MENU

समाज

ujyaalo forign call inside

पक्की घरले छोरी–बुहारीको कष्ट हट्यो

पी.टी. लोप्चन/उज्यालो । 

रसुवा, पुस १७ – ढुङ्गा र माटाले बनेको घर हुँदासम्म रसुवाको कालिका गाउँपालिका–४ उपल्लो रुप्सेपानीकी कोपिला पौडेलले बिहानै उठेर चुलोचौको लिपपोत गर्नुपर्थ्यो । उज्यालो भएर लिपपोत गर्दा समाजमा कुरा काट्ने डरले उज्यालो नहुँदै उठेर घरको ढोका र चुलोचौको लिपपोत गरिसक्नुपर्ने उहाँको बाध्यता थियो । 

ढुङ्गा माटोले बनेको घर हुँदा कोपिला पौडेलले जस्तै भित्र बाहिर लिपपोत गर्नु पर्ने सबै महिलाको बाध्यता अब हटेको छ । भूकम्पले भत्किएपछि बनाएको सिमेन्टको घरले कोपिला जस्ता धेरै छोरी–बुहारीको कामको बोझ हटेको हो ।  

सिमेन्ट प्लास्टर गरेपछि अब पहिले जस्तो दिनहुँ माटो मुछेर लिपपोत गरिरहनु परेको छैन ।  माटोले बनाएको घरमा जत्ति धुलोमैलो पनि नभएपछि कुचो लगाइरहनुपर्ने झन्झट पनि हटेको छ । रसुवाकी रुपसेपानीकी सीतादेवी पौडेल भन्नुहुन्छ ‘खाना ग्यासको पकाउन थालेका छौं, भुँइमा कार्पेट बिछ्याएका छौं, ढोकामा खुट्टा पुछ्ने गुन्द्री राखेका छौं, अब किन चाहियो माटो ? किन उठ्नु प¥यो बिहानै ? महिलालाई हाइसन्चो भएको छ ।’

आधा जीवन ढुङ्गा माटोको घर लिपपोत गरेरै बिताएका सीतादेवीका कथाव्यथा धेरै नै छन् । बिहानै उठेर चिसो पानी खेलाउनु पर्दा उहाँका हात खुट्टा पटपट् फुट्ने गर्थ्यो । ‘पानी नै खेलाउनु नपरेपछि घरका छोरीबुहारीको हातखुट्टा फुटेका छैनन्’ अहिले सीतादेवी भन्नुहुन्छ ।  

घरको लिपपोत गर्न जस्तोसुकै माटो उपयुक्त नभएकाले घरभन्दा टाढा गएर माटो पनि बोक्नुपर्थ्यो । सिमेन्टका घरलाई लिपपोत पनि गर्नु नपरेपछि माटो बोक्नुपर्ने कष्ट पनि हटेको छ । ‘पानी छेपछ्याप गरेर कुचो लगाउँदा पनि हुने भएपछि माटो बोकिरहनु पर्ने झण्झट पनि हटेको छ, हामीलाई त पहिले हेरी त स्वर्ग जस्तै भएको छ’ रुप्सेपानीकै गीता पौडेलले भन्नुभयो । 

भूकम्पले पूरै भत्किएका ७ लाख ६७ हजार ७ सय ५ घर मध्ये अहिलेसम्म ७९ हजार ५ सय १४ घर बनिसकेका छन् । पहिले भूकम्प प्रभावित बस्तीमा पहिले पुग्दा जस्ताले बनेका टहरामात्र देखिन्थे भने अहिले गाउँभरि सिमेन्टको घर बनिरहेको भेटिन्छ ।

ढुंगा माटाले बनाएका पुराना घर भत्किएपछि अहिले धेरैजसो भूकम्प प्रभावितले सिमेन्टका घर बनाएका छन् । सिमेन्टको घर बनाउँदा भूकम्प प्रतिरोधी हुने मात्र होइन, छोरी–बुहारीको कामको बोझ पनि हट्दो रहेछ भन्ने पुष्टि भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया