MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

सन् २०१७ : डोनाल्ड ट्रम्प र किम जोङ उन सर्वाधिक चर्चामा

काठमाडौं, पुस १६ – आइतबार राति १२ बजेबाट अङग्रेजी वर्ष २०१७ सकिँदैछ । सन् २०१७  मा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा विभिन्न गतिविधि भएका छन् । विशेष गरी यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको जुहारी धेरै नै चल्यो ।

उत्तर कोरियाले गरेको आणविक बम परिक्षण र त्यसको विरोध गरेको अमेरिकाबिचको जुहारी यो वर्ष भरी नै चलिनै रह्यो । सन् २०१७ मा विश्वमा भएका मुख्य गतिविधि ।  

अमेरिकी सत्ता परिवर्तन

सन् २०१७ को सुरुमा नै अमेरिकाको सत्ता परिवर्तन भयो । २०१७ जनवरी २० मा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिएर ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भए । राष्ट्रपतिको सपथ लिएर ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पले केही विवादास्पद निर्णय गरेर चर्चामा रहे । 

सन् २०१६ को नोभेम्बर ८ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा रुसी हस्तक्षेप भएको । त्यो हस्तक्षेपले डोनाल्ड ट्रम्पलाई जिताउन र हिलारी क्लिन्टनलाई हराउन भूमिका खेलेको विषयले २०१७ भरि चर्चा पायो । 

त्यस्तै २०१७ नोभेम्बर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज हुनुपर्ने भाषण गरे, जुन विश्वभर चर्चित रह्यो ।

जिम्बावेमा ३७ वर्ष लामो शासनको अन्त्य 

२०१७ नोभेम्बर १७ मा जिम्बावेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबेको ३७ वर्ष लामो सत्ता हातमा लियो । मुगाबेले सन् १९८० मा जिम्बाबे स्वतन्त्र भएदेखि देशको नेतृत्व गर्दै आएका थिए । जिम्बाबेको स्वतन्त्रता संघर्षमा महत्वपूर्ण भुमिका निर्वाह गरेका उपराष्ट्रपति इमर्सन मानागाग्वालाई हटाएर मुगाबेले श्रीमतीलाई उत्तराधिकारी बनाउने तयारी गरेपछि सेनाले सत्तामाथि हस्तक्षेप गरेको थियो ।

म्यानमारमा रोहिंग्या संकट 

२०१७ को धेरै चर्चामा रहेको विषयमध्ये म्यानमारको राखिने राज्यमा रहेका रोहिंग्या माथिको अत्याचार पनि एक हो । सन् २०१७ भरि नै रोहिंग्या संकटबारे धेरै बहस र विवाद उत्पन्न भए । तर, अगस्टको अन्तिम साता त्यहाँको लडाकु समूहले प्रहरी चौकीमा आक्रमण गरी १२ जना प्रहरीको हत्या गरेपछि रोहिंग्या विरुद्ध सेनाले भीषण कारबाही चलाएको थियो । 

अगष्टदेखि सुरु गरीएको सैनिक कारबाहीमा हजारौं मारिए भने लाखौंको संख्यामा विस्थापित भए । म्यानमारबाट विस्थापित भएर सीमा पारी गएका ६ लाख भन्दा बढी रोहिंग्या शरणार्थीका रुपमा बंगलादेशमा शिविरमा बस्दै आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन 

यस वर्ष अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन पनि २०१७ को प्रमुख घटनाका रुपमा रह्यो । यस महाधिवेशनले पाँच वर्षका लागि राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाएर संस्थापक माओ सेतुङ सरहको हैसियत प्रदान गरेको छ ।

सी जिनपिङ विचाधारालाई चीनियाँ कम्युनिष्ट पार्टीले संविधानमा राख्ने निर्णय गर्दै उनलाई माओ र देङ सियाओ पिङपछिका सबैभन्दा शक्तिशाली स्थानमा राखेको छ । यससँगै यसलाई चीनमा कम्युनिष्ट पार्टीले शासन सुरु गरेपछिको तेस्रो युगका रुपमा हेरिएको छ ।

डोकलाम विवाद 

चीन, भुटान र भारतबीचको सीमा क्षेत्र डोकलाम विवाद पनि सन् २०१७ मा चर्चाको विषय बन्यो । खासगरी डोकलामको विषय चीन र भुटानबीचको सीमा विवाद नटुंगिएको भएर पनि भारतसँग चीनको विवाद बढेको थियो । चीनले डोकलाम क्षेत्रमा सडक निर्माण गरेपछि त्यो क्षेत्रमा भारतले सेना पठाएको थियो । जसका कारण दुई देशबीच तनाव सिर्जना भएको थियो । डोकलाम भुटान, चीन र भारतबीचको सीमा क्षेत्रमा पर्छ । 

जुन महिनामा चीनियाँ जनमुक्ति सेनाले डोकलाममा निर्माण गरेको सडकमा भारतीय सेनाले अवरोध गरेको थियो । चीनले त्यसको कडा विरोध गर्नुका साथै भारतलाई आफ्ना सेना फिर्ता गर्न चेतावनी दिँदै आफ्नो सैनिक संख्या पनि थपेको थियो । अन्ततः भारतले आफ्ना सेना हटाएपछि तनाव कम भएको थियो । 

खाडी राष्ट्रमा उत्पन्न विवाद 

सन् २०१७ जुन ५ मा साउदी अरबसहित, यूएई, बहराइन, इजिप्टलगायतले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएका थिए । आतंकवादलाई प्रायोजन गरेको आरोपमा यी देशहरुले कतारमाथि व्यापार तथा यात्रामा समेत प्रतिबन्ध लगाएको थियो । जसका कारण कतारमा महँगी बढ्नुका साथै साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

गोर्खाल्यान्ड आन्दोलन 

भारतको गोर्खाल्यान्ड आन्दोलन पनि २०१७ को चर्चित घटना मध्येको एक हो । भारतको दार्जिलिङ, कालेबुङलगायत पश्चिम बंगालको पहाडी क्षेत्रमा रहेका नेपाली भाषीमाथि बंगाल सरकारले बंगाली भाषा अनिवार्य बनाएपछि नेपाली भाषीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा प्रहरीले व्यापक दमन गरेपछि आन्दोलन गोर्खाल्याण्डको मागतर्फ मोडिएको थियो । यो आन्दोलन निष्कर्ष विहीन साम्य भए पनि यसले भारतमा ठुलो हलचल ल्याएको थियो

किम जोङ उन 

सन् २०१७ मा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन पनि निकै चर्चामा रहे । उनी बारम्बार शक्तिशाली आणविक क्षेप्यास्त्र परिक्षण गर्दै चर्चामा आएका थिए । उत्तर कोरियाले अमेरीका, रुसलगायतका राष्ट्रहरुले नाकाबन्दी लगाउँदासमेत क्षेप्यास्त्र परिक्षणलाई निरन्तरता दिएका छन् । 

एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परिक्षण गर्दै आएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परिक्षण गर्दै सिङ्गो अमेरिका आफ्नो पहुँचभित्र रहेको बताएको थियो ।

   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • भारतको दिल्लीमा आम आदमी पार्टीका २० जना सांसदको पद खारेज

    माघ ७ - लाभको पदमा बसेको भन्दै भारतको नयाँ दिल्लीमा आम आदमी पार्टीका २० सांसदको पद खारेज भएको छ ।

  • काबुलको अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीको आक्रमण

    माघ ७ – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । कम्तिमा चारजना आक्रमणकारीले काबुलको अन्तर्राष्ट्रिय होटलमा आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् ।

  • अमेरिकामा बजेट सम्बन्धी विधेयक असफल, संघीय निकाय बन्द

    माघ ६ – अमेरिकाको सिनेटमा नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेका छन् । रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच अन्तिम समयमा संयुक्त छलफल भए पनि सरकारी कार्यसञ्चालनका लागि आउँदो फेब्रुअरी १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक सिनेटमा असफल भएको हो ।

  • अमेरिकाका लागि चरमपन्थी भन्दा रुस र चीनबाट खतरा

    माघ ६ – अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाको रणनीतिक परिवर्तनमा जोड दिनुभएको छ । अमेरिकी सेनाको प्राथमिकता अब चरपन्थीसँग लड्नुको साटो रुस र चीन जस्ता प्रतिस्पर्धीको तुलनामा शक्तिशाली बन्न तर्फ हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

  • दिल्ली सरकारलाई झट्का, केजरीवालले २० सांसद गुमाउने सम्भावना !

    दिल्लीमा आम आदमी पार्टीका २० जना विधायकलाई संसदीय सचिव बनाएको विषयले भारतीय राजनीति फेरि तातेको छ । संसदीय सचिवको पदमा बसेका आम आदमी पार्टीका २० विधायकको सदस्यता रद्द गर्न चुनाव आयोगले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया