MENU

समाज

‘परिवार छाडेर बिस्कुट दिने मान्छेसँगै जान मन लाग्थ्यो, मर्नलाई पासो पनि लगाएँ’

मोहन पौडेल/उज्यालो 

काठमाडौं, पुस १८ – कविता (नाम परिवर्तन)को अवस्था श्रीमान् विदेशबाट फर्किंदासम्म सामान्य थियो। उनका श्रीमान् दुई पटक गरेर झण्डै ५ वर्ष कतार बसे । श्रीमानको कतार बसाई कमाईको हिसाबले राम्रो भयो । श्रीमान् कतारबाट झण्डै १० लाख रुपैयाँ कमाएर फर्किए । 

अब विदेश नजाने नेपालमै केही गर्ने सोच थियो कविताका श्रीमानको । त्यसैले उनले तीन लाख रुपैयाँ लगानी गरेर गाउँमा र बजारमा दुई वटा पसल सुरु गरे । 
गाउँको किराना पसल कविताको जिम्मा थियो । अनि बजारको पसल श्रीमानले हेर्थे । पसल सुरु गरेको धेरै भएको थिएन । 

कवितालाई हिसाब किताब राख्न नआउँदा तनाव सुरु भयो । दिनभरी बेच्नुहुन्थ्यो तर कतिको व्यापार भयो । कति नगद, कति उधारो केही थाहा हुँदैनथ्यो कवितालाई ।‘श्रीमानले बेलुका आएका हिसाब खोज्दा केही पनि देखाउन सक्दिन थें’ कविताले भनिन् । 

हिसाब राख्न नसकेपछि एक दिन दुई दिन गर्दा गर्दै आम्दानी भन्दा घाटा धेरै हुन थाल्यो । त्यसले कवितालाई समस्यामा पार्यो । विदेशबाट कमाएर ल्याएको पैसा लगानी गरेका  श्रीमानलाई त झनै तनाव थपियो । 

व्यापारमा भएको गडबडी कविताले श्रीमानलाई सुनाउँथिन । व्यापार बिग्रिएकाले तनावमा रहेको श्रीमानले कवितालाई नै गाली गर्थे । एक दिन कविताको पसलमा आएका व्यक्तिले बिस्कुट किने । त्यो बिस्कुट किन्ने व्यक्तिले पनि खाए अनि कवितालाई पनि दिए । गाउँमै काम गर्ने व्यक्ति भएकाले कविताले पनि बिस्कुट खाइन् । 

त्यो बिस्कुट खाएदेखि कविताको सोचाइ फेरियो । उनलाई श्रीमान, छोराछोरी र परिवारको भन्दा त्यही व्यक्तिको याद आउन थाल्यो ।‘मलाई त त्यो मान्छे कहाँ गयो होला के गर्दै होला भन्ने मात्रै लागिरहन थाल्यो’ कविताले भनिन् ।

यस्तो समस्या भएको केही महिनासम्म त कविताले श्रीमानले के भन्छन होला भन्ने सोचेर आफ्नो समस्या सुनाइनन् । तर श्रीमान्, छोराछोरी र परिवार छोडेर त्यही व्यक्तिसँग जाउँ जस्तो लाग्न थालेपछि कविताले श्रीमानलाई सुनाइन् । 

श्रीमानले त्यो व्यक्तिले मोहनी लाएछ भने । श्रीमानले परिवारलाई सुनाए । त्यतिबेलासम्म कविताको अवस्था गाउँलेहरुले पनि थाहा पाइसकेका थिए । गाउँलेका बुझाई पनि श्रीमानसँग मिल्यो । 

मोहनी लगाएको भन्दै गाउँहरुले त्यो व्यक्तिलाई बोलाएर कुटे पनि । उसलाई कुटेपछि त कविताको समस्या झनै बढ्यो । ‘यत्ति कुटाइ खायो अब त त्यो मान्छे मर्छ होला भन्ने सोच्न थालें’ कविता भन्छिन् । 

त्यो व्यक्तिसँग जान नपाउने भएँ भन्ने भएपछि कविताले आत्महत्याको प्रयास पनि गरिन् । रुखमा झुण्डिनलाई ठिक्क परेकी कवितालाई परिवारले देखेर बचाए ।

उपचार गर्न पसलदेखि घरको भैंसी पनि बेचे  

समस्या कम नभएपछि परिवारले धामी झाँक्री लाउन थाले । धामी झाँक्री लगाउँदा पनि दुई अढाइ लाख रुपैयाँ सक्यो कविताको परिवारले । ‘जसले जहाँ राम्रो धामी छ रे च्वाट्टै पार्छ रे भन्थे त्यहीँ लान्थ्यौं’ कविताका ससुराले सुनाए । 

केही महिना धामीको आश गरेर बस्दा पनि परिवारले कवितालाई औषधी उपचार गर्न थाले । श्रीमतीको उपचार गर्न कविताका श्रीमानले दुई वटै पसल बेचे । तर समस्या ज्यूँका त्यूँ थियो । गाउँहरुले बौलाएको भन्दै पाटन हस्पिटलमा लान पनि सुझाव दिए । 

श्रीमानले पाटन होइन काठमाडौंका अरु धेरै अस्पताल पुर्याए । तर समस्या कम भएको थिएन् । कहाँ जाँदैछु भन्ने होसमै नहुने कविता कोही बेला हिँडेर माइत पुग्थिन् । छोरीको अवस्था देखेर छक्क परेकी आमा अब छोरी नबाँच्ने भइ भन्ने सोच्थिन् । 

गरेका उपचारले काम नगरेपछि श्रीमानले कवितालाई कोही कोही बेला वाक्क भइसकेको कुरा गर्थे । ‘उहाँले विदेशबाट ल्याएको सम्पत्ति सकेर घरमा भएका सबै सक्दा पनि उपचार गर्न चाहिँ छोडनुभएन’ कविता सम्झिन्छिन् ।

के गर्दैछु, कहाँ जाँदैछु कवितालाई केही पत्तो हुँदैनथ्यो । कहिले काहिँ कविता लुगाको पोको बोकेर माइत पुग्नुहुन्थ्यो । छोरीको अवस्था देखेर चिन्तामा परेकी कविताकी आमाले यस्तो समस्यामा परेका व्यक्तिलाई मनोपरामर्श दिने व्यक्तिहरु छन भन्ने थाहा पाइन् । 

कविताकी बहिनी पनि मनोसामाजिक समस्या भएको थियो । त्यतिबेला मनोपरामर्श दिएपछि अवस्था फेरियो । कविताकी बहिनीलाई माइतमै परामर्श दिइएकाले आमालाई मनोपरामर्श अनि परामर्शकर्ताहरुका बारेमा जानकारी थियो । 

उनले आफ्नी अर्की छोरीलाई पनि यस्तै समस्या भएको सुनाएपछि परामर्श सुरु भयो । सँगै औषधि पनि खाइन् । औषधि त पहिले पनि २ वर्षसम्म खाएकी थिइन् कविताले । तर त्यसले उनलाई केही प्रभाव पारेको थिएन । 

परामर्शसँगैको औषधि उपचारले कविता सामान्य अवस्थामा फर्केकी छिन् । कविता अहिले खेतीपाती गर्ने काम सँगै बाख्रा पनि पालेकी छिन् । अनि घरमै धान, मकै पिस्ने मिल पनि राखेकी छिन् । अहिले न उनलाई जिन्दगीदेखि दिक्क नै लाग्छ न त बिस्कुट दिने त्यो व्यक्तिको बारेमा याद नै आउँछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया