MENU

समाज

ujyaalo forign call inside

टोपी दिवस किन चाहियो ? यसो भन्छन अभियन्ता

काठमाडौं, पुस १६ – सोमबार अंग्रेजी नयाँ वर्ष । धेरै युवाहरु आइतबारदेखि न्यू इयर इभमा झुमिरहेका छन् । तर केही युवाहरुले भने विगत पाँच वर्षदेखि भिन्न तरिकाले नयाँ वर्ष मनाउँदै आएका छन् । नेपाली मौलिकपन झल्किने गरेर नयाँ वर्ष मनाउने अभिप्रायले उनीहरु अग्रसर भएका छन् । 

जागरुक युुवा अभियान नेपालमा आबद्ध युवाहरुले हरेक वर्ष झैं यो वर्ष ‘नेपाली टोपी, नेपाली पहिचान’ भन्ने नारासहित पाँचौँ नेपाली टोपी दिवस मनाउँदै छन् ।

आँखा चिम्लेर विदेशी संस्कृति पछ्याईरहेको पुस्तालाई नेपालीपनप्रति आकर्षित बनाउन अभियान थालेको संयोजक घनश्याम श्रेष्ठ बताउँछन् । “हामीले जनवरी १ लाई साइत मानेर टोपी दिवसको थालनी गरेका होईनौ, नेपाली मौलिकपन झल्काएर नयाँ बर्ष मनाऔँ भन्ने सन्देश दिन खोजेका हौं” श्रेष्ठ भन्छन् । 

जातीय पहिचान खोज्ने राष्ट्रिय पहिचान हटाउने ?

अभियानका युवाहरुले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली पोशाकका सूचिमा रहेको दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको सूचिबाट हटाएकोमा समेत बिरोध गरेका छन् । देशमा जातीय पहिचानको कुरा उठिरहँदा राष्ट्रिय पहिचानबिहीन भएको उनीहरुको भनाई छ । “जातीय पहिचान आवश्यकता हो तर त्यसो भन्दैमा राष्ट्रिय पहिचान नै मेट्नु आवश्यक थियो र ?” विगत ५ वर्षदेखि नेपाली टोपीको प्रवर्द्धनमा सक्रिय संचारकर्मी रामजी बलामीको प्रश्न छ । 

पूर्व राष्ट्रपति रामवरण यादवदेखि गणतन्त्रवादी पुष्पकमल दाहाल प्रचण्डले समेत नेपाली टोपी ससम्मान लगाउने गरेको बताउँदै अभियन्ता बलामीले सदियाैँदेखि नेपालीलाई चिनाउँदै आएको भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्नुपर्ने बताए । अन्य जातीय टोपीहरुको संरक्षण र प्रर्वद्धन गर्दै यी टोपीहरुलाई राष्टिय पहिचानको रुपमा स्थापित गर्नुपर्ने बलामीको भनाई छ । 

टोपीको इतिहास र महत्व

विशेषतः ढाका टोपीलाई नेपालको चिनारीका रुपमा लिइनुका अनेक कारणहरु छन् । संस्कृतविदका अनुसार यो टोपीको डिजाइन नेपालमै भएको हो । जंगबहादुर राणाका पालामा उनका बहिनी डम्बरकुरमारी राणाले आफ्नो दाजुलाई खुशी पार्नका लागि यो टोपी बनाएर उपहार दिएको बताईन्छ । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

नेपाली टोपी सदियौंदेखि प्रचलनमा छन जुन समग्र नेपालको पहिचान बन्दै आएको छ । यो टोपीलाई न मौसम अनुसार लगाईन्छ न त कुनै अवसर विशेष पारेर लगाईन्छ । भारी बोक्नलाई होस् अथवा औपचारिक कार्यक्रममा होस यो टोपी नेपालीको शिरमा सजिएको हुन्छ । 

विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । किनकी यी टोपी आम विश्व समुदायमाझ नेपालीको चिनारी बन्न पुगेको छ । तराईका यादव समुदायदेखि हिमालका शेर्पा दाजुभाइ समेतले यो टोपीलाई सहर्ष स्वीकार गर्दै आएका छन् । 

दौरा सुरुवाल र ढाकाटोपी नलगाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भादगाउँले टोपी छुटाउनुभएन । क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बु, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन हो ।

अर्काे कुरा टोपीको बनोटले नै हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्ने संस्कृतविदले बताउँदै आएका छन् । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा लिइन्छ । नेपाली टोपीले नेपालीको शिर मात्र ढाकेको छैन जसले समग्र नेपालको शिर उच्च बनाउँदै आएको छ । 

दिवस नै किन त ?

सदियौँदेखि लगाउँदै आएको टोपीका लागि दिवस नै किन चाहियो त ? यसबारेमा अभियन्ताहरुको आफ्नो तर्क छ । केटाकेटी बेलादेखि भाद्गाउँले टोपी लगाएर आफ्नो नामको पछाडि नेपाल कालोटोपी जाडेका ज्ञानमणि कालाटोपी नेपाली टोपीको तथ प्रवद्र्धनका लागि दिवसको खाँचो परेको बताउँछन् । “अचेलका पुस्तालाई पनि नेपाली पोशाकप्रति आकर्षित तुल्याउन हामीले दिवसकै रुपमा मनाउन थालेका हौं” उनले भने ।

महिलाले पनि टोपी लगाइन्छ र ? 

टोपी दिवसमा धेरैजसो छोरी चेली बुहारीहरुले पनि टोपी लगाउने गरेको पाइन्छ । यसकारण पुरुषले लगाउने टोपी महिलाले लगाउन हुँदैन भन्नेहरु पनि छन । तर अभियन्ताहरुको तर्क बेग्लै छ । “सर्ट, पाइन्ट, मोटरबाइक, क्याप पनि पहिले पुरुषले मात्रै लगाउँथे÷चलाउँथे तर पछिल्लो समय यी उत्पादनहरु कसरी महिलामैत्री बने ?” 

अभियन्ता जनार्जन पौडेल प्रतिप्रश्न गर्छन् । पहिरन एउटा फेसन पनि भएकाले सोही अनुसारका टोपी पनि बनाउन सकिने पौडेलको तर्क छ । टोपी दिवसमा महिला र पुरुषलाई चिनाउन खोजिएको नभई टोपीलाई चिनाउन खोजिएकाले जसले लगाए पनि फरक नपर्ने अभियन्ताहरुको तर्क छ । ढाका टोपीको ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा पनि एक नारीको कलालाई अर्काे नारीले उपयोग गर्नु गलत नहुने अभियन्ताहरु बताउँछन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया