MENU

राजनीति

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु : महामन्त्री कोइराला

काठमाडौं, पुस १९ –नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताउनुभएको छ । 

लोकतान्त्रिक विचार समाजले बुधबार काठमाडौंमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताउनुभएको हो । ‘मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु’, उहाँले भन्नुभयो । 

महामन्त्री कोइरालाले वीपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उहाँको भनाइ थियो । 

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो । 

समाजका अध्यक्ष प्रा. डा. जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । ‘कांग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौँ’, उहाँले भन्नुभयो । 

भर्खरै स्थापना भएको समाजलाई बिस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले बताउनुभयो । त्यस अवसरमा नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका महामन्त्री  कोइरालालाई सम्मान गरिएको थियो । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया