MENU

समाज

Ncell Axiata
NIC Asia

​३२ महिनापछि जिल्ला अस्पतालको भवन निर्माण

रसुवा, पुस १८ – भूकम्प गएको करिब ३२ महिनापछि जिल्ला अस्पताल रसुवाको भवन निर्माण भएको छ । भूकम्पले पूर्ण क्षति भएपछि टेन्टबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको २६ कोठे भवन निर्माण भएको हो ।

नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको सेमिपरमानेन्ट प्रि फेब्रिकेटेड भवन मंगलबार जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई हस्तान्तरण गरिएको छ । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुणनिधी शर्मालाई साँचो हस्तान्तरण गर्नुभएको हो ।

४ करोड २५ लाखको लागतमा भवन निर्माण गरिएको बताइएको छ । अस्पतालको लागि ४२ लाख ९५ हजारको लागतमा उपकरण समेत खरिद गरी हस्तान्तरण गरिएको सभापति तामाङले बताउनुभयो ।

करिब डेड वर्षसम्म प्रयोग गर्न सकिने टेन्ट साढे दुई वर्षसम्म प्रयोग हुँदा काम नलाग्ने अवस्थामा पुगेको थियो । अहिले निर्माण भएको सेमिपरमानेन्ट प्रि फेब्रिकेटेड भवन करिब ३० वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ ।

गएको असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भवन केही ढिला गरी निर्माण सम्पन्न भएको हो । जिल्ला अस्पतालमा दैनिक २० देखि ५० जना बिरामी पुग्ने गरेका छन् । जिल्ला अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइएपनि भवन अभावमा बिरामीलाई समस्या हुने गरेको थियो ।

जिल्लामा अहिले १५ शैयाको जिल्ला अस्पताल मात्र सञ्चालनमा रहेको छ । यसअघि जिल्लाको कालिका गाउँपालिका–५, स्थित कालिकास्थानमा सामुदायिक अस्पताल सञ्चालनमा रहेको थियो ।

जिल्लाको माथिल्लो भागमा पर्ने गोसाइँकुण्ड र पार्वतीकुण्डका बिरामी जिल्ला अस्पताल आउने गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि सदरमुकाम आउन सहज नभएकाले नुवाकोट तथा काठमाडौं जाने गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया