MENU

खेल

Ncell Axiata

कहिले बन्छ देशकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला ?

अशोक कोइराला/उज्यालो । 

काठमाडौं, पुस १८–भूकम्पले क्षत विक्षत भएको दशरथ रंगशालाको पुनर्निर्माण कार्य सुरु भएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि तयार हुनेगरी पुनर्निर्माणको कार्य सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । अहिले पुनर्निर्माणका लागि क्षति भएको प्याराफिट भत्काउने काम भइरहेको छ । निर्माण शाखाका प्रमुख अरुण उपाध्यायले भन्नुभयोे, ‘पुनर्निर्माणको कार्य अबको महिनादिन भित्र सुरु हुने गरी हामीले योजना बनाएका छौँ ।’ यसै अनुरुप काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

भूकम्पले क्षति पुर्याएपछि रंगशालामा कुनै पनि खेल हुन सकेको छैन । रंगशाला नहुँदा खेल प्रभावित भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पटक पटक रंगशाला पुनर्निर्माण छिटो गर्नका लागि दबाब दिदै आइरहेको छ । 

अलमलमै समय बित्यो

राष्ट्रिय खेलकुद परिषदले भूकम्प गएको १ वर्षसम्म त रंगशाला पुनर्निर्माण गर्ने कि टालटुल गरेरै चलाउने भन्नेबारेमा निर्णय गर्न सकेन । कहिले पुरै भत्काएर नयाँ बनाउने, कहिले पुरै क्षति भएको भाग मात्रै भत्काएर टालटुल पार्ने भन्ने निर्णय गर्न नसक्दा यस्तो समस्या आएको हो । मिल्टिडिसिप्लिनरी कन्सल्ट्यान्ट, एसएनजिएआर र इलक्लुसिभ कन्सलट्यान्टले गरेको अध्ययन पछि भत्काउनुपर्ने ठाउँ र बनाउनुपर्ने ठाउँका लागि काम सुरु भएको हो । 

खेलकुद परिषद्ले गएको महिनामा नै भत्काउने काम सम्पन्न हुने जानकारी दिएको थियो । तर सोचे अनुसार काम नभएकाले भत्काउनकै लागि लामो समय लागेको निर्माण शाखाका प्रमुख उपाध्यायले जानकारी दिनुभयो । 

पुनर्निर्माणमा विवाद 

यसअघि पुनर्निर्माणको जिम्मा कसलाई दिने भन्नेमा पनि विवाद आइरहेको थियो । युवा तथा खेलकुद मन्त्रालयले पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने पनि भनेको थियो । तर नेपाली सेनाले जनशक्ति अभाव र अन्य कारण देखाई दशरथ रंगशालाको निर्माण गर्न नसक्ने जानकारी दिएको मन्त्रालयका सुचना अधिकारी महेन्द्र प्रसाद पौडेलले बताउनुभयो । भर्खरैमात्र टेन्डर आह्वान गरी पुनर्निर्माणको तयारी भइरहेको छ । 

कहिले हुन्छ निर्माण सम्पन्न ?

दशरथ रंगशालाको पुनर्निर्माण सन् २०१९ को मार्च महिनासम्ममा सम्पन्न गरिसक्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नै हुने भएकाले यो बेलासम्म पुनर्निर्माण गरिसक्ने लक्ष्य मन्त्रालयले राखेको हो । ‘दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण सम्पन्न गर्ने तयारी गरिरहेका छौँ ।’ उपाध्यायले भन्नुभयो, ‘अब कुनै समस्या आएन भने त्यो अवधिसम्म पुनर्निर्माण सम्पन्न हुन्छ ।’

सरकारले चालू आर्थिक वर्षमा रंगशाला भत्काउनका लागि मात्र २ करोडको बजेट छुट्याएको थियो । पुनर्निर्माणको सम्पूर्ण काम पूरा गर्न भने ५० देखि ६० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।

पुनर्निमाणको इतिहास 

विक्रम संवत् २०१३ सालमा निर्माण गरिएको दशरथ रंगशालाको निर्माण कार्य सम्पन्न गर्नका लागि दुई वर्ष लागेको थियो । त्यसपछि सन् १९९८ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालन हनुअघि दशरथ रंगशालाको पुनर्निर्माण गरिएको थियो । चीन सरकारको सहयोगमा त्यतिबेला रंगशालाको पुनर्निर्माण गरिएको थियो । 
त्यसपछि सन् २०१२ मा काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपअघि दशरथ रंगशालामा प्याराफिटमा कुर्सी राख्ने काम भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया