MENU

समाज

थानेश्वरलाई साउदीको जेलबाट छुटाउन पैसा पुग्यो, अब संकलन नगराउनु

काठमाडौं, पुस १९ – थानेश्वर भुसाल बचाउ अभियानका लागि थप सहयोग रकम संकलन नगर्न आग्रह गरिएको छ । 

नवलपरासीको मध्यबिन्दु नगरपालिका ८ का थानेश्वरलाई उद्धार गर्न चाहिएको आधा भन्दा धेरै पैसा जम्मा भइसकेको छ । आधा रकम विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता आएसँगै थप रकम संकलन नगर्न आग्रह गरिएको हो । 

साउदीको जेलमा ४ वर्षदेखि रहेका थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को अगुवाईमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको थियो । 

गएको भदौ २५ गते सुरु भएको अभियानको लागि सञ्चालन गरिएको बैंक खातामा २३ लाख १५ हजार २४३ रुपैयाँ जम्मा भइसकेको छ । त्यस्तै, विभिन्न व्यक्ति तथा संघसंस्थाले २३ लाख २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पीडितलाई उद्धार गर्न ब्लडमनीका लागि ४५ लाख रुपैयाँ चाहिएको थियो । 

साउदी अरब, कतार, बहराइन, कुवेत, यूएई, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा बस्ने नेपाली तथा सहयोगी संस्थाहरुले सहयोग उपलब्ध गराएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिनुभयो । 

थानेश्वर मुक्त गराउन डेढ लाख रियाल (झण्डै ४५ लाख रुपैयाँ) लाग्नेछ । तोकेको जेल अवधि सकिएपनि जरिवाना रकम बुझाउन नसक्दा उहाँ अझै छुट्न सक्नुभएको छैन । 

थानेश्वरलाई सवारीसाधन चलाउने लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा पर्नुभएको थियो । 

उहाँले चलाएको टिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने गाडीमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिदाँ अर्को गाडीमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

दुर्घटनामा थानेश्वर घाइते हुनुभएको थियो । दुर्घटनापछि झण्डै १० महिना जेल परेका उहाँ जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन नदिई फेरि काममा लगाएको आमा यमकला भुसालले बताउनुभयो । दोस्रो पटक घर फर्कने बेलामा पनि साउदीको प्रहरीले उहाँलाई त्यही मुद्दामा पक्राउ गरेको हो । 

याे पनि पढ्नुहाेस्

थानेश्वरलाई आजीवन जेल सजायबाट मुक्त गर्न ब्लडमनी संकलन अभियान

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया