MENU

समाज

Ncell Axiata
NIC Asia

रसुवाका स्थानीय तहले शिक्षकलाई तलब खुवाउन सकेनन्, ३ करोड अभाव

रसुवा, पुष १७ – रसुवामा कार्यरत शिक्षकलाई स्थानीय तहले तलब खुवाउन नसक्दा समस्या भएको छ । शिक्षा विभागले प¥याप्त मात्रामा रकम निकासा नगर्दा तलब खुवाउन समस्या भएको हो । 

जिल्लामा २० करोड ८९ लाख १८ हजार रकम आवश्यक पर्ने भएपनि शिक्षा विभागले १८ करोड ६ लाख २८ हजार मात्र रकम निकासा गरेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ । 

रकम अभाव भएको भन्दै जनप्रतिनिधिले समाधानका लागि पहल गरिदिन आग्रह गरेपछि कार्यालयले विभागमा रकम निकासाका लागि पत्र पठाएको छ । ‘रकम निकासा गर्दा नै चार वटा गाउँपालिकामा कार्यरत शिक्षकलाई आवश्यक पर्ने रकम निकासा गरिएको देखिएन, समाधानका निम्ती हामीले विभागमा लेखेर पठाएका छौँ’, जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले भन्नुभयो । 

पाँच ओटा स्थानीय तह रहेको रसुवामा पार्वतीकुण्ड गाउँपालिकामा मात्र रकम पुग्ने देखिएको छ । यो गाउँपालिकामा तलबका लागि आवश्यक पर्ने रकमभन्दा बढी निकासा भएको छ । 

पार्वतीकुण्डमा आवश्यक पर्ने २ करोड ३० लाख २३ हजारमध्ये दुई करोड ६७ लाख ३८ हजार रकम निकासा भएको गाउँपालिकाले जनाएको छ । जिल्लामा बाल विकास केन्द्र, प्राथमिक, आधारभूत र माध्यमिक तहमा कार्यरत दरबन्दी र राहतका शिक्षकलाई तलब खुवाउन समस्या परेको बताइएको छ ।

शिक्षकका लागि स्थानीय तहले तलब उपलब्ध गराउने भनिए पनि रकम अभावले तलब खुवाउन समस्या भएको हो । कार्यालयले दिएको जानकारी अनुसार उत्तरगया गाउँपालिकामा आवश्यक पर्ने ५ करोड ५ लाख ५० हजारमध्ये ३ करोड ८९ लाख ६४ हजार मात्र रकम निकासा भएको छ ।

कालिका गाउँपालिकामा ५ करोड २२ लाख ७६ हजार रकम आवश्यक पर्ने भएपनि तीन करोड ८८ लाख ९० हजार रकम निकासा भएको बताइएको छ । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकामा ३ करोड ४१ लाख २३ हजार रकम आवश्यक पर्ने भएपनि २ करोड ३१ लाख ७१ हजार रकम आएको छ भने नौकुण्ड गाउँपालिकामा करिब ७१ लाख रकम अपुग भएको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने पार्वतीकुण्ड गाउँपालिकामा भने आवश्यकता भन्दा बढी रकम निकासा भएको छ । त्यहाँ आवश्यक पर्ने २ करोड ३० लाख २३ हजारमध्ये २ करोड ६७ लाख ३८ हजार रकम निकासा भएको जिल्ला शिक्षा अधिकारी न्यौपानेले बताउनुभयो । जिल्लामा अहिले ९७ ओटा सामुदायिक विद्यालयमा ५ सय ११ जना शिक्षक कार्यरत रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया