MENU

समाज

Ncell Axiata

​कहाँ हराए चार हजार महिला ?

नेपालगञ्ज, पुस १६ – मानव बेचबिखनबिरुद्ध कार्यरत माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जमा सन् २००२ देखि अहिलेसम्म १६ वर्षको अवधिमा चार हजारभन्दा बढी महिला तथा बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन परेको छ ।

तर १६ वर्षको अवधिमा फेला परेका महिला तथा बालबालिकाहरुको संख्या अत्यन्त न्यून रहेको छ । माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार १६ वर्षको अवधिमा ४ हजार ३ सय १८ महिला तथा बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन परेको छ ।  तर अहिलेसम्म  ६ सय १९ जना महिला तथा बालबालिका फेला परेका छन् । माइती नेपालका अनुसार १६ वर्षको अवधिमा श्रम तथा यौन शोषणमा परेका २ सय ४३ जनाको उद्धार गरिएको छ ।

अधिकांश महिलाहरुलाई भारतबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ । खाडी देशमा धेरै महिलाहरु श्रम तथा यौन शोषणमा परेको दाबीसहित निवेदन पर्ने गरे पनि उद्धारका लागि प्रभावकारी संयन्त्रको अभाव रहेको छ ।

यसवर्ष मात्रै खोजतलासका लागि ८ सय ३४ जनाको निवेदन परेकोमा  १ सय ५४ जना फेला परेका छन् । गएको वर्षको तुलनामा  यो वर्ष निवेदन परेको र बेचबिखनमा भेटिएका महिलाको संख्या बढेको तथ्याङ्कले देखाउँछ । अघिल्ला वर्षभन्दा यो वर्ष उद्धार गरिएको महिलाको सङ्ख्या पनि बढी रहेको छ । यस वर्ष श्रम तथा यौन शोषणमा परेका ६७ जनाको उद्धार गरिएको छ ।  खाडीसँगै भारतमा रेडलाइट भनिएका क्षेत्रबाट उद्दारका लागि कठिनाइ भएको माइती नेपालले जनाएको छ ।

‘नयाँ घटना बनाएर रेडलाइट एरियाबाट महिलाको उद्धार गर्न असहज छ’, क्षेत्रीय संयोजक कोइरालाले भन्नुभयो, ‘खाडीबाट उद्धारका लागि झनै समस्या छ ।’
माइती नेपालले पछिल्लो १६ वर्षको अवधिमा  ५ हजार ५ सय २२ जना जोखिमपूर्ण यात्रामा रहेकालाई सीमानाकाबाट उद्दार गरिएको  जनाएको छ । यो वर्ष मात्रै एक हजार ७१ जनालाई उद्दार गरिएको माइती नेपालले जनाएको छ । १६ वर्षको अवधिमा  बेचबिखनका घटनाका ७४ वटा मुद्धा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया