको सडकको ठेक्का नै लागेको छैन भने दुहबी बजार क्षेत्रको डेढ किलोमिटरमा पनि ठेक्का लाग्न सकेको छैन । टुक्रा–टुक्रामा सडकको ठेक्का लगाइएकाले कामको समन्वयमा समेत समस्या छ । 

बजेटकै अभाव

आर्थिक वर्ष २०७४/०७५ सकिन साढे ६ महिना बाँकी छ । तर सरकारले व्यापारिक सडक विस्तारका लागि छुट्याएको बजेट पुस मसान्तभित्रमा सकिँदै छ । यस वर्षका लागि सरकारले यो योजनलाई ५९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यो रकम अनुसारको काम सम्पन्न भइसकेको छ । अहिले २० करोड जति पैसा बाँकी छ । त्यो रकममा आधा भन्दा बढी त फरफारक गर्न नै बाँकी रहेको छ । बाँकी रहेको १० करोड काममा लगाउने हो भने पुस मसान्तभित्रमा सकिन्छ योजनका इन्जिनियर पोख्रेलले भन्नुभयो ‘पैसा नभएपछि ठेकेदार कम्पनीले काम छाड्छन् । उनीहरुलाई फेरि काम सुरु गर्न अरु २ महिना लाग्ने छ ।’

सडक बिस्तारमा काम गर्ने मजदुर पेमेन्ट रोकिएपछि गाउँ फर्कने र उनीहरुलाई खोजेर काममा लगाउन मात्रै २ महिना लाग्ने पोख्रेलको दाबी छ । सडकको काम भनेको वैशाखसम्म द्रुत गतिमा हुन्छ । वैशाखपछि पानी पर्ने र कामदार समेत नपाइने समस्याले काम हुन सक्दैन । ‘काम हुने बेलामा सरकारले बजेट दिँदैन काम नहुने बेलामा पैसा आएर के काम ?’ योजनाका एक अधिकारीले भने  ‘नियमित रुपमा काम गर्नका लागि अर्थ मन्त्रालयसँग एक सय करोड रुपैयाँ थप बजेट माग गरिएको भए पनि अहिले यो रकम स्वीकृत भएको छैन ।’ 

आर्थिक वर्ष २०७२/०७३ मा सुरु भएको सडक बिस्तारको काममा सुरुको वर्षमा २५ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । २०७३/०७४ मा भने थप ६० करोड रुपैयाँ बजेट थप भएको थियो । यो ५९ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । एकैचोटी बजेट बिनियोजन हुने र एकैचोटी ठेक्का लगाउन पाएको भए मात्रै समयमा काम सकिने योजनाका प्रमुख विनोद मौर्यले बताउनुभयो । किस्ताबन्दीमा बजेट आएका कारण किस्ताबन्दीमै ठेक्का लगाइएको छ । जसले गर्दा काम पनि किस्ताबन्दीमै भइरहेको छ । 

वनको बाधा 

व्यापारिक मार्ग बिस्तार आयोजना रानी, विराटनगर इटहरी धरान सडक योजनामा अहिले वन कार्यालय बाधक बनेको छ । सडकको आसपासमा रहेका रुख हटाउनु पर्ने भए पनि बनको झन्झटिलो प्रक्रियाले द्रुत गतिमा काम गर्न समस्या भएको छ । सडक विस्तार आयोजनको मोरङ खण्डमा एकचोटी टेण्डर प्रक्रियाबाट ठेकेदारले रुख हटाएको भए पनि सुनसरी क्षेत्रमा भने वनले झन्झट दिएको छ ।

वनको कानूनी जटिलता देखाउँदै ३ महिनादेखि सडक आसपासमा रहेका रुख कटान हुन सकेको छैन । जिल्ला वन कार्यालय सुनसरीले ठेकेदारमार्फत काम गर्न नदिएर सीधै आयोजनाले नै रुख काटेर इलाका रेञ्जपोष्टमा रुख काटेर लगिदिन भने पछि समस्या भएको हो । इलाका नै पिच्छेबाट कर्मचारी लगेर नाप्ने तथा अनुगमन गराउनु पर्ने काम आयोजनाले गर्नुपर्ने भएको छ । काटिएका रुख हराए आयोजनाले भरपाई गर्नुपर्ने भएपछि रुख काट्न भन्दा पनि काटिएको रुख वनको घाटगद्दी स्थलसम्म पुर्‍याउन सकस छ ।

आयोजनाका कर्मचारीका अनुसार समयमा वनका कर्मचारी फिल्डमा नगइदिने गए पनि काम नगरिदिने समस्याले हैरानी परेको छ । वन मन्त्रालयले कानुनी जटिलता हटाइदिए मात्रै पनि सडक विस्तारको काम द्रुत गतिमा हुने आयोजनाको दाबी छ । सुनसरीको तरहरा क्षेत्रमा काम गरिरहेका स्वच्छन्द–कान्छाराम–सैलुङ जेभी र आशिष–सन्तोषी–लुम्बिनी जेभीले सुरु गरेको काम वनको कानूनी जटिलतका कारण काम अगाडि बढ्न सकेको छैन । दुवै ठेक्का डेढ महिना अघि मात्रै लागेको हो । व्यापारिक मार्ग बिस्तारमा वनसँगै विद्युत प्राधिकरण, खानेपानी र नेपाल टेलिकमका संरचनाले समेत अवरोध भएको छ ।

सडक बिस्तारका क्रममा सडक छेउमा रहेका बिजुली र टेलिफोनको पोल सार्नु पर्ने र सार्नका लागि अन्य कार्यालयसँग समन्वय गर्न समस्या भएको इन्जिनियर सुमत पोख्रेल बताउँनु हुन्छ । यस्तै खानेपानीको पाइप समेत सडक किनारमा बिछ्याएको हुनाले सडक विस्तारका लागि फटाफट काम गर्न समस्या भएको छ । खानेपानी र बिजुली मानिसका दिनानु दिनका आवश्यकतासँग जोडिएका चिज हुन् । यसलाई हटाउन अरु कार्यालयको समेत सहयोग चाहिने भएकाले समयमै काम सक्न समस्या हुने आयोजनाको दाबी छ । 

गच्छदारको लोभी मन 

रानी–विराटनगर–इटहरी–धरान व्यापारिक सडक विस्तारमा दुहबी बजार क्षेत्रमा समस्या भएको छ । दुहबी बजार क्षेत्रको सडक विस्तारमा सडकको क्षेत्र अधिकार कम भएपछि काम गर्न समस्या भएको छ । दुहबी बजार क्षेत्रको डेढ किलोमिटरमा ठेक्का समेत लाग्न सकेको छैन । धरान–विराटनगर–रानी सडकको क्षेत्राधिकार बिच सडकबाट दायाँ–बायाँ १५–१५ मिटरसम्म छ । अर्थात मूल सडकको बिचबाट दुर्वतर्फ १५ मिटर सडकको जग्गा हो । आयोजनका अनुसार त्यो जग्गको सडकले मुआब्जा समेत वितरण गरिसकेको छ ।

२०३४ सालमै निर्णय भएको र मुआब्जा समेत दिइसकिएकाले अन्यत्र सडक मिचेर बनाइएका भौतिक संरचना हटाउन समस्या नभए पनि दुहबीमा भने समस्या देखिएको छ । २०५२ सालमा यातायात मन्त्री भएका बेला विजयकुमार गच्छदारले दुहबी बजार क्षेत्रको सडकको क्षेत्र अधिकार भने कटौती गरिदिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुहबी बजार क्षेत्रमा भने गच्छदारले सडकको क्षेत्र अधिकार १५–१५ मिटरबाट घटाएर २७ फिट मात्रै पारिदिनु भएको छ । नीतिगत रुपमै सडकको क्षेत्रअधिकार कटौती गरिदिएपछि दुहबी बजारमा सडक विस्तार गर्न समस्या भएको छ । आयोजना स्रोतले भन्यो, ‘हामीले क्षेत्राधिकार खोज्दै जाँदा सडकको अधिकार नै कटौती भएको रहेछ ।’

अहिले दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न दुवैतर्फ आठ–आठ मिटर जग्गा अपुग भएको छ । यो समस्या समाधान गर्न हामीले फाइल तयार पारेर मन्त्रालयमा पठाएका छाैँ । फेरि जग्गा अधिग्रहण गरेर मुअब्जा नदिएसम्म दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या हुने आयोजनाले जनाएको छ । पहुँचका कारण दुहवी बजार क्षेत्रमा अर्कै खाले नीतिगत व्यवस्था गरियो यसले हामीलाई काम गर्न समस्या छ । आयोजनाका एक अधिकारीले भने, ‘गच्छदारले मतदाता फकाउने बहानामा सडकको क्षेत्राधिकार नै त्यहाँका बासिन्दालाई हस्तान्तरण गरिदिनु भएछ ।’ 

ट्याङ्ग्रा ड्राइभर्सनको लिखत पत्र 

सडक बिस्तारमा समस्या देखिएको ट्याङ्ग्रा खोलाको व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिकाले उपाय सुझाएको छ । नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले टेयाङ्ग्रा खोला बुढी खोलामा डाइभर्सन गर्ने लिखत पत्र आयोजनालाई पठाउनुभएको छ । इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले पास गरी नसकेको हुनाले काम भने सुचारु भएको छैन । तर अब बस्ने कार्यपालिकाको बैठकले बुढीखोलामा ट्याङ्ग्रा खोला मिसाउने योजना पास गर्ने नगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले बताउनुभयो ।

धरान–विराटनगर सडकखण्डको इटहरीबाट सोनापुरसम्मका विभिन्न ठाउँमा एकापट्टीबाट ट्याङ्ग्रा खोला बग्ने गरेको छ । यो झण्डै ५ किलोमिटर क्षेत्र हो । एक पट्टी खोला भएकाले सडक बिस्तार गर्न आयोजनालाई समस्या भएकाले सडक बिस्तारका लागि सजिलो होस भनेर बुढी खोलामा डाइभर्सन गर्ने योजना बनाएको इटहरी उप–महानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले बताउनुभयो । उहाँका अनुसार इटहरीको बुधबारे हटियाको पुलबाट ट्याङ्ग्रा खोलालाई डाइभर्सन गरी बुढी खोलामा हाल्ने नगरपालिकाले योजना बनाएको छ ।

अहिले चालु हालतमा रहेको सडकमा नहर बनाएर खोलालाई बुढी खोलामा मिसाउने र नहर माथि सडक बनाइने योजना रहेको वरिष्ठ इन्जिनियर दाहालले बताउनुभयो । त्यसका लागि ८ सय मिटर नहर बनाउनु पर्ने हुन्छ । ट्याङ्ग्रा बुढीमा मिसाउँदा इटहरीको बजार क्षेत्रमा रहेको बाढीको जोखिम पनि समाधान हुने र सडक बिस्तारमा पनि सजिलो हुने भएकाले यो योजना अघि सारिएको नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया