MENU

राजनीति

Ncell Axiata
NIC Asia

सोलुखुम्बुमा सात उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, पुस २१ - सोलुखुम्बुका अहिलेसम्म सातजना प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारले चुनावी खर्च विवरण पेश गरेका छन् । गएको मंसिर १० गते सम्पन्न चुनावबाट निर्वाचित भएका तीनजना सांसदसहित सात उम्मेदवारले चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर सोलुखुम्बुका उम्मेदवारले खर्च गरेको देखिएको छ । आयोगले निर्धारण गरे अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो ।  

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमकुमार राई सुरवीरले २४ लाख ८८ हजार खर्च गरेको पाइएको छ । 

वाम गठबन्धनबाटै प्रदेशसभा क मा उम्मेदवार बनेका नेकपा एमालेका उत्तम बस्नेतले १४ लाख ९१ हजार ८ सय खर्च भएको विवरण पेश गर्नुभएको छ । यस्तै प्रदेशसभा ख बाट उम्मेदवार बनेका नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले १४ लाख ९७ हजारको खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रतिनिधि तथा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । 

प्रदेशसभा क का स्वतन्त्र उम्मेदवार लोचनकुमार शर्माले ४ लाख ५२ हजारको खर्च विवरण बुझाउनुभएको छ । संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सदस्य उम्मेदवार लाक्पा शेर्पाले २१ लाख १३ हजार, प्रदेशसभा क का उम्मेदवार चोलामाया बस्नेतले १० लाख ७१ हजार ८ सय, प्रदेशसभा ख का उम्मेदवार गंगाबहादुर थापा मगरले ११ लाख ६९ हजार खर्च विरण पेश गर्नुभएको छ । 

सोलुखुम्बुमा  प्रतिनिधिसभा तथा प्रदेशसभामा  गरी १८ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । चुनावको परिणाम सार्वजनिक भएको समयले ३५ दिन भित्र खर्च विवरण बुझाइसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगले जनाएको छ ।  अझै  ११ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया