MENU

राजनीति

ujyaalo forign call inside

आन्दोलकारीद्वारा दिपायलका सरकारी कार्यालयमा तालाबन्दी

विमल विष्ट/उज्यालो ।

डोटी, पुस १९– प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीका आन्दोलनकारीहरुले यहाँका सरकारी कार्यालयमा तालाबन्दी गरेका छन् । 
तालाबन्दीका कारण यहाँका क्षेत्रीय कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प भएको छ ।

आन्दोलनकारीहरुले बिहानैदेखि सडकमा टायर बालेर यातायात समेत बन्द गरेका छन् । यातायात बन्दका कारण पहाडबाट तराई जान हिडेका दजनौं सवारीसाधन तथा यात्रुहरु बीच बाटोमै अलपत्रमा परेका छन् ।

महिला, युवा युवतीहरुको ठूलो जमातले बिहानैदेखि नाराबाजी गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेको छ । आन्दोलनकारीको घेराउका कारण क्षेत्रीय प्रशासक आफ्नो कार्यकक्षमा जान नसकेको बताइएको छ । उहाँलाई पनि आन्दोलनकारीको समूहले निवासमै घेराउ गरेको छ ।

त्यस्तै आन्दोलनकारीको एक समूहले यहाँको शहरी विकास डिभिजन कार्यालयमा समेत ढुंगामुढा गरेको छ । ढुंगामुढाका कारण कार्यालयका केही झ्यालका सिसा फूटेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले बताउनुभयो । त्यस्तै आन्दोलकारीले बिहानैदेखि अनिश्चितकालीन चक्काजामको घोषणा गरेका छन् ।

राजधानी माग गर्दै यहाँको संघर्ष समितिले एक हप्तादेखि शान्तिपूर्ण र्‍यालीको आयोजना गर्दै आए पनि त्यसको सुनुवाइ हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै थप कडा आन्दोलनको सुरुवात गरेको हो ।

आन्दोलनकारीहरुले सडकमा ढुंगा, मुडा तेस्र्याएर बाटो अवरोध गरेका छन् । आन्दोलनकारीले चक्काजाम गरेपछि सडकमा प्रहरीको बाक्लो उपस्थिति भएको छ ।

‘प्रदेशको राजधानी दिपायल घोषणा गर’ भन्दै दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला, सिलगढी, दिपायल तथा राजपुरका बजारहरुमा बिहानैदेखि सयौँको संख्यामा स्थानीयहरु नाराबाजी गरिरहेका छन् ।

यहाँका बजारका पसलहरु पनि बिहानैदेखि पूर्ण रुपमा बन्द गरिएको छ । ७ नम्बर प्रदेशका नौ वटै जिल्लाको पायक पर्ने स्थान दिपायल रहेको र सुरक्षा सम्वेदनशिलताका आधारले पनि सुरक्षित, पुरानो डोटी गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु पर्याप्त, सामाजिक सांस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराइमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाइसराइलाई न्यून गर्ने जस्ता पर्याप्त आधार भएकाले दिपायलमा नै राजधानी कायम गरिनु पर्ने मागसहित आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनको नेतृत्व गरिरहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया