MENU

राजनीति

प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको चुनावको नतिजा कहाँ बुझाउने ?

काठमाडौं, पुस १९ –प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले चुनावको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भातृ संगठनलाई आग्रह गर्नुभएको छ । 

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त  यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भातृ संगठनको ध्यानाकर्षण गराउनुभयो । 

संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उहाँले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै चुनावको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षा गर्न सुझाव दिनुभयो । 

निर्वाचन आयुक्त यादवले भन्नुभयो, ‘प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेश प्रमुख खोई ? निर्वाचनको परिणाम आउनेबित्तिकै किन आत्तिनुभएको ? पवित्र उद्देश्यले संविधान र कानूनअनुसार काम गरेको संस्थामाथि लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय हो ।’ 

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा घोषणा गर्नका लागि काम नसकिएको जनाउँदै उहाँले कानूनमा स्पष्टरुपमा भएका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यवहारिक नहुने धारणा राख्नुभयो । 
महिला संघले बुझाएको ज्ञापनपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको चुनावको परिणाम घोषणा गरेको एकसाता बितिसक्दा पनि एउटै मतपत्रमा गरिएको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक नभएकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

भनिएको छ, ‘निर्वाचनको ताजा जनादेशको अवमूल्यन गर्दै जनताबाट लोकप्रिय मतका साथ जनअनुमोदन शक्तिलाई सरकारमा जानबाट रोकेर सत्ता लम्ब्याउन खोज्ने वर्तमान सरकारको अलोकतान्त्रिक योजनामा निर्वाचन आयोग मतियार बनी कलंकको टीका नलगाओस् भनी आग्रह गर्न चाहन्छौँ ।’ -रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया