MENU

समाज

Ncell Axiata

​हलेसीमा भएको आगलागीमा ५ करोडभन्दा बढिको क्षति

खोटाङ, पुस १९– खोटाङको हलेसीमा भएको आगलागीमा ५ करोडभन्दा बढीको धनमाल नष्ट भएको छ ।

मंगलबार राति भएको आगलागीमा हलेसी तुवाचुङनगरपालिका–७, महादेवस्थानका मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईलगायतको घर जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा मगमको दुई वटा घर जल्दा ८० लाख, उचितबहादुर, तम्बराज र अम्बराजको घर जल्दा एक÷एक करोड, जगदिश दासको होलसेल पसल जल्दा एक करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । उनीहरुले शरीरमा लगाएको लुगाबाहेकका सामान आगोमा नबचेको बताएका छन् ।

यस्तै, आंशिक क्षति बेहोरेका प्रकाशचन्द्र गिरीको १५ लाख, रेगिन्द्र राईको १ लाख, गोविन राईको ५ लाख, शरणसरी राईको ५ लाख, महानन्द राईको १ लाख क्षति भएको प्रहरीले जनाएको छ । आगो मगमको घरबाट सुरु भएको हो । आगलागी पीडितलाई सेना र सशस्त्र प्रहरीले बनाएको टहरामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

हलेसीका आगलागीबाट विस्थापित परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, हलेसी तुवाचुङ नगरपालिकालगायतले राहत रकम, खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ । आगलागी भए पनि हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीको आगमनमा कुनै असर नपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया