MENU

समाज

ujyaalo forign call inside

गोरखा दरबार पुनर्निर्माणका लागि कामदारलाई तालिम

किरण लोहनी/उज्यालो । 

गोरखा, पुस २० – भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबार पुनर्निर्माणका लागि आवश्यक पर्ने जनशक्ति जिल्लामै उत्पादन गरिने भएको छ । पुरातत्व विभाग अन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाले तालिम गरी आवश्यक जनशक्ति तयार पार्न लागेको हो ।

भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणमा कामदारको अभाव छ । त्यही अभाव कम गर्न हेरचाह अड्डाले ५४ जनालाई तालिम दिएको हो । गोरखाका ११ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी उनीहरुलाई १५ दिनको तालिम दिइएको हो ।

उनीहरुलाई काष्ठकला, दचिअप्पा अर्थात परम्परागत इट्टाको गाह्रो लाउने तरिका र झिँगटीले छाना छाउने तरिका सिकाइएको हो । सबै विधाका ३÷३ जनालाई १५ दिनसम्म तालिम दिइएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो । 

पहिलेदेखि नै परम्परागत संरचना निर्माणका लागि कामदारको अभाव भैरहेको अवस्थामा भूकम्पपछि भने यस्ता जनशक्तिको झन अभाव देखिएको छ । कामदारको अभावसँगै उनीहरुलाई दिनुपर्ने ज्यालादर पनि अत्याधिक बढेको छ । गोरखाको ऐतिहासिक गोरखा दरबार पुनर्निर्माणका लागि क्षतिग्रस्त दरबार भत्काउन थालिएको छ ।

दरबार भत्काए लगत्तै पुनर्निर्माणको काम सुरु गर्नुपर्ने भएपनि देशभर कामदारको अभाव भएपछि जिल्लामै तालिम गरिएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिं भण्डारीले बताउनुभयो । “ललितपुर लगायतका ठाऊँमा त कामदार नपाएर पुनर्निर्माणको कामै रोकियो” उहाँले भन्नुभयो, “त्यसो नहोस् भने हामीले तालिम गराएका हौं ।” 

उनीहरुमध्ये झण्डै ८० प्रतिशत जनशक्तिलाई अनुभवी कालिगढको रेखदेखमा दरबार पुनर्निर्माणको काममा लगाउन सकिने भण्डारीको भनाई छ । गोरखा दरबार पुनर्निर्माण बाहेक उनीहरुले अहिले सिकेको सीपलाई पछिसम्म उपयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

“तालिम त दिइयो, तर पछिसम्म काम पाइन्छ त भनेर उहाँहरुले मलाई सोधिरहनुभएको छ” भण्डारीले भन्नुभयो, “हामी तालिम लिएकाहरुको रोष्टर बनाएर राख्छौं, देशभर जहाँ कामदारको आवश्यकता पर्छ, उहाँहरुलाई लैजान्छौं ।” सम्पदा पुननिर्माणका लागि ठेकदारसँग सम्झौता गर्दा एउटा बुँदामा तालिम पाएका कामदारलाई काम लगाउनु पर्ने शर्त राखिने पुरातत्व विभागको तयारी छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया