MENU

समाज

पकाएर राखेको भातको भाँडासमेत छाडेनन् बाँदरले !

दीपक भट्ट/उज्यालो ।

रामेछाप, पुस १९ – बारी र खेतमा लगाएको अन्नपात बाँदरले खाएपछि रामेछापका किसान पीडित भएका छन् । बाँदरले खेतबारीमा त अन्न खाएको सामान्य नै हो, तर रामेछापमा बाँदरले घरमै राखिएको अन्नसमेत घरभित्रै पसेर खान थालेपछि किसानहरु त्रसित भएका हुन् ।

बाँदरले घर भित्र पकाएर राखेको भातको भाँडासमेत बोकेर हिँड्न थालेपछि रामेछापमा बाँदर आतङ्क मच्चिएको हो । पटक–पटक बाँदरले किसानले लगाएको अन्न बाली खाएर हैरान बनाएपछि  किसानहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा बाँदर नियन्त्रणका लागि पहल गरिदिन लिखित रुपमा अनुरोधसमेत गरेका थिए ।

किसानहरुको अनुरोधलाई स्थानीय प्रशासनले अल्पकालीन र दिर्घकालीन दुई प्रकारबाट समस्याको समाधानको निकास निकाल्ने भनेको लामो समय बितिसक्दा पनि अहिलेसम्म कुनै निकासको सम्बोधन नगरेपछि कृषकहरु झन् समस्यामा परेको मन्थली नगरपालिका वडा नम्बर–८, की शान्ति खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो त खेत तथा बारीमा अन्न छरेदेखि घरमा नभित्राउन्जेलसम्म खेतमा नै रुँघेर बस्नु पर्ने हुन्छ । मान्छेसँगै कुकुर लिएर खेतको कान्लामा बस्दासमेत बाँदर आउन छोड्दैन । अन्नबाली रुँघ्न बालबालिकालाई राख्यो भने बाँदरले पिट्ने गरेको छ ।’ बाँदरले मन्थली नगरपालिकाको सालु, चिसापानी, पुरानागाउँ, सुनारपानी, कठजोरलगायतका ठाउँमा दुःख दिने गरेको छ । त्यस्तै फुलासी, गेलु, चनखु, तिल्पुङ्गका किसानहरुलाई हैरान पारेको छ ।

गाउँका किसानहरुले लगाएको अन्नबाली र घरमा भित्र्याइएको बालीसमेत खाएर बाँदरले किसानहरुलाई हैरान पारेपछि त्यसको नियन्त्रणको लागि किसानको माग अनुसार बजेट छुट्याइँदै आएको छ । बाँदर नियन्त्रणको लागि पैसा छुट्याएर रुघालु राख्दासमेत बाँदर नियन्त्रण गर्न नसकिएको मन्थली नगरपालिका वडा नम्बर–९, का वडा सचिव प्रेमकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘गाउँमा सधैँ बाँदरले किसानहरुले लगाएको अन्नबाली खाएर नष्ट पारेपछि किसानको मागको आधारमा गएका वर्षहरुमा पनि गाविसबाट दिएको रकमले उनीहरुले धराप बनाएर बाँदर आउने ठाउँमा राख्ने, तीर बनाएर बाँदरलाई हान्ने गर्दा पनि बाँदरले दुःख दिन छोडेको छैन ।’ किसानहरु अब बाँदर नियन्त्रणको लागि के गर्ने भन्ने चिन्तामा छन् ।

यसरी दैनिक रुपमा बाँदरले दुःख दिन थालेपछिे बारीमा लगाउने मकैसमेत कतिपय किसानहरुले लगाउन छाडेका छन् । वर्षाको समयमा पानी नपरेर पर्याप्त खेती गर्न नपाएका किसान भएको अन्नबाली पनि बाँदरले खाइदिएपछि झनै समस्यामा परेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया