MENU

समाज

​२ करोड रुपैयाँ हिनामिना गरेर वडा सचिव भागे

किरण लोहनी/उज्यालो । 

गोरखा, पुस १८ –गोरखाको अजिरकोट गाउँपालिकाका वडा सचिव २ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । साउन ३ गते वडा अध्यक्षसँग ३ दिनको बिदा लिएर हिँडेका अजिरकोट वडा नम्वर ३ र ५ का वडासचिव दिपकबहादुर दर्जी हाल सम्पर्कमा छैनन् । दुई आर्थिक वर्षको विल भर्पाईसमेत नबुझाएका दर्जीको नाममा २ करोड रुपैयाँभन्दा बढीको बेरुजु देखिएको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो ।

अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने साविकको हंसपुर र वडा नम्बर ५ मा पर्ने साविकको मुच्चोक गाविसका सचिव दर्जीले दुई आर्थिक वर्षमा गाविसको खाताबाट पैसा झिकेको देखिए पनि खर्चको हिसाब नबुझाउँदा उनको नाममा करोडौं रुपैयाँ बेरुजु देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणका क्रममा खर्चको कुनै पनि कागजात नदेखिएपछि खर्च भएको सबै रकम उनको नाममा बेरुजु राखिएको जिल्ला समन्वय समितिले जनाएको छ । सम्पर्कविहीन भएका वडा सचिव दर्जीको नाममा आर्थिक वर्ष २०७२/७३ र ७३/७४ को २ करोड ९० हजार ३ सय २० रुपैयाँ ३५ पैसा बेरुजु देखिएको छ । त्यसमा सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान र अन्य पुँजीगत खर्च बेरुजु देखिएको आचार्यले बताउनुभयो । स्याङजाको साविकको रापाकोट गाविस वडा नम्वर २ घर भएका वडासचिव दर्जीलाई हाजिर हुन आउन पत्र पठाए पनि उनी आएका छैनन् । 

निजामति सेवा ऐन २०४९ अनुसार ९० दिनभन्दा लामो समय बिना जानकारी कार्यालयमा अनुपस्थित हुने कर्मचारी स्वतः पदमुक्त हुने व्यवस्था रहेको छ । ‘व्यवस्था अनुसार दर्जीको जागिर गैसकेको छ ।’ स्थानीय विकास अधिकारी आचार्यले बताउनुभयो । 

करोडौं सरकारी रकम बेरुजु देखिएकाले उनलाई सम्पर्कमा आउन अन्तिम पटक सूचना जारी गर्ने र सम्पर्कमा नआए पक्राऊ गरी बेरुजु रकम सरकारी बाँकी सरह असूल गरिने आचार्यले जानकारी दिनुभयो । वडा सचिव दर्जीले साविकको गाविसको खाताबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि झण्डै २५ लाख रुपैयाँ झिकेका छन् । तर वडाका धेरैले भत्तावापतको रकम नपाएको गुनासो गरेको अजिरकोट गाउँपालिका उपप्रमुख चन्द्रमाया गुरुङले बताउनुभयो । दर्जी सम्पर्कविहीन भएपछि वडा नम्बर ३ र ५ सचिवविहीन भएका छन् । करोडौं रकम बेरुजु भएको वडामा काम गर्न अन्य सचिवले पनि आनाकानी गरेको जिल्ला समन्वय समिति स्रोतले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया