MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

लयका खानी ! बसन्त थापा

देब पचभैया/उज्यालो ।

पाल्पा, पुस १७ – संगीतकार बसन्त थापा चर्चामा रहेका संगीतकार हुन् । धेरै लोकदोहोरी गीतमा थापाले लय भरेका छन् । थापाले लय भरेका पहिलेका गीतहरु ‘फूल राम्रो गुलाबको’, ‘नजाउ है सानु पँधेरीमा’ लगायतका गीतको एक लाखभन्दा बढीले सिआरबिटी राखेका थिए ।

‘आज माया मसँगै’, ‘डाँडै फूर्के सल्लो’, ‘रुमाल हल्लाई हल्लाई’, ‘यस्तै रैछ माया’, ‘जुनले मात्रै देख्छ’, ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’ लगायतका चर्चित लोक गीतमा पनि उनले संगीत भरेका छन् । पाँच हजारभन्दा बढी गीतमा लय भरेका उनले लय बनाए वापत १५ हजार देखि ५० हजारसम्म लिने गरेको बताउँछन् ।   नव प्रतिभा र चल्तीका कलाकार हेरेर पारिश्रमिक लिने थापा भन्छन् ‘चित्त बुझाएरै पैसा लिएको छु, पारिश्रमिक बिना काम गर्ने हो भने, कलाकारिता हराउन सक्छ ।’

सानै उमेरदेखि लोक गीत खुब मन पराउने बसन्त २०५७ र ५८ सालमा गलकोटमा भएको लोक गीत र दोहोरी गीत प्रतियोगितामा पहिलो भएपछि ठूलो कलाकार बन्ने सपना बुनेका थिए । उनले २०६४ सालमा पहिलोपटक लय बनाएका थिए । महिनामा ३÷४ वटासम्म लय बनाउने उनले शब्दको भाव केलाएर मेलोडीको स्रोत पत्ता लागेपछि बिट बनाउने बताउँछन् ।

लय बनाएरै सरदरमा मासिक ५० हजार आम्दानी गर्ने बसन्त भन्छन् ‘लय बनाउने समय भन्ने हुँदैन, कति पटक लय बनाउन बस्दा नबनेका पनि रेकर्ड छन् । कहिलेकाहीँ लय बनाउन दुई महिना पनि लागेको छ ।’ बाटोमा हिड्दा वा कुनै काम गर्दा लय फुरेमा मोबाइलमा रेकर्ड गर्ने र हार्मोनियममा बसेर लयलाई साइजमा ल्याउने गरेका छन् ।  विषयबस्तु राम्रो भएका कथा समेटिएका गीतहरु स्रोताले बढी मन पराएको बताउँछन् बसन्त । शब्द, संगीत, लय र गायकीपन सबैमा राम्रो भए मात्रै गीतले बढी सफलता पाउँछ ।

बिबिएससम्म पढेका बसन्तले गल्कोट बाग्लुङबाट कक्षा १२ सम्मको अध्ययन गरेका थिए । उनी १२ वर्ष अगाडि काठमाडौं आएका हुन् । २०६१ सालमा निलोफेवाताल नामक दोहोरी गीत निकालेर साङ्गीतिक क्षेत्रमा पाइला टेकेका बसन्तले निकालेका ‘जुनले मात्रै देख्छ’, ‘डाडै बिसाउनी’, ‘आज माया म सँग तरक तरक छ’ लगायतका गीतमा आफैले आवाजसमेत दिएका छन् । उनको आवाजमा रहेका धौलागिरीमा प्रचलित पञ्चेबाजाहरु ‘निम्तो छ बिहेको’, ‘अझै कन्ने हो’,  ‘लगनको महिनाले’, ‘करुवाको जल’ जस्ता गीतहरु अहिले पनि हरेक कार्यक्रममा निकै बज्ने गीतहरु हुन् । एक वर्ष अघि बजारमा आएर लोकप्रिय बनेको पञ्चे बाजाको दोहोरी वारी घुम्टे पारी गाजा पनि थापा आफैले गाएका हुन् ।

थापाले संगीत भरेका आधुनिक गीतहरु पनि चर्चामा छन् । ‘यो माया हराएको शहर हो प्रिया’, ‘आगोले के पोल्छ र, तिम्रो यादले पोल्छ’, ‘धेरै गाँए गजल गीत जुनको बारेमा’ लगायतका गीतमा उनले नै संगीत भएका छन् । कलाकारितामा लागेर दुबई, जापानलगायतका देश घुमेका बसन्तलाई स्टेज कार्यक्रममा पुग्नु ठूलो अवसर हो भन्ने लाग्छ । शुभचिन्तकलाई भेट्ने र क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने हुनाले पनि उहाँ जहाँ बोलाउँछन् त्यहाँ पुग्ने गरेको बताउँछन् ।

अहिलेसम्म कमाएको पैसा नि ? उज्यालो अनलाईनको प्रश्नमा उनी गम्भीर बने । निकै बेरपछि बसन्तको अवाज आयो ‘ढुकुटीले २३ लाख खाईदियो ।’ ‘कुरा २०६७/०६८ को हो । अग्रज कलाकारहरुको लहैलहैमा लागेर ढुकुटीमा पैसा जम्मा गराैँ, उनले भने, ‘अहिले लोन लिएर ब्याज चलाएको छु ।’

नेपाल संगीत उद्योग संघका पूर्व महासचिवसमेत रहेका थापाले आफू कलाकारितामा आउनुमा नाताले फुपुको छोरा पर्ने छिमेकी कलाकार विष्णु खत्रीको हात रहेको बताउँछन् ।  ‘चलेका कलाकारको पछि लागेँ । पछि यहाँसम्म आएँ’, ८ वर्ष अघिको प्रेम विवाहको प्रसङ्ग कोट्याउँदै बसन्तले भने, ‘मेरो पछि लाग्नेहरु पनि धेरै थिए ।’

श्रीमती र छोराको साथमा काठमाडौं बानेश्वर बस्दै आएका बसन्तले कलाकारलाई कलाकार भएर बाँच्ने वातावरण बनाउन सरकारको साथ हुनुपर्नेमा जोड दिए । 

सिआरबिटी र  पिआरबिटीबाट केही कम्पनी बने पनि कलाकारले केही नपाएको उनको गुनासो छ । ‘आजकाल क्यासेट र सिडी बिक्न छाड्यो, राम्रा कलाकारलाई राखेर गीत बनाएर मात्रै हुँदैन, भिडियो बनाउनु पर्‍यो, टिभि र एफएममा विज्ञापन गर्नुपर्‍यो’ हौसिँदै थापाले भने, ‘त्यही भएर लय बनाउने मेरो कला फस्टाएको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया