MENU

बातावरण-कृषि

राष्ट्रिय प्राणी उद्यानको सुझाव संकलन सुरु

रमेश गिरी, उज्यालो । 


भक्तपुर, पुस २१ –सरकारले भक्तपुरको सूर्यविनायक जंगलमा निर्माण गर्न लागेको राष्ट्रिय प्राणी उद्यान (जिओलोजिकल पार्क) को गुरुयोजना शुक्रबार सार्वजनिक भएको छ । सूर्यविनायक नगरपालिकाको संयोजन तथा राष्ट्रिय प्राणी उद्यानको आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा शुक्रबार गुरुयोजना सार्वजनिक गरिएको हो । 

गुरुयोजना सार्वजनिक कार्यक्रममा सहभागीले स्थानीयलाई योग्यता अनुसारको रोजगारी दिनुपर्ने, प्राणी उद्यान भित्र रहेका खोनपानी मुहान, पानी ट्यांकी र पाइपको संरक्षण हुनुपर्ने, स्थानीयलाई खानेपानीबाट वञ्चित गर्न नहुने, उद्यान भित्र संचालित हुने व्यवसाय स्थानीयलाई दिनुपर्ने, उद्यान भित्र पर्ने सडक बन्द गर्न नहुने माग राखेका छन् । 

प्रसिद्ध एवं ऐतिहासिक धार्मिक सम्पदाको रुपमा रहेको सूर्यविनायक गणेश मन्दिरलाई उद्यानले कब्जा गर्न नहुने, स्थानीयले जंगलमा गर्दै आएको कूल पूजालाई रोक्न नहुने, सूर्यविनायकका बासिन्दालाई निःशुल्क प्रवेशको व्यवस्था गर्नुपर्ने लगायत २७ वटा माग राखेका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असार ९ गते शिलान्यास गर्नुभएको राष्ट्रिय प्राणी उद्यान अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका भित्रका गुण्डु, सूर्यविनायक र सिपाडोलको सातवटा सामुदायिक वनको २ सय ५९ हेक्टर क्षेत्रफलमा निर्माण हुने भएको छ । 

सार्वजनिक गरिएको गुरुयोजना अनुसार प्राणी उद्यानले २ सय ४५ हेक्टर क्षेत्रफलमा अन्तराष्ट्रिय स्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टर क्षेत्रफलमा पशु उपचार केन्द्र निर्माण गर्ने भएको छ । 

प्राणी उद्यानको सबै निर्माण सम्पन्न गर्न पाँच अर्ब रुपैयाँ लाग्ने भएको छ । जसमा गणेशमान वाटिका, सिपाडोल र गुण्डु तर्फ तीन वटा गेट बन्ने भएको छ भने ७ भागमा विभाजन गरी ३० प्रतिशत क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्ने, प्राणी उद्यानको वरिपरि रिङ्गरोड बनाउने, वरिपरी तार बार लगाउने, कटुञ्जेको भञ्याङ्गबाट गुण्डु कार्की गाउँसम्म आकाशे पुल बनाउने, सिपाडोलदेखि गुण्डुसम्म सुरुङ्ग मार्ग बनाउने गुरुयोजनामा उल्लेख छ ।

प्रारम्भिक गुरुयोजनामा भने प्राणी उद्यान भित्र पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क, स्वीमिङ पुल र व्यायाम स्थलसमेत निर्माण गरिने गरि २० वर्षमा कूल लागत १ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । 

कार्यक्रममा प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेतीले खानेपानी र सडकको स्तरोन्नति गरी स्थानीयलाई उपभोगमा रोक नलगाउने, कूल पुजा नरोक्ने, विद्यालयको स्तरोन्नती गर्ने, राजकुलोको व्यबस्था गर्ने, सूर्यविनायक गणेश मन्दिर क्षेत्रको विकास गर्ने, त्यसको हस्तक्षेप नगर्ने र अझै पनि स्थानीयको सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो । 

त्यस अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जिवी पोखरेल, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले स्थानीयको पक्षमा र उनीहरुको मागलाई सम्बोधन गरेर प्राणी उद्यान निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेमा जोडदिनुभयो । 

प्राणी उद्यान निर्माणका क्रममा स्थानीयको मागलाई सम्बोधन गराउन वडा नं. ६, ७ र ८ का वडा अध्यक्षको टिम नगरपालिकाले प्रतिनिधित्व गरेर पठाएको बताउँदै वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले स्थानीयको सहभागिता र समन्वयमा नै प्राणी उद्यान निर्माण अगाडि बढाउने बताउनुभयो । 

सरकारले सेतीदेवी, सूर्यविनायक, सञ्जिवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी सामुदायिक वनलाई मिलाएर राष्ट्रिय प्राणी उद्यान बनाउने निर्णय गरेको थियो । कार्यक्रममा सात वटै सामुदायिक वन उपभोक्ता समिति संयोजक एवं सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका सचिव विश्वराम थापाले सरकारसँग २७ बुँदे माग राखेको र त्यो मागलाई सम्बोधन हुनुपर्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया