MENU

समाज

गुल्मीका किशोरीको सपथ : महिनावारी हुँदा लजाउँदैनौँ

गुल्मी, पुस १९ –महिनावारी हुँदा लजाउने गुल्मीका किशोरीहरुले अबदेखि महिनावारीका कुरा गर्दा नलजाउने सपथ खाएका छन् । उनीहरुले महिनावारीलाई सहज रुपमा लिनेसमेत प्रतिवद्धता जनाएका छन् ।

सेवा सञ्चार गुल्मीले एक हप्तासम्म विभिन्न स्कुलमा गरेको अभिमुखिकरण कार्यक्रममा उनिहरुले महिनावारी हुँदा नलजाउने प्रतिवद्धता जनाएका हुन् । गुल्मीका १९ वटा स्कुलमा भएको अभिमुखिकरणमा महिनावारी भएको बेला गरिने सरसफाई, सेनेटरी प्याडको प्रयोग, विद्यालयमा इन्सिनेटरसहितको शौचालयको अवस्थाका बारेमा झन्डै १ हजार ३ सय ५० जना छात्राहरुलाई जानकारी गराइएको छ । 

छात्राहरुले विद्यालयका शिक्षक/शिक्षिकाहरुलाई महिनावारीका बारेमा आफ्ना समस्या खुलेरै राख्ने बताएका छन् । ‘महिनावारीलाई कसरी सुरक्षित बनाउने भन्ने कुराको जानकारी पाइयो’ खग्रेटा गाउँपालिका–४ देउराली निमाविमा कक्षा आठमा पढ्ने अञ्जली विकले भनिन् ‘धेरैपटक महिनावारी भएको बेला विद्यालय जादैन थिएँ, अब त म महिनावारीको कुरा कसैलाई पनि लुकाउँदिन ।’ 

इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा सेवा संचारले छात्राहरुलाई अभिमुखीकरण गराएको हो । नेपाल रेडक्रस सोसाइटी गुल्मी अन्तर्गत सञ्चालित कोर्ड कार्यक्रम मार्फत दुई विद्यालयमासमेत सुरक्षित महिनावारीका कक्षा सञ्चालन गरिएको थियो । 

‘गाउँपालिका भित्रका सबै निमावि र माविहरु महिनावारीका सुरक्षित सामग्रीका बारेमा जानकारी दिएका छौँ ।’ गाउँपालिका उपाध्यक्ष विमला खत्रीले भन्नुभयो, ‘छिट्टै गाउँपालिकालाई नै महिनावारीमैत्री बनाएर घोषणा गर्ने तयारीमा छौँ ।’ उहाँले गाउँपालिकालाई मुलुककै पहिलो महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो । एक हप्तामा एक हजार तीन सय छात्राहरुलाई प्रतिविद्यार्थी चारवटाका दरले सेनेटरी प्याड वितरण गरिएको गाउँपालिका कार्यकारी अधिकृत सरोजकुमार पोख्रेलले जानकारी दिनुभयो । 

‘बैतडी, सुर्खेत, पाल्पामा पनि सुरक्षित महिनावारी सम्वन्धी कार्यक्रम गरेका छौँ’ सेवा सञ्चारकी अध्यक्ष तथा प्रशिक्षक गंगा खड्काले भन्नुभयो । यस्तै विद्यालयमा इन्सिनेटरसहितको छात्रा शौचालय, छात्राहरुको महिनावारी हेर्ने ‘फोकल’ शिक्षिकाको व्यवस्था, सञ्जाल गठन, सेनेटरी प्याड वा सुरक्षित सामग्रीको नियमित व्यवस्था र सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण कार्यक्रमलगायत सूचकहरु पूरा गरेपछि विद्यालयलाई महिनावारीमैत्री घोषणा गरिएको सेवा सञ्चार गुल्मीका प्रशिक्षक अशोक कुमार खड्काले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया