MENU

समाज

बाढीपहिरो रोकथाममा कम खर्चिलो भू–संरक्षण प्रविधि

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, पुस १७ – भू–क्षय, बाढीपहिरो र प्राकृतिक प्रकोपले प्रभावित उच्च पहाडी जिल्ला म्याग्दीमा कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि प्रयोग गरिएको छ । बाढीपहिरो रोकथाम गर्नका लागि कम खर्चिलो भू–संरक्षण प्रविधिमार्फत क्षतिको न्यूनिकरण गरी समुदायस्तरमा जनचेतना बढाउन यस्तो प्रविधि अपनाइएको हो ।

गएको ४ वर्षदेखि म्याग्दीमा भू–क्षय र बाढीपहिरोको रोकथाम गर्न कम खर्चिलो भू–संरक्षणको प्रविधि अपनाइएको जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको साविक ओखरबोट गाविस, बेनी नगरपालिकाको डम्बरा, अर्थुङ्गे र ज्यामरुककोटस्थित शान्ति सामुदायिक वन क्षेत्रमा पर्ने सडक तथा पाखोमा भू–संरक्षणसम्बन्धी कम खर्चिलो प्रविधिको प्रयोग गरिएको छ ।

गाउँघरमा जाने बाढीपहिरो, भू–क्षय, गल्छी पहिरोको उपचार र जमिनको धाँजा फाट्ने कार्यको रोकथाम गर्न समुदायस्तरमा पाइने बाँस, काठ, नेपियर, अम्लिसो, बाबियो, काँसलगायतको प्रयोग गरी पहिरो रोकथाम गर्ने प्रविधि अपनाइएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

पछिल्लो समय सडकका कारण बाढीपहिरोको जोखिम ह्वात्तै बढ्न थालेपछि बढी खर्च हुने ग्याविन तारजाली भन्दा समुदायमा उपलब्ध स्थानीय स्रोत साधन, सामग्री र परम्परागत सीप तथा प्रविधिको प्रयोग गरिएको उहाँले बताउनुभयो ।

स्थानीय प्रविधिअन्तर्गत बाँसको प्रयोग गर्नुका साथै ढुङ्गा तथा गेगर नपाइने ठाउँमा बोरामा माटो र बालुवा भरेर पहिरो र बाढीको रोकथाम गर्ने गरिएको छ । कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधिअनुसार ब्रसलेयरिङ, फेसिन, घाँसरोपण, पेलिसेट, अम्लिसो तथा बाँस रोप्ने, जीवित बार लगाउने जस्ता प्रविधिहरु अपनाइएको जिल्ला भू–संरक्षण अधिकृत पौडेलले जानकारी दिनुभयो । कम खर्चिलो प्रविधिमार्फत भू–क्षय रोकथाम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

बाढीपहिरोले प्रभावित क्षेत्रमा बाबियो, नेपियर, अम्लिसो, बाँस, सजिवन, सिमली जस्ता बोटबिरुवाहरु रोपिएको छ । बाढीपहिरो ग्रसित क्षेत्रमा पर्ने सडकका छेउछाउ र भिरालो जमिनमा सिमल, सजिवन, खिर्रो, काब्रो, फलेदो, बइँस, किम्बुलगायत हाँगा सर्ने प्रजातिका विरुवाहरु रोपिएको छ भने बाँसको बाँध बनाइएको छ । ति क्षेत्रमा सर्ने विरुवाको पेलिसेट बनाउनुका साथै, सुख्खा ढुङ्गाको पर्खाल लगाउने, बाँसको मान्द्रे बनाउने जस्ता कार्यहरु पनि गरिएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका ४५ वटैै वडाहरु भू–क्षय र बाढी पहिरोको चपेटामा रहेका छन् । तिमध्ये ओखरबोट, चिप्लेटी, पात्लेखेत, निस्कोट, भकिम्ली, बेगखोला, पाखापानीलगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा छन् ।

वर्षायामको समयमा म्याग्दीबाट ३० लाख ४५ हजार ६ सय ९० घनमिटर बाटो बग्ने गरेको भू–संरक्षण कार्यालयको तथ्याङ्क रहेको छ । कमजोर तथा भिरालो भू–बनोट, डोजरको प्रयोगले बाटो खन्दा बाढीपहिरोको जोखिम बढेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया