MENU

मनोरञ्जन

Ncell Axiata

१ सय २० रुपैयाँमा एक झोला मासु खाँदा : नाजिर हुसेन

काठमाडौं, पुस २० –नाजिर हुसेनका सिनेमाहरु औलामा गन्न सकिन्छ । पुन्टे परेड, होस्टेल रिर्टन्स, गाँठो, जंगे, वीरविक्रम उनले अभिनय गरिसकेका र दर्शकले हेरिसकेका सिनेमाहरु हुन् ।

यस मध्येमा उनलाई सबै भन्दा धेरै लोकप्रिय बनाएको सिनेमा भने‘होस्टेल रिर्टन्स’ हो । यस सिनेममा उनले निर्वाह गरेको भूमिका रामेश्वरले उनलाई दर्शकमाझ चिनायो । 

तराई मूललाई प्रतिनिधित्व गर्दै सिने नगरीमा एउटा बेग्लै आशा लिएर आएका नाजिरको वास्तविक नाम मोहम्मद नाजिर हुसेन हो । बाराको स्याउली चोकमा जन्मेर हुर्केका नाजिरकी आमा हिन्दू समुदायकी हुन् भने उनका पिता मुस्लिम समुदायका । 

पेशाले उनका बुवा एक जादुगर हुन् भने उनकी आमा स्वास्थ्यकर्मी । बाल्यकालमा नाजिरबुवाले जादु देखाउने बेला मानिस भेला पार्न नाचिदिन्थे त कहिले आमाको काममा सहयोग गर्न गाँउ–गाँउमा चलेका स्वास्थ्य शिविरमा नाम टिपेर साथ दिन्थे । 

एसएलसीपछि शिक्षक 

मेरो बाल्यकाल बाराको स्याउली चोकमा बित्यो । म सोह्र सत्र वर्षको हुँदा सम्म उतै थिएँ । बाल्यकाल भन्ने बितिक्कै ठ्याक्कै मलाई बाख्रा हेर्न गएको याद आउँछ । बाख्रा चराउन शुरुमा दाई दिदी जानुहुन्थ्यो । म घरको कान्छो छोरा । ममीले जान दिनुहुन्न थियो । म घरमा एक्लै बस्नुपर्ने भएर मलाई डाहा लाग्थ्यो । सबै जना गोठालो जाने र घरमा आएर दाईले आज हामीले यस्तो गर्यौँ उस्तो गर्यौँ भनेर सुनाउने । 

त्यो सुन्दा झन जान पाए हुन्थ्यो झैँलाग्थ्यो । पछि लै लै मा लागेर पनि गइयो गोठालो । मेरो एक जना दाई र दुई जना दिदी हुनुहुन्छ । समयसंगै दिदीको विवाह भयो । सानो दिदी कामको शिलशिलामा राजविराज जानुभयो । दाई ईन्डिया गयो । अनि म आफैले गोठालो जान पर्ने दिन पनि आयो । अनि आफै गोठालो जाने बेलामा भने दिक्क लाग्थ्यो (हाँसो ) । आफ्नो पढाईको कुरा गर्दै नाजिर भन्छन्, ‘मैले स्कूलमा पढाएँ नी ।  म शिक्षक पनि हो नी । ’ 

उनी हाँस्दै अगाडि थप्छन्, ‘मैले कक्षा पाँच सम्म पढाउँथे । स्कूलमा दुई वर्ष सम्म पढाएँ । मलाई स्कुलमा विद्यार्थीहरु सबैले निकै माया गर्थेँ । किनकी म विषयगत पुस्तक मात्रै होइन नाँच्न पनि सिकाउथेँ । रमाइलो गरिदिन्थेँ । यति भएपछि विद्यार्थीहरुलाई के चाहीयो, (हाँसो)।

आमा बुवाको जस्तै अन्तरजातिय विवाह गर्ने  धोको 

कार्यक्रममा बोल्दै नाजिर आफ्नो पारीवारिक कुरालाई हामी माझ यसरी बताए, ‘मेरो आमा बाबाको अन्तरजातिय विवाह भएको हो । ममी क्षेत्री हो । अनि बुवा मुस्लिम । मेरो बुबा जादुगर हुनुहुन्थ्यो । अनि उहाँको  कार्यक्रम शुरु हुनु भन्दा अगाडि मान्छेहरु बटुल्नको लागि म सबैको अगाडि नाच्थेँ । त्यही भएर बुबाले पनि मलाई स्टेज शोहरुको लागि प्रतिबन्ध लगाउनुभएन । बुबा पनि कामको शिलशिलामा प्राय बाहिर हुनुहुन्थ्यो ।

बुबाको अर्को पेसा भने आयुर्वेद डाक्टर थियो अनि आमा स्वास्थ्यकर्मी । बुवा कहिले इन्डिया, कहिले पाल्पा, कहिले कता–कता गईरहनुहुन्थ्यो । हजुरआमा एक्लै हुनुहुन्थ्यो विरगन्जको घरमा । अनि बुवा धेरैजसो आमाकोमा नै हुनुुहुन्थ्यो । म ममी सँगै हुन्थेँ । ममीले पनि मलाई कहिल्यै पनि रोकतोक गर्नुभएन काम गर्नको लागि । मेरो धेरै समय आमासंग वितेको छ । उहाँको काममा संगसंगै हिड्ने अनि मेरो मनको कुरा भन्ने साथी नै मेरी आमा हुनुहुन्थ्यो । उहाँको ममतामयी मायाले नै आजको स्थानमा आउन प्रेरणा मिलेको छ ।’ 

केही भावुक बन्दै उनी अगाडि भप्छन्, ‘आमा केही वर्ष अगाडि स्वर्गीय हुनुभयो । मलाई त्यो क्षण सम्झदा अझै पनि गाह्रो भएर आउछ ।’ प्रसंगलाई केही सहज भएपछि उनले आफ्नो विवाहको बारेमा भने, ‘मलाई मेरो बाबामामुको माया प्रेम देखेर साह्रै राम्रो लाग्छ । हुन त म मुस्लिम समुदायबाट हुँ । तर मलाई मामु बाबाको जस्तै अन्र्तजातिय विवाह गर्न मन छ । जहा एकअर्काको सम्मान होस् । टन्नै माया होस् । मलाई बुझ्ने अनि राम्री पनि (हाँसो) ।

५ सयले बनाएको कलाकार 

केही वर्ष काठमाण्डाैंको अनामनगरमा रहेको मण्डला थिएटरमा काम गरेका नाजिर खासै चिनिईसकेका थिएनन् । उनलाई त्यो समय एक हदसम्मको खानकै लागि संघर्ष नै गर्नु परेको थियो । जसोतसो आफूलाई मन परेको काम गर्न पाएका नाजिरलाई जीवनमा सबै भन्दा ठूलो झड्का आमाको निधनले दियो । उनकी ममतामयी आमाको निधनले उनलाई सम्हालिनै गाह्रो भएको थियो । हुन त आफन्त गुमाउदाको पीडा स्वयम् भोग्ने बाहेक अरुले अनुभव नै गर्न सक्दैनन् । 

नाजिरको लागि त्यो समय सबै शुन्य र फिका थियो । दुखद खबर पछि उनी आफ्नै गाउँ फर्के । शोकमा डुबेका नाजिरले कैयौँ दिन आमालाई दाहाँसस्कार गरेको स्थानमा रोएर नै विताएका छन् । तत्कालिन समयलाई सम्झदैँ नाजिर भन्छन्, ‘रुदाँ रुदाँ मेरो मन नै भरिएर आएको थियो । अरु थप रुनै नसक्ने भएको थिएँ । धेरै भएपछि  त आफैले आफैलाई सम्झाउन थाल्दो रहेछ । मैले फेरि काठमाण्डौँ फर्कने विचार गरेँ । जे भए पनि अब फेरि कलाकारितालाई अगाडि बढाउँछु भन्ने विचार पलाएर आयो । तर घरपरिवरले मेरो कुरामा विरोध जनाउन थाल्यो । त्यतिबेला मेरो दाईसंग ठूलै झगडा परेको थियो ।

त्यतिबेला काठमाण्डौँ फर्कन मसंग ५ सय रुपैयाँ पनि थिएन । मेरो गाउँबाट काठमाण्डौँ आउन सुमो भाडा ४ सय ७५ रुपैया लाग्थ्यो । छिमेकी दाईसंग मैले ५ सय रुपैया सापटी मागेर सुमोमा आएँ । भाडामा ४ सय ७५ रुपैयाँ गइसकेको कारण मसंग जम्मा २५ रुपैया थियो । त्यती लामो बाटोमा केही खाइनँ । बल्खुबाट सामाखुशी सम्म हिडेर गएँ । नाटक खेल्न र कलाकार बन्नकै लागि मैले त्यो दुख मोल्न राजी भएँ । सामाखुशीबाट हिड्दै मण्डलासम्म म धेरै दिन सम्म गएको छु । कारण २५ रुपैयाँ बचाउनको लागि थियो । खाजा खाना भने मण्डला नाटक घरमै खाइन्थ्यो ।

सायद मेरो गाउँले दाईले त्यो ५ सय रुपैया नदिनु भएको भएँ सायद म कलाकार हुदिनँ थिएँ होला । मलाई ५ सय रुपैयाँले कलाकार बनाइदियो भन्दा फरक नपर्ला । 

१ सय २० रुपैयाँमा एक झोला कुखुराको मासु

झट्ट हेर्दा नाजिर हुसेन रातारात नेपाली कला अनुरागीहरुको प्रिय कलाकार भएको भन्ने हामीलाई लाग्न सक्ला । पर्दा पछाडिको संर्घष र मिहेनतको कहानी भने अर्कै छ । धेरै कहानीहरु मध्ये एउटा दुखद तर रमाइलो घट्ना उनले शेयर गरेका छन् । मण्डला थिएटरमा नाजिर हुसेन , विजय बराल, बुद्धि तामाङ्ग लगायतका कलाकारहरुसंग संगै बस्दथे । ‘नाटक सिक्दै र खेल्दै गरेको अवस्थामा खास कमाइ हुदैन थियो ’ तत्कालिन सम्झदै नाजिर बेलिविस्तार लाउदै भन्छन्, ‘हामीले मासु भात नखाएको थुप्रै समय भएको थियो । एक दिन मण्डलामा सबैजना मिलेर मासु खाने भनेर कुरा आयो । तर मासु किन्नलाई एकमुष्ठ पैसा कसैसंग रहेनछ । अनि विजय दाईले एउटा जुक्ति निकाल्नु भयो र सबै जना बाट २० रुपैयाँको दरले पैसा उठाउने अनि मासु किनेर खाने कुरा भयो ।

लौ त नी भनेर सबैले पैसा उठायौँ । जम्मा पैसा १ सय २० रुपैया जम्मा भएछ । विजय दाईले हामी सबैजनालाई तयार भएर बस्नु । पकाएर आज खानु पर्छ रमाइलो गर्नु पर्छ भन्नु भयो । हामी सबै जनालाई दशै आए जस्तै भो । सबै जना खुशी भयौँ । प्याज काट्ने, मसला पिस्ने देखि लिएर सबै ठिक पार्यौँ । केही समय पछि विजय दाईले कालो प्लास्टिकमा एक झोला मासु लिएर आउनु भयो । मलाई अचम्म लाग्यो । १ सय २० रुपैयाँमा एक झोला मासु कसरी आयो ?के को मासु होला ? भन्ने लाग्यो । तैपनि सबै उत्सुक भएर भेला भयौँ । भुइमा पत्रिका ओछ्यायौँ । अनि विजय दाईले मासु खन्याउनु भयो । तर त्यसमा त के को मासु हुनु नी । कुखुराको खुट्टा र टाउको मात्रै रैछ ।’

 

- उज्यालोगफगाफ डट कमको सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया