MENU

राजनीति

Ncell Axiata
NIC Asia

६ महिनादेखि तलब नपाएको मेलम्ची आयोजनाका मजदुरको गुनासो

सिन्धुपाल्चोक, पुस १७ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ ले मजदुरलाई ६ महिनादेखि तलब दिएका छैनन् ।

सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा ६ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका छन् ।

ठेकेदार कम्पनीले निश्चित काम गर्न तोकिएकाले मजदुरलाई पारिश्रमिक नदिँदा अन्तिम चरणमा पुगेको आयोजनाकै काम अवरुद्ध हुन सक्ने चिन्ता बढेको सडकमा काम गर्न खटिएका हेलम्बु गाउँपालिका–२, क्यूलका चिरञ्जीवी भण्डारीले बताउनुभयो । “हामीलाई काम लगाएकाले छ महिनादेखि तलब दिएनन्, यसले गर्दा काम गर्ने कि नगर्ने भन्ने द्विविधामा छौँ, यसअघि पनि पारिश्रमिक नपाउँदा बाटो छेकेर लिएका थियौँ, काम गरेको पारिश्रमिक पाउन पनि पटक पटक धाउनुपर्ने बाध्यता छ”, आफूले भोग्नुपरेको पीडा सुनाउँदै उहाँले भन्नुभयो ।

लामिछानेले सिएमसीको सब कन्ट्र्याक्टरका रुपमा ग्याल्थुममोडदेखि अम्बाथानसम्मको सडक मर्मत–सम्भारको जिम्मेवारी पाउनुभएको छ । रासससँग कुरा गर्नुहुँदै लामिछानेले यसअघि पनि तीन÷तीन महिनाको अन्तरमा पारिश्रमिक दिने गरेको स्वीकार्नुभयो ।

ठेकेदार कम्पनी सिएमसीका जनशक्ति विभाग प्रमुख देवी अधिकारीले मेलम्ची खानेपानी विकास समितिले पैसा नदिएकाले सब कन्ट्र्याक्टरलाई पैसा दिन नसकेको बताउनुभयो । अम्बाथान, ग्याल्थुम, सिन्धु लगायतका सब कन्ट्र्याक्टरलाई विगतदेखि नै समयमै पैसा दिन नसकिएको उहाँले बताउनुभयो ।

कम्पनीका लेखा प्रमुख कैलाश श्रेष्ठले भने कुनै पनि सब कन्ट्र्याक्टरलाई पैसा दिन बाँकी नरहेको दाबी गर्नुभयो । यता ग्याल्थुम र सिन्धुमा काम गरिरहेका मजदुरले पनि ‘सब कन्ट्र्याक्टर’ले महिना सकिने बित्तिकै तलब नपाएको गुनासो गरेका छन् ।

मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्त भने नियमबमोजिम नै ठेकेदार कम्पनी सिएमसीलाई भुक्तानी दिइएको बताउनुहुन्छ । “ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले बिल भर्पाइसहित पैसा माग गरेको ५६ दिनभित्र भुक्तानी गर्नुपर्ने नियम छ, ५६ दिनसम्म पनि भुक्तानी नदिए बिल बापतको रकममा समितिले ब्याज तिर्नुपर्छ, अहिलेसम्म ५६ दिन कटाएर समितिले ब्याज तिरेको छैन”, उहाँले भन्नुभयो ।

नयाँ वर्षमा पानी खसाल्ने प्रतिबद्धता

मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको आठ दशमलव दुई किमी सुरुङ शनिबार छिचोलिएको घोषणा गर्न आइबार अम्बाथानमा आयोजित कार्यक्रममा खानेपानी तथा सरससफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी, सचिव गजेन्द्रकुमार ठाकुर र आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विसं २०७५ को वैशाखमै मेलम्चीको पानी काठमाडौं पु¥याइने प्रतिबद्धता जनाउनुभयो । 

राज्यमन्त्री गद्दीले मेलम्चीको पानी राजधानीमा खसालेर सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनालाई विपनामा परिणत गर्न सरकार प्रतिबद्ध रहेको सुनाउनुभयो । यसअघि गएको वर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमी सुरुङ छिचोलिएको थियो । ग्याल्थुम–सिन्धुखण्डको करिब १० किमी सुरुङमध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्न बाँकी ग्याल्थुम अम्बाथानमा कमजोर चट्टान भेटिएकाले काममा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । यो खण्डमा हाल दैनिक नौदेखि १० मिटर सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माण भइसकेको स्थानमा भुइँ ढलानको काम सुरु गरिएको छ । दुई महिनामा सबै सुरुङ निर्माण सम्पन्न भइसक्ने सचिव ठाकुरको भनाई छ ।

“एसियामै मेलम्चीजस्तो आयोजना छैन, यो अप्ठ्यारो योजनामा सहयोग गरेर एसियाली विकास बैंकले गुण लगाएको छ”, उहाँले भन्नुभयो । सुरुङ सम्पन्न भएपछि यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी लैजाने सरकारको योजना छ । 

दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । सुन्दरीजलमा नेपालकै ठूलो, प्रविधियुक्त र अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । 

पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया