MENU

समाज

आँखा दानले दिएको नयाँ जीवन !

पुस १६– जन्मजात फूलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा आँखा बिग्रने सम्भावना हुन्छ ।

आँखामा समस्या भएको समयमा विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुने डाक्टरहरु बताउँछन् । नेपालमा दृष्टिविहिन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हुन्छ ।

नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिका लागि मृत्युपछि आँखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिविहिनले संसार देख्न पाउँने आँखा सम्बन्धि काम गर्ने डाक्टर बताउछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवाले धेरैजनालाई पुनर्जीवनको आशा देखाएको छ ।

आँखा प्रत्यारोपणपछि जीवन प्राप्त गर्नुभएका सविन बोगटी आफू जन्मजात दृष्टिविहिन हुनुहुन्थ्यो । उहाँ अहिले २२ वर्षको हुनुभयो । उहाँले अध्ययनलाई पनि छाड्नु भएको छैन । उहाँ अहिले स्नातक तहमा अध्ययन गर्नुहुन्छ । सविन भन्नुहुन्छ, ‘मलाई आफू दृष्टिविहिन भएको पिडाले जहिले पनि सताउँथ्यो । तर मरणोपरान्त कसैले दान गरेको आँखाले अहिले म संसार हेर्न सक्ने भएको छु । जसले आँखा दान दिए उहाँहरुलाई जति धन्यवाद दिए पनि अपुग हुन्छ ।’

आँखा दानपछि जीवन पूर्ण भएको अनुभव छ बन्दिता कार्कीको । उहाँ बगंलादेशमा एमबीबीएसको फाइनल परिक्षा सकाएर बस्नुभएको छ । ‘मेरो आँखामा केराटोकनस नामक समस्या थियो जसको कारणले मेरो आँखाको नानी बिग्रियो ।’, बन्दिता भन्नुहुन्छ, ‘ आँखाको ज्योति नहुँदा दैनिक काम गर्न गाह्रो भयो । कन्ट्याक लेन्स लाउँथे तर कडा लेन्सले आँखामा धेरै चोटी घाउ भयो । त्यसैले आँखाको नानी प्रत्यारोपण गर्ने निणय गरँे । मेरो आँखाको नानी दुई साता अगाडि मात्र प्रत्यारोपण गरेकी हुँ । अहिले एकदम छर्लङ देख्छु र म एकदमै खुसी छु ।’

आफ्नो छोराको आँखाको नानी प्रत्यारोपणपछि दुईजनाले जीवन प्राप्त गरेकोे अनुभव बताउनुहुन्छ मनकुमारी केसी । केसीले १९ वर्ष पुगेको छोरो गुमाउनुप¥यो । उहाँ छोरो गुमाएर दुखित त हुनुभयो नै तर उहाँको छोराको आँखाले अरु दुई जनाको जीवन प्राप्त भएकोमा उहाँ खुसी हुनुहुन्छ । केसी भन्नुहुन्छ, ‘छोरा गुमाए पनि मेरो छोराको आँखाले अहिले २ जना दृष्टिविहिनले संसार देखिरहेका छन् । मलाई छोराले नै हेरिरहेको महसुस हुन्छ ।’

यो वर्ष २ सय ३५ जनालाई आँखाको नानी प्रत्यारोपण गरिको विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंहले जानकारी गराउनुभयो । उहाँले एक जनाबाट आँखाको नानीले चार जना दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न सक्ने प्रविधिको विकास भएको जानकारी गराउनुभयो ।

नेपाल आँखा बैंकमा अहिले ७० हजारभन्दा बढी दाताले मृत्युपछि आँखाको नानी दान गरेका छन् भने  झण्डै १२ हजार ५ सय जनाले आँखाको नानी पत्यारोपणपछि दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्नेको सङ्ख्यामा वृद्वि भएको आँखा बैंकले जनाएको छ ।

सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमै आँखा प्रत्यारोपणको सुरुआत भएको हो । आँखा बैंकले मृत्युपछि आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी  उपलब्ध गराउने गर्दछ ।

सुरुवातको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि जनचेतना प्रदान गर्ने आँखा बैंकले अहिले आर्यघाट विद्युतीय शवदाह गृहलगायत काठमाडौंमा रहेका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा दान गर्न परामर्श गर्ने गरेकोे छ ।

दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गर्दै आएको नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गर्ने व्यक्तिको सम्मानमा सामुहिक श्रद्धाञ्जलीसभा आयोजना गर्ने गरेको छ । यस वर्ष पुस १५ गते शनीबारका दिन बैंकले सामुहिक श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया